भदौ २४ को विध्वंशमा संलग्नताको प्रश्न उठेपछि थरथर कामेर सर्वोच्च इजलासमै ढले रास्वपा निकट वकिल

काठमाडौँ— प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न सर्वोच्च अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी शुलभ खरेल न्यायाधीशको कठोर सवाल–जवाफको क्रममा एकाएक थरथर काँम्दै इजलासमै ढलेका छन्।

संवैधानिक इजलासमा बहस गर्दै गर्दा न्यायाधीशले भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी–तोडफोडसँग उनको संलग्नता र उक्साहटका विषयमा प्रश्न उठाएपछि इजलासको माहोल एकाएक तनावपूर्ण बनेको थियो।

इजलासमा बहसको क्रममा न्यायाधीशले खरेललाई कडा प्रश्न सोधेका थिए। ‘अदालत जल्यो, अब न्यायाधीशको घर जलाउन जाऊँ भनेर फेसबुकमा लेख्ने तपाईं नै होइन?’ भन्ने प्रश्नसँगै अन्य उक्साहटपूर्ण पोस्टबारे पनि सवाल उठाइयो। न्यायाधीशले थप प्रश्न गर्दै भने—‘अदालतमा आगजनी हुँदा ‘ठीक भयो’ भनेर पोष्ट गर्ने? उपद्रवकारीलाई जथाभावी उक्साउने? अनि त्यही अदालतमा आएर प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने?’

यस्ता कठोर प्रश्नका बीच ‘त्यसो हैन श्रीमान्’ भन्दै बचाउको प्रयास गरेका खरेलको शरीर थरथर काँम्न थाल्यो। उनी बोल्दाबोल्दै बेहोस जस्तै भई गल्र्याम्मै ढले, त्यसपछि इजलासले कर्मचारीलाई बोलाएर तुरुन्त अस्पताल लैजान निर्देशन दियो। प्रत्यक्षदर्शी कानुन व्यवसायीहरूका अनुसार न्यायाधीशको तीव्र प्रश्न र आगजनी प्रकरणमा खरेलमाथि बढ्दै गएको शंका नै उनको मानसिक तनावको प्रमुख कारणजस्तो देखिएकोछ।

खरेल अमेरिकाको मिचिगन विश्वविद्यालयबाट कानुनमा उच्च शिक्षा लिएर भर्खरै नेपाल फर्किएका हुन्। उनी रास्वपा निकट मानिन्छन् र रुपन्देही–३ मा हुने उपनिर्वाचनमा ‘घण्टी’ बाट टिकट दाबी गरिरहेका थिए। तर उनले टिकट पाएनन्।

यसैबी भदौ २४ को ‘महाविध्वंस’मा सर्वोच्च अदालतदेखि राज्यका संरचनामा भएका तोडफोड र आगजनीमा उनले भीड भड्काएको आरोप लागेको छ। वरिष्ठ अधिवक्ता माधव बस्नेतले एउटा लेख मार्फत खरेलको ह्वाट्सएप च्याट सार्वजनिक गरे। जसमा उनले न्यायाधीश, गभर्नर र शिक्षण संस्थाहरूमाथि ‘टार्गेट’ गरेको देखिन्छ। ‘भोलि राष्ट्र बैंकको गभर्नरकोमा जानुपर्छ, ग्लोबल कलेजमा को छौं ? अनि सबै न्यायाधीशकोमा’—जस्ता सन्देश पठाएर उनले आगजनी र तोडफोडका लागि उक्साएको देखिन्छ।

यो च्याट सार्वजनिक भएको केही समयमा नै ग्लोबल कलेजमा आक्रमण भएको थियो, जसले खरेलप्रति शंका झनै बलियो बनायो। बस्नेतको दाबी अनुसार यी च्याट ‘खरेल आफैले गरेका’ हुन। खरेलले भने ‘त्यो ह्वाट्सएप मेरो होइन’ भन्दै आरोप अस्वीकार गरेका छन्।

कानुन अध्ययनको समयमा काठमाडौंमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग काम गरेका खरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको मुुद्दामा बहस गर्न नाम टिपाएका थिए। तर इजलासले उनलाई ‘विद्यार्थी’ को हैसियतले लिखित बहस मात्र गर्न आदेश दिएको थियो। त्यसपछि उनी अमेरिकातर्फ लागे।

फर्किएपछि भने रास्वपा भित्र राजनीतिक महत्वाकांक्षा झनै बढेको र टिकटका लागि ‘मरिहत्ते’ गरेको देखिन्थ्यो। शुलभ खरेल इजलासमा ढल्नु आकस्मिक स्वास्थ्य समस्या होइन, भदौ २४ को आगजनी–तोडफोडमा सम्भावित संलग्नताको दबाबको परिणामजस्तो देखिएको जानकारहरु वताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट