२७ वर्षे पुजारी हत्या काण्ड पुनः चर्चामाः एक अभियुक्त अदालतमा, एमालेका गाउँपालिका अध्यक्ष फरार

राजविराज— सप्तरीको राजगढ गाउँपालिकामा २७ वर्षअघि भएको सनसनीपूर्ण हत्याकाण्डमा जोडिएका एक जना अभियुक्त बुधबार अदालतमा हाजिर भएका छन्। यो प्रकरण चर्चामा आएपछि ०७९ सालदेखि गाउँपालिकाको शासन सत्ता सञ्चालन गरिरहेका अध्यक्ष ओमप्रकाश मण्डल फरार भएका छन्।

गाउँपालिका अध्यक्ष मण्डलसहित सात जनाविरुद्ध दर्ता रहेको मुद्दामा तत्कालीन बेल्ही चपेना गाविस–३ (हाल राजगढ–४) का रामनारायण मण्डल बुधबार दिउँसो सप्तरी जिल्ला अदालतमा उपस्थित भएका हुन्।

न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासमा उनको बयान सुरु भए पनि समय अभावका कारण बयान अधुरो छ। अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालका अनुसार बयानपछि थुनछेक बहस हुने भएकाले रामनारायणलाई प्रहरी हिरासतमा पठाइएको छ।

यो मुद्दा २०५५ साल साउन ३ गते तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्यासँग सम्बन्धित छ। लामो समयसम्म अनुसन्धान र सुनुवाइ अल्झिएको यो मुद्दामा २०७८ वैशाख १५ गते अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

तर, पक्राउ पुर्जी कायम रहँदै गर्दा पनि अभियुक्तमध्येका ओमप्रकाश मण्डल २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट राजगढ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

उनी निर्वाचित भएको करिब १० महिनापछि, २०७९ फागुन १४ गते जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले उक्त मुद्दालाई मुलतबीमा राखेको थियो। रामनारायण मण्डल अदालतमा हाजिर भए पनि यस मुद्दाका अन्य अभियुक्तहरू अझै फरार रहेका छन्।

फरार अभियुक्तमा राजगढ–४ का गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, उनका बुबा तथा तत्कालीन बेल्ही चपेना गाविसका अध्यक्ष गंगाराम मण्डल, सोही क्षेत्रका रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव र भोलिचन सदा मुसहर छन्।

अभियोगपत्रअनुसार मन्दिरको नाममा रहेको करिब ११ बिगाह जग्गाको धान मन्दिरलाई नदिने षडयन्त्र भएपछि विवाद चर्किएर पुजारी जन्त्रीदास बैरागीको हत्या गरिएको उल्लेख छ। दशकौँ पुरानो यो हत्याकाण्डमा एक अभियुक्त अदालतको सम्पर्कमा आएपछि मुद्दा पुनः सक्रिय हुने संकेत देखिएको छ भने फरार अभियुक्तहरू कहिले कानुनी दायरामा आउने हुन् भन्ने प्रश्न फेरि उठेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट