जसपामा प्रवेशसँगै पूर्वमन्त्री उमेश यादवको कडा सन्देशः ‘गालीबाट होइन, जनमतबाट हैसियत नापिन्छ’

राजविराज— जनता समाजवादी पार्टी नेपाल (जसपा) मा हालै प्रवेश गरेका पूर्वमाओवादी नेता उमेशकुमार यादवको फेसबुक स्ट्याटस मार्फत आज विहानै आलोचकहरुलाई प्रहार गरेका छन्। जसले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

उनको यो स्ट्याटसलाई लामो राजनीतिक यात्राबाट आएको आत्मविश्वास, स्पष्टता र प्रत्यक्ष संवादको रूपमा हेरिएको छ। यादवले आफ्नो स्ट्याटसमा आफूले माओवादी पार्टी (हाल नेपाली कम्युनिष्ट पार्टी) को राजनीतिक यात्रामा अरूलाई अघि बढ्न ‘ठाउँ फराकिलो बनाइदिएको’ उल्लेख गरेका छन्।

यो अभिव्यक्ति केवल आत्मप्रशंसा होइन, दशकौँदेखि मधेस–केन्द्रित राजनीतिमा उनले खेलेको भूमिकाको दाबीका रूपमा लिइँदैछ। संगठन विस्तार, कार्यकर्तालाई स्थापित गर्ने र नयाँ नेतृत्वलाई अगाडि ल्याउने काममा आफूले योगदान दिएको उनको भनाइ धेरै पुराना कार्यकर्ताहरूको अनुभवसँग मेल खाने समर्थकहरूको तर्क छ।

उनले आलोचकहरूलाई अरुलाई गाली गर्नु भन्दा चुनावमा जनतामाझ गएर आफ्नो हैसियत परीक्षण गर्न आग्रह गरेका छन्। यसलाई लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वासको सन्देशका रूपमा बुझ्न सकिन्छ। राजनीतिक वैधता जनमतबाटै आउँछ भन्ने उनको मूल सन्देश स्पष्ट देखिन्छ— सामाजिक सञ्जालको गालीभन्दा जनताको मत ठूलो हुन्छ।

स्ट्याटसको अर्को अंशमा यादवले समयले सबै कुराको जवाफ दिने भन्दै गालीगलौज, षड्यन्त्र र प्रतिशोधको राजनीति त्याग्न सुझाव दिएका छन्। यो सन्देश आफैंमा संयम र दीर्घकालीन सोचको संकेत हो। तत्काल प्रतिक्रियाभन्दा राजनीतिक धैर्य र समयको मूल्यमा विश्वास गर्ने नेता रूपमा उनले आफूलाई प्रस्तुत गरेका छन्।

यादवले माओवादीका नयाँ नेता÷कार्यकर्तालाई ‘मैले हुर्काएका भाइहरू’ भन्ने सन्दर्भ उठाएका छन्। जसले उनको संरक्षक भाव र राजनीतिक स्नेह देखाएको छ। राजनीतिमा सहयात्रीहरूबीचको भावनात्मक सम्बन्ध र आपसी विश्वासलाई उनले खुलेर व्यक्त गरेका छन्। आफ्ना सहकर्मी र समर्थकहरूलाई हानि नपुगोस् भन्ने चिन्ता उनले स्पष्ट रूपमा देखाएका छन्, जुन कठोर राजनीतिमा विरलै देखिने पक्ष मानिन्छ।

राजनीतिक विश्लेषकहरू भन्छन— यो स्ट्याटस उमेशकुमार यादवको व्यक्तित्वको एक विशेषता हो। घुमाउरो भाषा भन्दा सिधा र स्पष्ट बोल्ने उनको यही विशेषताले कहिलेकाहीँ कडापनको अनुभूति दिन सक्छ, तर यसले उनको राजनीतिक आत्मविश्वास र नेतृत्व क्षमतालाई पनि देखाउँछ। विशेषगरी जसपा जस्तो मधेसको मुद्दालाई पुनःसंगठित गर्न खोजिरहेको दलका लागि यस्तो आत्मविश्वासी नेतृत्व उपयोगी हुनसक्ने तर्क उनिहरुको छ।

जसपा नेपालमा उनको प्रवेशलाई धेरैले नयाँ ऊर्जा र पुरानो अनुभवको संयोजनका रूपमा हेरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट