केपी ओलीलाई भीम रावलको ‘म्याराथन’ चुनौतीः प्रचण्डलाई मर्निङ वाकमा जितेर देखाउनुस्
विराटनगर– नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई म्याराथनको चुनौती दिएका छन्। ओलीले आफ्नो पार्टीलाई ‘वृद्धहरूको पार्टी’ भन्दै व्यंग्य गरेपछि रावलले सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभामा यस्तो चुनौती दिएका हुन।
रावलले ओलीको अभिव्यक्तिलाई कुतर्क भन्दै प्रत्यक्ष शारीरिक क्षमताबाटै ‘सत्य–असत्य प्रमाणित’ गर्नुपर्ने स्थिति आएको बताए। उनले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिएर ओलीलाई चुनौती दिँदै भने,‘उहाँले हाम्रो पार्टीलाई बुढाहरूको पार्टी भन्नुभयो। अचम्म लाग्यो। कति वर्षदेखि मैले उहाँलाई देखिरहेको छु—कयौं दिन त उहाँ बालुवाटारमै सुतिरहनुहुन्थ्यो। अब साँच्चै क्षमता देखाउनै हो भने, हाम्रो अध्यक्ष प्रचण्डसँग मर्निङ वाकमा आउनुस्,—कसले कति हिँड्छ।’
रावलले व्यंग्य गर्दै भने– ‘के को बुढा? के को तन्नेरी? हिँडेर देखाउँ—सबै स्पष्ट हुन्छ।’ कार्यक्रममा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै रावलले ओलीको ‘भ्रम फैलाउने शैली’ मा नपर्न आग्रह गरे। उनले नेपाली क्युनिष्ट पार्टी वृद्धहरूको पार्टी हो भन्ने जस्ता टिप्पणीले राजनीतिक मर्यादा कमजोर बनाउने भन्दै ओलीलाई नैतिकता कायम गर्न सुझाव दिए।
रावलको यो ‘म्याराथन–स्टाइल’ चुनौतीले विराटनगर सभामा उपस्थित कार्यकर्ता मात्र होइन, देशभर राजनीतिक तरंग नै पैदा गरेको छ। नेपाली राजनीतिमा पहिलोपटक शीर्ष नेताहरूबीच ‘शारीरिक क्षमता’ नै बहसको एजेन्डा बनेपछि चर्चा झन् चुलिएको छ।

