सानोठिमीको बाल सुधार गृहमा हिंस्रक झडपः आगजनी र ढुंगामुढापछि सशस्त्र प्रहरी परिचालन, अवस्था तनावग्रस्त

भक्तपुर — भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहमा शुक्रबार राति हिंस्रक झडप, तोडफोड र आगजनी भएको छ। सुधार गृहभित्र राखिएका दुई समूहबीच सुरु भएको विवाद राति नै उग्र बन्दै गएपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो।

झडपमा सुधार गृह परिसरभर इँटा, ढुंगा र भाँचिएका संरचनाका टुक्रा छरिएका छन्। घटनापछि शुक्रबार बिहान सुधार गृह क्षेत्र तनावग्रस्त देखिएको छ भने अवस्था पुनः भड्किन सक्ने आशंकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको छ।

झडपको जानकारी पाएलगत्तै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो। तर सुधार गृहभित्र रहेका दुवै समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो। नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गर्नुपरेको थियो।

आक्रोशित समूहले मध्यराततिर सुधार गृह परिसरभित्र आगजनीसमेत गरेपछि स्थिति थप गम्भीर बनेको थियो। भक्तपुर र काठमाडौंबाट दमकल मगाएर आगो निभाइएको थियो। लामो प्रयासपछि मात्रै स्थिति नियन्त्रणमा ल्याउन सकिएको प्रहरीको भनाइ छ।

झडप, तोडफोड र आगजनीबाट सुधार गृहमा भएको क्षतिको यकिन विवरण अझै संकलन हुन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ। हाल स्थिति नियन्त्रणमा आएको बताइए पनि कुनै अप्रिय घटना नहोस् भनेर सुधार गृह वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सानोठिमीस्थित उक्त बाल सुधार गृहमा हाल १४५ जना पुरुष र २४ जना महिला गरी कुल १६९ जना बालबन्दी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट