सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ‘बेपत्ता’, सेवाग्राही मारमा

लहान— सिरहाको कल्याणपुर नगरपालिका पछिल्लो एक हप्तादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको छ। प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव कमलबहादुर थापा मंसिर १४ गतेदेखि सम्पर्कविहीन बनेपछि नगरपालिकाको दैनिक प्रशासनिक कामकाज ठप्पजस्तै भएको छ।

कार्यवाहक नगर प्रमुख रेखा यादवका अनुसार थापाले कार्यालय छाड्नेबेला कुनै पनि प्रकारको जानकारी, अनुमति वा निमित्त व्यवस्था समेत मिलाएका छैनन। ‘उहाँ १४ गतेदेखि कार्यालय आउनुभएको छैन, जाँदा कम्तिमा जिम्मेवारी हस्तान्तरण वा जानकारी दिनुपथ्र्यो, तर छैन। यस्तो गैरजिम्मेवारीले सेवाग्राही नै पीडित भएका छन्।’– यादवले भनिन्।

स्थानीय सरकार सञ्चालन ऐनले प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित हुँदा अनिवार्य रूपमा निमित्त प्रमुख तोक्नुपर्ने स्पष्ट प्रावधान राखेको छ। तर, थापाले त्यो व्यवस्था पालना नगरेपछि कार्यालयमा दैनिक उपस्थित हुने सयौं सेवाग्राही आफ्नो कामकाज नहुँदा निरास भएर फर्किन बाध्य भएका छन्। ‘उहाँ त विरलै देखिनुहुन्थ्यो, अहिले त झन् हराएरै जानुभयो,’ स्थानीय किशोरी यादव भन्छन्, ‘जनताको कामको जिम्मा कसले लिन्छ?’

स्थिति गम्भीर बन्दै गएपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सिरहा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौँलाई बुधबार नै लिखित जानकारी गराएको छ। तर, कुनै पनि निकायबाट अहिलेसम्म ठोस प्रतिक्रिया नआएको कार्यवाहक नगर प्रमुख यादवको गुनासो छ।

सिरहाका सहायक सीडीओ चेतराज बरालले समेत थापासँग कुनै सम्पर्क नभएको पुष्टि गरेका छन्। ‘उहाँ हाम्रो सम्पर्कमै छैन, काम प्रभावित हुन नदिन वैकल्पिक व्यवस्था कसरी मिलाउने भन्नेबारे छलफल भइरहेको छ।’– बरालले भने।

यसबीच, प्रमुख प्रशासकीय अधिकृत थापासँग कुरा गर्न पटक–पटक फोन सम्पर्क गर्न खोज्दा फोन लागेपनि रिसिभ भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट