उर्लाबारीमा ग्याँस सिडिण्डर विस्फोट भएर घाईते भएका मध्ये मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं– तिहारका बेला मोरङको उर्लाबारीस्थित सुन पसलमा भएको आगलागीमा परेर गम्भीर घाइते थप एक जनाको मृत्यु भएको छ। उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।
मरिताको मृत्युसँगै उक्त आगलागीमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। कात्तिक २६ गते लक्ष्मीपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेका मध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ।
अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ। यसअघि उर्लाबारी–७ कै ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको पनि मृत्यु भइसकेको छ।
राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो। त्यस क्रममा घरको माथिल्लो तलामा बस्ने घरधनीको उद्वारका लागि प्रहरी पुगेको थियो।
त्यहीबेला सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरैलाई आगाको लप्काले भेटेको थियो। सिलिण्डर विष्फोटमा बाटोमा उभिएकाहरू पनि घाइते भएका थिए।