‘हामी बालेनको पुलिस होइनौं’ भन्ने डीएसपी चौधरी जिल्ला तानिए, अभिव्यक्तिबारे सोधपुछ सुरु

काठमाडौँ– कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरी सार्वजनिक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिपछि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएका छन्।

‘हामी बालेनको पुलिस होइनौं, नेपाल पुलिस हो’ भन्दै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसमेतको नाम जोडेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीसँग स्पष्टीकरणमूलक सोधपुछ थालेको हो।

घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति विशेषको नभई कानुन कार्यान्वयन गर्ने संस्था भएको बताएका थिए। कार्यक्रममा उनले ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो,’ भनेका थिए।

उक्त अभिव्यक्तिसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी संगठनभित्र र बाहिर समेत चर्चा सुरु भएको छ। त्यसलगत्तै डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाएर घटनाबारे जानकारी लिने प्रक्रिया अघि बढाइएको हो।

कैलालीका एसपी नरेन्द्र चन्दले डीएसपी चौधरीलाई जिल्ला बोलाइएको पुष्टि गरेका छन्। उनका अनुसार हाल औपचारिक छानबिनभन्दा पनि कार्यक्रमको सन्दर्भ, अभिव्यक्तिको आशय र प्रस्तुतिको अवस्थाबारे बुझ्न सामान्य सोधपुछ भइरहेको छ।

सार्वजनिक भएको भिडियोमा डीएसपी चौधरीले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेका छन्। त्यसपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको देखिन्छ। उनले नेपाल प्रहरीले प्रयोग गर्ने बर्दी राष्ट्रपति स्वयंले पनि लगाउन नसक्ने उल्लेख गर्दै आफू २०७० सालमा १३८ जनामध्ये छनोट भएर प्रहरी सेवामा प्रवेश गरेको व्यक्ति भएको बताएका छन्। ‘हामी भोट हालेर टीका लगाएर आएका होइनौं, दारु–भात खाएर आएकै होइन,’ भन्ने अभिव्यक्ति पनि उनले कार्यक्रममा दिएका थिए।

भिडियोमा उनले आफ्नो सम्बोधन सार्वजनिक नगर्न अनुरोध गरेको समेत सुनिन्छ। तर उनको आग्रहविपरीत कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले व्यापक चर्चा पाएको हो।

प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि त्यसको सन्दर्भ र अभिव्यक्तिको उद्देश्यबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयले डीएसपी चौधरीलाई बोलाएको हो। यद्यपि कैलाली प्रहरीले यसलाई तत्काल अनुशासनात्मक कारबाही वा औपचारिक छानबिनको प्रक्रिया नभई प्रारम्भिक सोधपुछका रूपमा व्याख्या गरेको छ।

डीएसपी चौधरीले उक्त अभिव्यक्तिबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट