पोखरा–भैरहवा विमानस्थल भ्रष्टाचार प्रकरणः नागरिक उड्डयन प्रमुख प्रदीप अधिकारी अख्तियारद्वारा पक्राउ
काठमाडौँ— देशका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा भएको करोडौँ रुपैयाँको भ्रष्टाचार काण्ड अब निर्णायक मोडमा पुगेको छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
लामो समयसम्म ‘राजनीतिक संरक्षण’ मा छानबिन बाहिर राखिएका अधिकारीमाथि अख्तियारले आज थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरेको छ। अख्तियार स्रोतका अनुसार पोखरा र भैरहवा विमानस्थल निर्माणमा भएको अनियमितता, लागत–वृद्धि, नक्सा तथा प्राविधिक निर्देशनको दुरुपयोग, ठेक्का प्रक्रियामा देखिएको ‘सिन्डिकेट’ र आयोगको सिफारिसविपरीत गरिएका निर्णयहरूमा अधिकारीको प्रत्यक्ष संलग्नता प्रमाणित हुँदै गएको छ।
यही पुष्टिका आधारमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी अन्तिम चरणमा पुगेको अख्तियारले जनाएकोको छ। अधिकारीलाई आज बिहानै नियन्त्रणमा लिएपछि हिरासतमा राख्ने म्याद थपका लागि उनलाई विशेष अदालत ल्याईँदैछ।
अख्तियारले विमानस्थल निर्माणसम्बन्धी आर्थिक तथा प्राविधिक कागजात विगत केही सातादेखि गोप्य रूपमा संकलन गरिरहेको थियो। ती कागजातका आधारमा अधिकारीमाथि लागेको आरोप अब अदालतमै परीक्षणको चरणमा प्रवेश गर्न लागेको छ।
प्रदीप अधिकारी नेपालका अत्यन्त शक्तिशाली प्राविधिक–प्रशासनिक संरचनामध्ये एक, नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा रहेकै कारण उनलाई छुनु ‘राजनीतिक जोखिम’ मानिएको थियो। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्वालिटी र सञ्चालन असक्षमता, भैरहवा विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) का नाममा भएको आर्थिक दुरुपयोग र ठेक्का प्रक्रिया नै ‘पूर्वनियोजित भ्रष्टाचार’ का रूपमा देखिएपछि अख्तियारले उच्चस्तरमै कडा कदम चाल्नु परेको हो।
विमानस्थल सञ्चालनमा आयपछि क्रमशः देखिएका प्राविधिक समस्या, वर्षा–बाढीमा भासिने, धावनमार्गदेखि लिएर नियन्त्रण टावर र सुरक्षा उपकरणमा देखिएको कमजोरीसमेत अब ‘भ्रष्टाचारको परिणाम’ का रूपमा अनुसन्धानमा जोडिएको छ।

