सर्लाहीमा मोबाइल व्यवसायीलाई लुट्न गोली प्रहार, प्रतिकारपछि हतियारधारी समूह फरार

सर्लाही– सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीलाई लक्षित गर्दै लुटपाटको प्रयास भएको छ। लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकखण्डमा गएराति मोटरसाइकलमा आएका तीन जनाको समूहले एक व्यवसायीलाई नियन्त्रणमा लिएर लुट्ने प्रयास गरेका थिए। प्रतिकार भएपछि उक्त समुह गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमका अनुसार लालबन्दी नगरपालिका–७ निवासी हरिप्रसाद सापकोटा राति आफ्नो मोबाइल पसल बन्द गरी घर फर्किंदै थिए। सोही क्रममा मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले उनलाई पछ्याउँदै एकान्तजस्तो स्थानमा पुगेर बाटो छेकेर लुट्ने प्रयास गरेका थिए।

प्रहरीका अनुसार लुटपाटको प्रयासका बेला सापकोटाले प्रतिकार गरेपछि आक्रमणकारी समूहले गोली प्रहार गरेको थियो। गोली चलेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो भने घटनापछि उक्त समूह फरार भएको प्रहरीले जनाएको छ।

‘लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने व्यक्तिलाई रातिको समयमा पछ्याएर एकान्तजस्तो स्थानमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको देखिन्छ,’ प्रवक्ता गौतमले भने, ‘उहाँले प्रतिकार गरेपछि उनीहरू गोली पड्काउँदै भागेका छन्। घटनाबारे अनुसन्धान जारी छ।’

घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले नलकटुवा पेस्तोलबाट प्रहार गरिएको गोलीको खोका बरामद गरेको छ। बरामद सामग्री परीक्षणका लागि सुरक्षित राखिएको र प्रयोग भएको हतियार तथा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको छ। घटनास्थल वरपरका क्षेत्रको निगरानी, सम्भावित भाग्ने मार्गको विश्लेषण तथा अन्य प्राविधिक माध्यमबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनामा सापकोटा शारीरिक रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ। लुटपाटको प्रयास, गोली प्रहार र संलग्न समूहको पहिचानबारे थप अनुसन्धान जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय