लेटाङकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्याः भागेर भारत पुगेका छिमेकी अधिकारी यसरी परे पक्राउ
विराटनगर— मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम असोज २१ गते अपराह्न घर नजिकै पिङ खेल्दै थिइन्। साँझ पर्न नपुग्दै उनी अचानक बेपत्ता भइन्। परिवारले रातभर खोजी गरे, तर अंशुको कुनै अत्तोपत्तो लागेन।
हराएको १८ दिनपछि (कात्तिक ७ गते) घरबाट करिव ४ किलोमिटर टाढा बेलबारी– चिसाङ साझेदारी वनको घना झाडीभित्र सडेको, टाउको काटिएको, टुक्राटुक्रा पारिएको र कपडा च्यातिएको अवस्थामा उनको शव फेला पर्यो। शवको अवस्था देख्दा देख्ने जतिको जिउ थरथर काम्यो।
दुई महिनासम्म रहस्यमय बनेको यो घटना आइतबार झनै भयावह सत्यसहित बाहिर आएको छ। अंशुको हत्यारा कोई नभई, घरअगाडिकै काका भनेर चिनिने ५८ वर्षीय पदमबहादुर अधिकारी (स्थानीयमा ‘विचारी’) भएको खुलासा भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी र मोरङ प्रहरीको संयुक्त टिमले करिब ६० दिनको खोजीपछि उनलाई गत शुक्रबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार अधिकारी अंशु पिङ खेलिरहेको ठाउँमा पुगेका थिए। उनले साथमा रहेकी साथीलाई ‘पैसा दिएर’ घरतिर पठाइदिए र अंशुलाई ‘घाँस काट्न मद्दत गर’ भन्दै साईकलमा चढाएर जंगलतर्फ लगे। उनी चढेको साइकलको पछाडि अंशुलाई बसालेर साढे ४ किलोमिटर भित्रसम्म पुर्याए।
त्यहाँ पुगेपछि अधिकारीले उनको बलात्कार गरे। त्यसपछि अपराध लुकाउन घाँटी थिचेर हत्या गरे। शव पहिचान नहोस भनेर हँसियाले टाउको काटे, शरीर टुक्राटुक्रा पारे र झाडीभित्र फाले। मृतकको चप्पल, हाफ पाइन्ट, घडी र च्यातिएको कपडाबाट परिवारका सदस्यले शवको सनाखत गरे। अदालतले अहिले अधिकारीविरुद्ध ज्यान र करणी दुवै मुद्दामा ७ दिनको म्याद दिएको छ।
घटनापछि अधिकारी गाउँमै रहेझैँ गरिरहने अनुमान भए पनि उनी घटनाको केही घन्टामै सीमापार भागिसकेका थिए। प्रहरी अनुसन्धानले उनलाई भारतको आसामस्थित तीनसुकियामा लुकेको पुष्टि ग¥यो। परिवारसँगको नियमित फोन सम्पर्ककै आधारमा प्रहरीले उनको ‘ट्रेसिङ’ गरिरहेको थियो। गत शुक्रबार उनी शंकामुक्त हुने सोचाइले घर फर्किए, तर प्रहरी त्यही मौकामा घरमा पुगेर नियन्त्रणमा लियो।
अंशुको शव फेला परेको दिनदेखि लेटाङमा आतंक छ। घर–घरमा एउटै पीडा छ— ‘छोरीहरू कहाँ खेलिरहेका छन्, कससँग छन्, को पछाडि लागिरहेको छ?’ गाउँलेहरु भन्छन्, ‘दैनिक आँखा अगाडि हुने र बोल्दा पनि नमिठो नबोल्ने मान्छेले यस्तो अपराध गर्ला भनेर कसले सोच्थ्यो ?’
अंशुको परिवार अझै बोल्न सक्ने अवस्थामा छैन। उनका बुबा नवीन गौतमले घटना भएको चौथो दिनमै पदम अधिकारीविरुद्ध किटानी जाहेरी दिएका थिए। यता, घटना जति बर्बर थियो, अनुसन्धान त्यति नै जटिल थियो। प्रहरीले घटनास्थलदेखि मोबाइल ट्रयाकिङ, साइबर म्यापिङ, असाममा गरिएको निगरानी, गाउँका ४० जनाभन्दा बढीको डीएनए नमुना परीक्षणजस्ता प्रक्रिया अगाडि वढाएको थियो। अन्ततः शंकाको केन्द्रमा अधिकारी नै परे।
‘अंशुको बलात्कार र हत्या योजनाबद्ध थियो। हत्यापछि प्रमाण नष्ट गर्ने प्रयास पनि गरेको देखिन्छ। प्रमाणहरू सबैले उनको संलग्नतामा पुष्टि गर्छ।’ मोरङका एसपी कवित कट्वालले भने। अंशुको हत्या प्रकरणले देशभर बालिकामाथि बढ्दो हिंसा, गाउँ–समुदायभित्रै लुकेका अपराधीको पहिचान बारे गम्भीर प्रश्न उठाएको छ।

यो पनि,

