गोसाइँकुण्डमा अन्त्य भयो मोरङका दाजुभाइसरह दुई युवकको जीवन–यात्रा, हात समाएकै अवस्थामा भेटियो शव

विराटनगर– ट्रेकिङ र घुमघाममा रमाउने मोरङका दुई युवाले ‘जीवनको अर्को सुन्दर यात्रा’ भनेर सुरु गरेको गोसाइँकुण्ड पदयात्रा उनीहरूको अन्तिम यात्रा बनेको छ। आइतबार दिउँसो बेपत्ता भएका २८ वर्षीय मनोज न्यौपाने र २९ वर्षीय सुजन ढकालको शव सोमबार बिहान एकअर्काको हात समातेको अवस्थामा कुण्डमै भेटिएको छ।

मनोज मोरङको बेलबारी नगरपालिका–४ का हुन् भने सुजन विराटनगर–३ का बासिन्दा थिए। उनीहरू मामा–फुपुका छोरा छोरा हुन। उनीहरु एकअर्काका मिल्ने साथी मात्र होईन दाजुभाइसरह थिए। यही आत्मीयता र घुम्ने रुचिले उनीहरूलाई गोसाइँकुण्डसम्मको यात्रा गरायो— जुन अन्ततः मृत्युको यात्रामा परिणत भयो।

काठमाडौँमा बसेर कम्प्युटर सम्बन्धी काम गर्दै आएका मनोज र विराटनगरस्थित एनआईसी एसिया लघुवित्तमा कार्यरत सुजनले फोनमा योजना बनाए, शनिबार गोसाइँकुण्ड पुग्ने। सुजन शुक्रबार नै काठमाडौँ आइपुगेका थिए। शनिबार रसुवा पुगेका उनीहरूसँगै उनीहरूकै परिवारकी एक बहिनी पनि थिइन्। घट्नाको बारेमा तिनै वहिनी मार्फत परिवारले जानकारी पयो।

परिवारका सदस्यसमेत रहेका पत्रकार विवेक मिश्रका अनुसार आईतवार दिउँसो करिब साढे ३ बजे सुजन अचानक चिप्लिएर कुण्डमा खसे। उनलाई बचाउन खोज्ने क्रममा मनोज पनि पानीमा हामफाले। तर, दुवै जना पौडिन नसक्ने भएकाले अत्यधिक चिसो पानी र गहिरो तालमा निसासिए। उद्धारका लागि सहयोग मागेपनि खराब मौसमका कारण उनीहरुलाई बचाउन सम्भव भएन।

अन्ततः सोमबार बिहान उनिहरुको शव फेला पर्यो। उद्धारकर्ताहरुका अनुसार घट्नास्थलमा एक मार्मिक दृश्य देखियो—मनोज र सुजनको शव एकअर्काको हात समातिएको अवस्थामा थियो। दुवैको सहयात्रा, अन्ततः सहमरणमा पुग्यो।

उनीहरूसँग १३ जनाको टोली थियो। दुर्घटनापछि बाँकी टोलीका सदस्यहरू काठमाडौँ फर्केका छन्। मनोजको परिवारमा क्यान्सरपीडित आमा, बुबा र एक बहिनी छन्। सुजनको परिवारमा आमा र दाजु–भाउजू छन्। दुवै अविवाहित थिए र आफ्ना परिवारको प्रमुख सहारा थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट