सप्तरीमा निर्वाचन प्रहरीको आवेदन कोटाभन्दा झण्डै दोब्बर, कोशीका पहाडी–हिमाली जिल्लामा भने अभाव

राजविराज — आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सप्तरीमा निर्वाचन सुरक्षाका लागि लिइएको प्रहरी भर्नामा कोटाभन्दा झण्डै दोब्बर आवेदन परेको छ। पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको म्यादभित्र सप्तरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ गरी कुल ४ हजार २ सय २२ जनाको कोटा रहँदा ७ हजार ४ सय ४४ जनाले आवेदन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार आवेदन दिनेहरूमध्ये ६ हजार ५ जना पुरुष र १ हजार ४ सय ३९ जना महिला छन्। कोटाभन्दा अत्यधिक आवेदन परेपछि जिल्लामा प्रतिस्पर्धा कडा हुने देखिएको छ। निर्वाचन प्रहरीको छनोट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिनेछ। माघ १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने र माघ १५ गतेदेखि २४ गतेसम्म प्रशिक्षण सुरु गर्ने कार्यतालिका तय गरिएको छ।

सरकारले निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई प्रहरी जवानले पाउने सरह सुविधा दिने निर्णय गरेको छ। निर्वाचन प्रहरीलाई ४० दिन कार्यक्षेत्रमा खटाइनेछ भने प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा पारिश्रमिक उपलब्ध गराइनेछ।

सप्तरीको ठीक उल्टो अवस्था भने कोशी प्रदेशका पहाडी र हिमाली जिल्लामा देखिएको छ। निर्धारित कोटाभन्दा कम आवेदन परेपछि ती जिल्लामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप गरिएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार झापा, मोरङ, सुनसरी, उदयपुर र संखुवासभा बाहेकका ९ जिल्लामा आवेदन संख्या कोटाभन्दा कम भएपछि म्याद थप गर्नुपरेको हो।

कोशी प्रदेशका १४ जिल्लाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा गरी २५ हजार ९ सय ७५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ। बिहीबारसम्म दुवै संगठनमा जम्मा २७ हजार ५ सय ५३ जनाको आवेदन दर्ता भएको छ। यद्यपि जिल्ला–जिल्लामा आवेदनको वितरण असन्तुलित देखिएको छ।

नेपाल प्रहरीतर्फ कोशी प्रदेशका लागि तोकिएको २३ हजार ४ सय २४ कोटामध्ये १ हजार ९ सय ९२ जना अपुग छन्। सशस्त्र प्रहरीतर्फ २ हजार ५ सय ६१ कोटामध्ये ९ सय १९ जना अपुग रहेको डीआईजी घिमिरेले जानकारी दिए।

धनकुटामा नेपाल प्रहरीका लागि तोकिएको ९ सय ८९ कोटामा ८ सय ७६ जनाले मात्र आवेदन दिएका छन्। इलाममा १ हजार ७ सय ३४ कोटामा १ हजार ४ सय ७४, पाँचथरमा १ हजार १ सय ३१ कोटामा ९ सय ७०, भोजपुरमा १ हजार १ कोटामा ८ सय ६८, खोटाङमा १ हजार १ सय ८६ कोटामा ७ सय ९७, ओखलढुंगामा ८ सय ७७ कोटामा ५ सय ७७, सोलुखुम्बुमा ८ सय ५१ कोटामा ६ सय १ र ताप्लेजुङमा ८ सय ४६ कोटामा ७ सय ७४ जनाले मात्र दरखास्त दिएका छन्। तेह्रथुममा भने तोकिएको ५ सय २० कोटामा ५ सय २२ जनाको आवेदन परेको छ।

तर झापा, मोरङ र सुनसरीमा भने अवस्था फरक देखिएको छ। झापामा आवश्यक ४ हजार ३ सय ८ कोटाका लागि ४ हजार ८ सय ५६, मोरङमा ४ हजार ३ सय ८८ कोटामा ६ हजार २ सय ७९ र सुनसरीमा ३ हजार १ सय ४९ कोटामा ४ हजार ४ सय २१ जनाको आवेदन परेको छ।

उदयपुरमा नेपाल प्रहरीतर्फ आवेदन कम भए पनि सशस्त्र प्रहरीतर्फ आवेदन संख्या उल्लेख्य रहेकाले दुवै तर्फको संख्या मिलान गरिने भएको छ। संखुवासभा, उदयपुर र पाँचथरमा मात्र सशस्त्र प्रहरीले मागेको संख्याभन्दा बढी आवेदन परेको छ। अन्य जिल्लामा भने सशस्त्र प्रहरीतर्फ आवेदन निकै न्यून रहेको धनकुटास्थित छिन्ताङ गुल्मका डीएसपी प्रेमप्रकाश सिग्देलले बताए। धनकुटामा सशस्त्र प्रहरीका लागि मागिएको ९६ जनामध्ये ६८ जनाले मात्र आवेदन दिएका छन्।

निर्धारित संख्याभन्दा कम आवेदन परेका जिल्लामा सहायक सीडीओको नेतृत्वमा रहेको निर्वाचन प्रहरी भर्ना छनोट समितिले म्याद थप गर्न सक्ने व्यवस्था रहेको डीआईजी घिमिरेले स्पष्ट पारे। थपिएको अवधिमा पनि पर्याप्त आवेदन नआए झापा, मोरङ र सुनसरीजस्ता बढी आवेदन परेका जिल्लाबाट वैकल्पिक सूचीका उम्मेदवारलाई अपुग भएका जिल्लामा व्यवस्थापन गरिने उनले बताए ।

यसअघि माघ १ गते आवेदन दर्ता सकेर माघ ५ देखि ९ गतेसम्म छनोट र माघ १२ गते नतिजा प्रकाशन गर्ने तयारी थियो। माघ १५ गतेदेखि निर्वाचन सुरक्षा प्रहरीको प्रशिक्षण सुरु गर्ने कार्यतालिका यथावत् राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट