सप्तरीको फत्तेपुर बन्दैछ नयाँ पर्यटन हबः सामुदायिक वनमै ट्रि–हाउस, बोटिङ र मिनी चिडियाघर (फोटो फिचर)

फत्तेपुर (सप्तरी)– सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्धनलाई केन्द्रमा राख्दै योजनाबद्ध रूपमा काम अगाडि बढाएको छ। कुल ३७४ दशमलव ५ हेक्टर सामुदायिक वनमध्ये जुटपानीको करिब ५ हेक्टर अर्थात् साढे सात बिगाह क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदैछ।

यो क्षेत्रमा प्रकृति संरक्षणसँगै स्थानीय रोजगारी र आयआर्जनको लक्ष्यसमेत जोडिएको समूहले जनाएको छ। जुटपानी क्षेत्र योजना पूरा भएपछि घुमफिर, पिकनिक र पारिवारिक रमाइलोका लागि कोशी र मधेश प्रदेशकै प्रमुख गन्तव्य बन्ने संकेत देखिएको छ। सामुदायिक वनको हरियाली, नदी–नहर, चुरे पर्वत र ऐतिहासिक संरचनासँगै आधुनिक पर्यटकीय पूर्वाधार विस्तार भइरहेकाले सप्तरीको यो क्षेत्र नयाँ पर्यटन हबका रूपमा उभिँदै गएको हो।

जुटपानी क्षेत्रको प्राकृतिक आकर्षण नै यसको ठूलो शक्ति हो। यहाँ सामुदायिक वनको मनमोहक दृश्यसँगै मुलुककै पहिलो चन्द्र नहर, त्रियुगा नदी, चुरे पर्वत श्रृंखला, विभिन्न प्रकारका वन्यजनावर तथा राणाकालीन भवन अवलोकन गर्ने अवसर पाइनेछ। यही विविधताका कारण यो क्षेत्र कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट घुम्न आउने पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ।

पर्यटकीय क्षेत्रभित्र निर्माण गरिएको ट्रि–हाउस हालकै मुख्य आकर्षण बनेको छ। ट्रि–हाउस निर्माण सम्पन्न भएसँगै दैनिक रूपमा अवलोकन र फोटो खिच्न आउनेको भीड लाग्ने गरेको छ। सामुदायिक वनका उपभोक्ताका लागि १० रुपैयाँ र अन्य पर्यटकका लागि २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ, जसले संरक्षण र व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पर्यटकलाई थप रोमाञ्चक अनुभव दिन जलविहार अर्थात् बोटिङको व्यवस्था पनि अन्तिम चरणमा पुगेको छ। पोखरी निर्माण सकिन लागेको छ भने चार वटा पाईडलवाला बोट र एक वटा मोटरबोट निर्माणका लागि सम्झौता भइसकेको छ। पाईडलवाला बोट माघ १ गतेदेखि र मोटरबोट ०८३ वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी छ। बोटिङ सुरु भएपछि जुटपानी क्षेत्रको आकर्षण झनै बढ्ने अपेक्षा गरिएको छ।

पर्यटनलाई विविध बनाउन मिनी चिडियाघर निर्माणको काम पनि सुरु गरिएको छ। चिडियाघरमा बाघ, भालु, हरिण, जरायो, बँदेललगायतका वन्यजनावर राख्ने योजना रहेको छ। वन्यजन्तुको व्यवस्थापन र संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय सप्तरीसँग सहकार्य गरिरहेको छ।

पिकनिकका लागि विशेष व्यवस्था मिलाइएको छ। पर्यटकीय क्षेत्रमा १० वटा पिकनिक स्टल निर्माणाधीन छन्, जसलाई आगामी चैत्र मसान्तसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। अहिले पनि दैनिक रूपमा पिकनिक टोलीको भीड लाग्ने गरेको छ। समूहका अध्यक्ष इन्द्रप्रसाद लुईटेलका अनुसार, एकै दिन १७ टोलीसम्मले यहाँ पिकनिक खाएको अनुभव छ। पर्यटकीय क्षेत्र र पिकनिक स्पोर्टका लागि साढे तीन लाख रुपैयाँको लागतमा टावर लाइट र वाइफाइ समेतको व्यवस्था गरिएको छ।

बालबालिकाको मनोरञ्जनलाई ध्यानमा राख्दै बाल बाटिका निर्माणको काम पनि अगाडि बढाइएको छ। झोलुङ्गे पिङ, घुमाउने पिङलगायतका सामग्री अर्डर भइसकेका छन् र चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यसले परिवारसहित आउने पर्यटकका लागि थप आकर्षण थप्नेछ।

समग्रमा जुटपानी क्षेत्रको पर्यटन विकासका लागि एक करोड ४० लाख ६७ हजार ५ सय रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। सप्तकोशी नगरपालिका, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न दातृ निकायको सहकार्यमा अगाडि बढिरहेको यो परियोजना पूरा भएपछि जुटपानी क्षेत्र आन्तरिक पर्यटन, पिकनिक र प्राकृतिक अवलोकनका लागि पूर्व–मधेशकै प्रमुख गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट