०७९ को निर्वाचनमा १५ बाचा गरेका सीके राउतलाई मतदाताका १७ प्रश्न

राजविराज– सप्तरी–२ का मतदाताले ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई एक होइन, दर्जनौं सपनामा विश्वास गरेर जिताए। फोहोरमुक्त नगरदेखि घर–घर रोजगारी, भ्रष्टाचारमुक्त प्रशासनदेखि निःशुल्क स्वास्थ्य र आधुनिक शिक्षा प्रणालीसम्मका आकर्षक वाचाहरूले मतदाता मोहित बने। त्यही घोषणापत्र बोकेर राउतले तत्कालीन जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई लज्जास्पद हार चखाए। तर निर्वाचन सकिएको यति लामो समय बितिसक्दा पनि ती वाचाहरू कागजमै सीमित छन्, कार्यान्वयन शून्यजस्तै।

सीताको जन्मभूमि र सम्भावनायुक्त पर्यटन नगर भनेर चित्रण गरिएको क्षेत्र आज पनि फोहोरको दुर्गन्धमा सास फेर्न बाध्य छ। नगर बाहिर ल्याण्डफिल्ड बनाएर फोहोरमैला व्यवस्थापन गर्ने, लामखुट्टेमुक्त शहर बनाउने वाचा भाषणमै सीमित रह्यो। सार्वजनिक गुठी, मठ–मन्दिर र सम्पत्तिको संरक्षण गर्ने भनियो, तर अतिक्रमण पहिलेकै अवस्थामा छ। राजस्व चुहावट रोक्ने, पोखरी, हाटबजार, पार्किङ र करको वास्तविक हिसाब गर्ने प्रतिबद्धता थियो, तर नगरको आम्दानी कहाँ गयो भन्ने प्रश्न अझै अनुत्तरित छ।

‘आँगनमै नगरपालिका’ को नारा लगाएर जनतालाई सपना देखाइयो। घरमै कर्मचारी आएर सेवा दिने, प्रविधिमार्फत काम हुने भनियो। तर आज पनि सामान्य कागजका लागि नागरिक कार्यालय धाउन बाध्य छन्। घुस नलिने, घुस लिनेलाई कारबाही गर्ने उद्घोष गरियो, तर भ्रष्टाचारविरुद्ध उदाहरणीय कारबाहीको कुनै ठोस नजिर देखिएको छैन।

स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउने, औषधि निःशुल्क गर्ने, सीसीटीभीबाट निगरानी गर्ने वाचा पनि पूरा भएन। शिक्षा क्षेत्रमा वाई–फाई, स्मार्ट बोर्ड र अभिभावक–शिक्षक साझेदारीको कुरा गरियो, तर अधिकांश सार्वजनिक विद्यालय र क्याम्पस आज पनि जिर्ण अवस्थामै छन्। महिला, बालबालिका र बुहारीमाथि दुव्र्यवहार गर्नेलाई तत्काल जेल पठाइने भनिए पनि सामाजिक सुरक्षामा गुणात्मक परिवर्तन देखिँदैन।

फ्री वाई–फाई र सीसीटीभी जोन, घर–घर रोजगारी, वैदेशिक रोजगारबाट फर्केकालाई सम्मानसहित रोजगारी, नाला व्यवस्थापन, घरविहीनका लागि सामुदायिक आवास, हाटबजारको सुधार, सार्वजनिक शौचालय र कृषिमा क्रान्ति—यी सबै बुँदा घोषणापत्रमा चम्किला अक्षरमा छन्, तर जनताको दैनिक जीवनमा तिनको झल्को भेटिँदैन।

यही पृष्ठभूमिमा, घोषणापत्र कार्यान्वयन नगरी फेरि उही क्षेत्रमा उम्मेदवार बनेर सीके राउत घरदैलोमा हिँडिरहेका छन्। यसपटक पनि नयाँ–नयाँ बाचा, नयाँ–नयाँ ‘स्किम’ सुनाइँदैछ। तर मतदाताको मनमा एउटै प्रश्न छ—हिजोका १५ वाचा पूरा नगर्ने नेताले आजका नयाँ बाचा किन र कसरी पूरा गर्छ?

सप्तरी–२ मा अहिले चुनाव केवल प्रतिस्पर्धा होइन, विश्वासको परीक्षा बनेको छ। घोषणापत्रको चमकभन्दा बाहिर निस्केर जनताले यसपटक जवाफ खोजिरहेका छन—सीके राउतको राजनीति परिवर्तनको मार्ग हो कि बाचामै सीमित पुरानै शैलीको अर्को संस्करण?

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा यस्ता थिए सीके राउतको बाचा
जनमत पार्टीले के गरिने छ?
१) फोहोर मैलाको व्यवस्थापनः सीताको जन्मभूमि तथा प्रयटन नगरीमा जताततै फोहोर मैला थुपारिएको देखिन्छा नगरबासीहरु वाध्यताले फोहोर मैलाको दुर्गन्धमा र लामखुट्टेहरूको टोकाई जस्तो समस्यामा जीवन विताई रहेका छन। कहिले सम्म यस्तो समस्यामा बसी राखने? यो यति नै गम्भीर समस्या हो। तसर्थ, प्राथमिकताको आधारमा नगर बाहिर ल्याण्डफिल्डको व्यवस्था गरी नगरलाई फोहोर मैलामुक्त र लामखुट्टेमुक्त बनाई सुन्दर, सफा र स्वच्छ प्रयटन नगरको विकास गरिने छ।

२) सार्वजनिक गुठी तथा मठ–मन्दिरको जग्गा/सम्पति संरक्षणः सबैलाई अवगत नै होला नगर भित्र सौं बिया सार्वजनिक सम्पति छन् तर त्यसलाई भोग–उपभोगको लागी अनियमित रुपमा अतिक्रमण गरेका छन्। सार्वजनिक सम्पतिको संरक्षण गर्ने हामि सबैको दायित्व हो। तसर्थ, अतिक्रमण भएका सम्पतिहरुलाई पहिचान गर्दै फिर्ता ल्याई सार्वजनिक गरिने र संरक्षण गरिने छ।

३) आन्तरिक राजस्व चुहावटको रोकथाम, आयको वृधि सुनिचितः कुनै पनि नगर विकासको लागी आन्तरिक आयको अहम भूमिका हुन्छ। हाम्रो नगर भित्र आन्तरिक आयको प्रबल सम्भावना छ, जस्तै पोखरीको ठेक्का, हाट बजारको ठेक्का, पसल/घरको कर, मनोरंजन कर, पार्किंग कर तथा अन्य सार्वजनिक अस्थानबाट उठिने कर, जुन विगतका सरकारहरुको लेखामा अत्तोपतो छैन। यस्ता सम्पूर्ण श्रोतबाट उठिने राजस्व/आयको बास्तविक लेखा, असुल र दाखिला गरी पारदर्शिताका साथ आन्तरिक आयको वृद्धि गरिने छ।

४) आँगनमा नगरपालिका मोवाईलबाट कामः अहिलेको अवस्थामा कुनै पनि सरकारी कार्यालयमा कामको लागि जादा जनताले अनावस्यक किसिमका दुःख भोग्नु परेका छना अब देखि कार्यालयको कार्य शैलीमा परिवर्तन लिआउने हाम्रो प्रतिवष्ता हो। नगरबासीलाई कुनै काम परेमा नगरपालिकाको नम्बरमा फोन गरेर जानकारी गराउनुहोस्, नगरपालिकाको कर्मचारीले तपाईको घरमै पुगेर कागजपत्र लिएर काम गराई पुनः घरमा पुर्याईदिने छन। यदि नगर बाहिर बस्नु हुन्छ भने टेक्नोलोजी मध्यम, जस्तै इमेल, वाटसॉप, इमोबाट डकुमेन्ड पठाउनुस, तपाईको काम पुरा गरिने छ। जनताले कार्यालयको कुनै पनि काममा अब देखि दुःख भोमु पर्दैन।

५) भ्रष्टाचार सफाई, पुस लिनेलाई कारवाहीः भ्रष्टाचार हाम्रो समाजमा विकासको अवरोध गर्ने प्रमुख बाधा हो। नगर भित्र कुनै पनि कामका लागि तपाईसंग कसैले पनि घुस माग्यो भने आफ्नो मोबाईलमा अडियो वा विडीयो रेकोर्ड गरेर नगरपालिकाको नम्बरमा पठाउनुहोस। भ्रष्टाचारीलाई तुरुन्त कारबाही हुनेछा

६) तपाईको स्वास्थ्य नगरको जिम्मेवारीः नगर भित्रको सामुदायिक स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न व्यवस्थित गरी सम्पूर्ण जाँच र औषधि निःशुल्क गरिने छ। सीसीटीभी जडान गरी स्वास्थ्यकर्मीहरूको सेवा तथा विरामीहरुको सुविधाको निगरानी गरिने छ।

