सप्तरीमा फेरी १० क्विन्टल गाँजासहितको ट्रक पक्राउ, के हुँदैछ २४५१ किलो गाँजा प्रकरण ?
राजविराज — सप्तरीमा गाँजा तस्करी पछिल्ला महिनाहरूमा लगातार बढ्दै गएको छ। बिहीबार राति मात्र करिब १० क्विन्टल (९७८ किलो) गाँजासहित प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३ का २५ वर्षीय सन्देश श्रेष्ठलाई पक्राउ गरेको छ।
ना ५ ख ५३५ नम्बरको ट्रकमा विशेष रूपमा प्याक गरिएको अवस्थामा पूर्व–पश्चिम राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ लैजाँदै गर्दा कञ्चनरूप नगरपालिका–२, बरमझियामा डीएसपी डम्बरबहादुर पुरी र डीएसपी माधवप्रसाद काफ्ले नेतृत्वको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। २८ वटा बोराभित्र प्लास्टिकले प्याक गरिएको गाँजा प्रहरीले तत्काल बरामद ग¥यो।
यसअघि साउन ४ र २३ मा पनि प्रहरीले करिब ८ क्विन्टल गाँजा बरामद भएको थियो। डाक्नेश्वरी–५ महादेवा टोल र राजगढ–३ नर्घो पछ्वारी टोलबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यति बेला सप्तरीमा यस्ता तस्करीका आपराधिक गतिविधिहरू निरन्तर रुपमा चलिरहेका छन्। यसअघि १९ फागुन ०८१ मा राजविराज–९ स्थित एक गोदामबाट बरामद भएको २४५१.५ किलोग्राम गाँजाको काण्ड अझै पनि कानुनी र सार्वजनिक बहसको केन्द्रबिन्दु बनेको छ। त्यो घटनामा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिताकुमारी साहलाई जोगाउन प्रहरीले निकै चलखेल गरेको थियो। जसका कारण उनिमाथिको शंका झन गहिरियो।
गाँजा भेटिएको गोदाममा ठूलो परिमाणको सेनिटरी प्याड पनि फेला परेको थियो, जुन ललिताकुमारीकै कम्पनी ‘लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स’को स्टक भएको तथ्य प्रहरी स्रोतहरूले नै पुष्टि गरेको थियो। तर प्रहरीले त्यो प्रमाणलाई मुचुल्काबाट हटाएर निकै गम्भीर गल्ती मात्र गरेन, प्रहरीकै उदयकुमार नामक इन्स्पेक्टरको ‘बयान चुहावट’ले त्यो गल्ती जानाजान गरिएको जस्तो देखिएको थियो।
सेनिटरी प्याडलाई मुद्दामा नसमेट्नका लागि प्रहरीले कहिले ‘भन्सार बुझाउनु नपर्ने नेपाली प्रोडक्ट’ भएको भन्दै, कहिले ‘लागुऔषध नभएकाले मुचुल्कामा नपरेको’ भन्दै बचाउ गरेको थियो। तर त्यही बयानमा इन्स्पेक्टरले ‘अख्तियारमा मुद्दा चलिरहेको सुनिएको छ’ भनेपछि प्रहरी प्रशासनले मुद्दाको संवेदनशीलता जानेर पनि प्रमाण लुकाएको आशंका झन बलियो बनेको छ।
ललिताकुमारी साहसँग यसअघि पनि रूपनी गाउँपालिकामा भएको सेनिटरी–प्याड घोटालामा अख्तियारले मुद्दा दायर गरेको थियो। विद्यार्थीहरूलाई वितरण गर्न खरिद गरिएको प्याडमा अनियमितता भएको भन्दै अख्तियारले उनलाई ‘मतियार’ का रूपमा प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको थियो। उनलाई विशेषले सफाइ दिए पनि अख्तियार सर्वोच्चमा पुनरावेदन गरिसकेको छ र मुद्दा विचाराधीन नै छ।
यस्तो बखत राजविराजस्थित उनका पति राजनारायण साह र आमा पवित्रीदेवी साहुको नाममा रहेको जग्गामा वनेको गोदाममा गाँजा र ललिताकै कम्पनीका सयौँ बोरा सेनिटरी प्याड भेटिनु र त्यो प्रमाणलाई प्रहरीले मुद्दाबाट हटाउनु अब संयोगको कुरा रहँदैन। यसमा प्रहरीले गरेको अपारदर्शी गतिविधिले प्रहरी प्रशासनमाथि नै दबाब रहेको, प्रमाण नष्ट गर्ने प्रयास भएको र पत्रकार महासंघको पदाधिकारी भएकै कारण ललितालाई बचाउने रणनीति बनाइएको प्रष्ट छ।
यसैबीच, जिल्लाका पत्रकारहरू र पत्रकार महासंघ स्वयं पनि यस विषयमा आश्चर्यजनक रूपमा मौन छन्। प्रहरी र तस्कर बीचको साँठगाँठ झल्किने यति ठूलो घटनामा कुनै पनि स्थानीय सञ्चारकर्मीले प्रश्न उठाउन नसक्नुले पत्रकारिताको नैतिकता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। ‘निष्पक्षता’ र ‘जनताको सवालमा कलम चलाउने’ दाबी गर्ने पत्रकारहरू ललिताकुमारी पत्रकार भएकै कारण मौन बसेको देखिनु अब स्वयं पत्रकार समाजकै चरित्रमाथि शंका उठाउने जटिल स्थिति बनेको छ।
सप्तरीमा यसरी खुलेआम गाँजा भण्डारण हुने, आयात–निर्यात हुने अनि केही घट्ना वाहेक अधिकांश घट्नामा प्रहरीले नै प्रमाण लुकाउने, पत्रकार महासंघ मौन बस्ने घटनाले एक व्यवस्थित, सुरक्षित र शक्तिशाली तस्करी–सञ्जाल सक्रिय रहेको संकेत गर्छ। अब प्रश्न ‘कस्ले गाँजा तस्करी ग¥यो?’ भन्ने मात्रै होइन, ‘कसलाई जोगाइँदै छ र किन प्रमाण लुकाईँदैछ?’ भन्ने प्रमुख मुद्दा वनेको छ।