७) अभिभावकको साझेदारीमा शिक्षाको उन्नतिः सार्वजरिक विद्यालय तथा महाविद्यालय जिर्ण अवस्था रहेको छ। नगरका सम्पुर्ण सरकारी विद्यालय तथा महाविद्यालयहरुको पूर्णधार विकास गरी आधुनिक तकनिक (वाई–फाई, सीसीटीभी, स्मार्ट ब्ल्याकवोर्ड, विद्यालय व्यवस्थापन प्रणाली, कम्प्युटर) को माध्यम द्वारा शिक्षक, विद्यार्थी र अभिभावकको साझेदारीमा शिक्षाको उन्नती गरिनेछा

८) दिदिबहिनि प्राथी आए आँच, हुनेछ जेलभित्रको वासः नगरभित्र दिदीबहिनी, कोराछोरी र बुहारी माथी कुदृष्टिले हेर्ने र अभद्र व्यवहार गर्ने जस्ता घटनाको जानकारी हुने वितिकै कानुन बमोजिम तत्काल कारवाही गराउने छौ।

९) फ्री वाईफाई तथा सीसीटीवी जोनको स्थापनाः नगर भित्रको सार्वजनिक स्थान, पर्यटकीय स्थल र चौक–चौराहामा फ्री वाई–फाईको सुविधा उपलब्ध गराईन छ र शीसीटीवीको जडान गरी सामाजिक सुरक्षाको निगरानी गरिने छ।

१०) घर–घर रोजगारी, विदेशघाट फर्किदा स्वागतको तयारीः नगर भित्रका बेरोजगार दाजुभाई, दिदीबहिनीको लागि स्थानीय तहबाट प्राप्त हुने कच्चा पदार्थको हिसाबले घरेलु, साना तथा मझौला उद्योग स्थापना गर्न प्राथमिकता दिइने छ। उद्योगीकरणका लागी आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइने छा पसल, कृषि फार्म, डेरी र घरेलु उद्योग स्थापनाका लागि अनुदान दिईने छ। वैदेशिक रोजगारबाट फर्केकाहरूलाई शिप अनुसार “मजदुर क्लव’ मा सहभागी गराई रोजगारीले स्वागत गरिनेछा

११) जल निकासको व्यवस्थापनः नगरभित्र नाला व्यवस्थापन नहुँदा सर्वसाधारणको घरमा पानी पस्ने, पानि एकत्रित हुने, घर भन्दा सड़क अप्लो हुँदा घर डुब्ने समस्याको सामाधान जल निकास (नाला) को व्यवस्थापन गरी समाधान गरिने छ।

१२) वार्ड–वाईमा घर विहिनलाई सामुहिक आवासः नगरपालिकाको प्रत्येक वाईमा घर विहिनको रातको आश्रयको लागि सामुदायिक आवासको निर्माण गरिनेछ।

१३) हाट बाजारको विकास र उचित व्यवस्थापनः नगर भित्रका सबै हाटबजारलाई व्यवस्थित गरिने छ। भत्के र विग्रेका बजारका पूर्वाधार निर्माण गरिने छ।

१४) सार्वजनिक सौचालयको सुविधाः नगर भित्र सार्वजनिक शौचालयको सुविधा नभएको र भए पनि जिर्ण अवस्थामा रहेका छन। नगरको ठाउँ–ठाउँमा सार्वजनिक सुलभ सौचालयको निर्माण तथा उचित व्यवस्थापन गरिने छ।

१५) कृषिमा क्रान्तिः कृषिमा आधुनिकीकरणको अवधारणा अनुसार कृषि उत्पादनमा दोब्बर वृद्धि गर्नका लागि आवश्यक प्राविधिक तथा आर्थिक व्यवस्थापन गरिनेछ। मल, खाद, बीउ बिजन, सिंचाई, किसान कार्ड, कृषि बीमा, कृषि उपकरण, बजार व्यवस्थापन, कोल्ड स्टोर, कृषि तालिम इत्यादीका लागि आवश्यक व्यवस्थापन गरिनेछ।

सीके राउतलाई मदताले सोधिरहेका प्रश्न
१) फोहोरमैला व्यवस्थापनबारे – ०७९ मा ‘नगर बाहिर ल्याण्डफिल्ड बनाएर फोहोरमुक्त नगर’ बनाउने भनियो। आजसम्म त्यो ल्याण्डफिल्ड कहाँ छ? बजेट कति छुट्याइयो, काम कति पुरा भयो ?

२) लामखुट्टे र जनस्वास्थ्य– दुर्गन्ध र लामखुट्टेबाट नागरिक पीडित छन्। स्वास्थ्य संकट जस्तो समस्यामा तपाईंको प्रत्यक्ष हस्तक्षेप किन देखिएन?

३) सार्वजनिक गुठी र सम्पत्ति संरक्षण– अतिक्रमित गुठी, मठ–मन्दिर र सार्वजनिक जग्गामध्ये कति पहिचान भयो? कति फिर्ता ल्याइयो? नामै किटान गरेर उपलब्धि देखाउन सक्नुहुन्छ?

४) आन्तरिक राजस्व चुहावट– पोखरी, हाटबजार, पार्किङ, मनोरञ्जन करको ‘अत्तोपत्तो छैन’ भनिन्थ्यो। तपाईं जितेपछि यी स्रोतबाट कति राजस्व उठ्यो? सार्वजनिक लेखा किन देखिँदैन?

५) ‘आँगनमै नगरपालिका, मोवाईलमा काम’ किन कागजमै?– घरमै सेवा दिने भनिएको थियो। आज पनि जनता लाइन बस्न बाध्य छन्। यो योजना असफल भयो कि लागू नै गरिएन?

६) भ्रष्टाचारविरुद्ध कारबाहीको प्रमाण– ‘घुस लिनेलाई तुरुन्त कारबाही’ भनियो। तपाईंको कार्यकालमा कति कर्मचारी कारबाहीमा परे? एक जना भए पनि उदाहरण देखाउन सक्नुहुन्छ?

७) स्वास्थ्य सेवा सुधार– निःशुल्क औषधि, सुविधा सम्पन्न स्वास्थ्य चौकी र सीसीटीभी निगरानी कहाँ पुग्यो? बजेट थिएन कि इच्छाशक्ति थिएन?

८) शिक्षा सुधारको वास्तविकता– स्मार्ट बोर्ड, वाई–फाई, कम्प्युटर, अभिभावक–शिक्षक साझेदारी—यीमध्ये कति विद्यालयमा लागू भयो? तथ्यांकसहित भन्न सक्नुहुन्छ?

९) महिला र बालबालिका सुरक्षा– ‘दिदीबहिनीमाथि दुव्र्यवहार गरे जेल’ भन्ने नारा थियो। यो अवधिमा सप्तरीमै मात्रै दाईजोकै कारण २/३ जना महिलाको हत्या नै भएको घट्ना सार्वजनिक भए। त्यस वेला तपाई कहाँ हुनुहुन्थ्यो। महिलामाथि दुर्व्यवहार भएका कति घटना दर्ता भए, कति दोषी जेल गए?

१०) फ्री वाई–फाई र सीसीटीभी जोन– नगरका कुन–कुन सार्वजनिक स्थानमा फ्री वाई–फाई छ? कति सीसीटीभी जडान भए?

११) रोजगारी र उद्योग– ‘घर–घर रोजगारी’ भन्ने वाचा थियो। कति स्थानीय उद्योग खुले? कति युवाले रोजगारी पाए? सूची सार्वजनिक छ?

१२) वैदेशिक रोजगारबाट फर्केकाहरू– फर्केकालाई सीपअनुसार काम दिने भनियो। कति जना लाभान्वित भए? कार्यक्रम किन सुनिँदैन?

१३) नाला र जलनिकास– वर्षामा बस्ती डुब्ने समस्या समाधान गर्ने भनियो। कुन–कुन नाला बने? कुन बस्ती सुरक्षित भयो?

१४) घरविहीनका लागि आवास– वार्ड–वार्डमा सामुदायिक आवास बनाउने भनियो। एउटा पनि बनेको छ?

१५) कृषिमा क्रान्ति– किसान कार्ड, बीउ, मल, सिंचाइ, कोल्ड स्टोर—यीमध्ये कुन कार्यान्वयन भयो? किसानको आम्दानी बढेको प्रमाण के हो?

१६) एउटै आधारभूत प्रश्न– यदि ०७९ का १५ बुँदामध्ये एउटै पनि पूर्ण रूपमा कार्यान्वयन भएन भने, ०८२ का नयाँ बाचामा मतदाताले किन विश्वास गर्ने?

१७) नैतिक प्रश्न– घोषणापत्र कार्यान्वयन नगरी फेरि उही क्षेत्रमा उम्मेदवार हुनु राजनीतिक जिम्मेवारी हो कि मतदातामाथिको छल?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट