घण्टीको उन्माद, बालेनको करिश्मा र भीडको अन्धविश्वासः प्रश्न गर्न नपाइने ‘नयाँ राजनीति’को खतरनाक मोड (टिप्पणी)

राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिह्न घण्टी र बालेन्द्र साह (बालेन) आज नेपाली समाजमा यसरी सल्किरहेका छन् कि यसले भित्रभित्रै कति गहिरो प्रभाव पारिसकेको छ भन्ने अनुमान गर्नै गाह्रो छ। बालेनको चर्चा, लोकप्रियता र जहाँ–जहाँ पुग्छन् त्यहाँ देखिने भीडलाई सामान्य राजनीतिक उत्साह भनेर बुझ्नु ठूलो भूल हुनेछ।

जनकपुरपछि पूर्वी नेपाल हुँदै पश्चिमतर्फ लाग्दा उनलाई मिलेको स्वागत, नाराबाजी र भावनात्मक समर्थनले स्पष्ट संकेत गरिसकेको छ—यो केवल चुनावी लहर होइन, यो ‘मास साइकोलोजी’ हो। पूर्वका जिल्लामा बालेनले पाएको रेस्पोन्स देखेपछि नेकपा एमाले आज स्पष्ट रूपमा विचलित देखिन्छ। कांग्रेस भने एक पटक हारे हारौंला, फेरि उठ्नुपर्छ भन्ने मनोविज्ञानमा छ। तर यो चुनावमा रास्वपाले केही ‘भयंकर’ गर्ने निश्चित देखिन्छ। त्यो भयंकर कति गहिरो र कति टाढासम्म जाने हो, त्यसको आँकलन अहिले कसैले गर्न सक्दैन। किनकि यो लहर तर्क, प्रमाण, विधि र पद्धतिभन्दा माथि उक्लिसकेको छ।

हिजो मिडियाले ‘केपी शर्मा ओलीले पार्टी चलाउन भाटभटेनीका मालिक मिनबहादुर गुरुङसँग किन नैतिकता बेचेर दान लिए’ भनेर प्रश्न उठाउँदा हजारौंले समर्थन गर्थे। प्रचण्ड किन कामचोर ठेकेदार सारदा प्रसाद अधिकारीको घरमा बस्छन्, उनको हातको रोलक्स कसले किनिदियो, उनकी छोरी गंगाले बोक्ने गुचीको ब्याग कस्को पैसाले खरिद गरियो ?’ भनेर प्रश्न गर्दा पनि समाजले त्यसलाई जायज ठान्थ्यो।

तर आज नागरिकतामै शंका, शंकास्पद व्यापार र विवादले घेरिएका उद्योगी कमल मालपानीको आठ करोडको गाडी बालेन किन चढिरहेका छन् ? भनेर प्रश्न गर्दा त्यही समाज उल्टै प्रश्नकर्तामाथि जाइलाग्छ—‘कांग्रेस–एमालेको दानापानी खाने, मासुभाते मिडिया’ भन्दै।

यो अवस्था यतिसम्म पुगेको छ कि बालेनले आफ्नै मतदाता कुटे भने पनि समर्थकले ‘एआईले बनाएको भिडियो हो’ भनिदिन बेर छैन। कालोलाई रातो र रातोलाई पहेँलो भने पनि भीडले तालि बजाउनेछ। रङ्ग छुट्याउने आँखा नयाँ पुस्ताले बनाउने तर्क पनि आउन सक्छन्। अहिले समाज बालेनबारे कुनै पनि नकारात्मक कुरा सुन्न तयार छैन, बरु जसले प्रश्न गर्छ, उसैमाथि आक्रमक हुन्छ।

यो मास साइकोलोजीको खतरनाक रूप हो। एउटा व्यक्ति आक्रोशित हुन्छ भने त्यो उसका शब्द र लेखाइमा पोखिन्छ। तर जब पूरै समाज एकोहोरो हुन्छ, त्यही आक्रोशले देश जलाउँछ। विवेक मर्छ, मानवता हराउँछ। भदौ २३ पछि काठमाडौंमा यही भयो, २४ गते त्यसको नतिजा देखियो। टिकापुरमा रेशम चौधरीले भीडलाई एकोहोरो बनाउँदा निर्दोष प्रहरी र एक नाबालकसहित आठ जनाको ज्यान गयो। गौर नरसंहारमा पनि उस्तै भयो—राजनीतिक उन्मादले मानिस मरे।

आज बालेन लोकप्रियताको शिखरमा छन्। धेरैका लागि उनी आशा बनेका छन्, ठीक त्यस्तै जसरी ०६४ मा प्रचण्ड बनेका थिए। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ‘बाबुरामलाई काम गर्न देऊ’ भन्दै यही समाजले अभियान चलाएको थियो। आज तिनै बाबुराम ‘भारुराम’, ‘अस्थिर’ र ‘पढेलेखेको लम्पट’ भनेर गाली खाइरहेका छन्।

अब, प्रचण्डको रोलेक्स घडी र गंगाको ब्यागबारे प्रश्न उठ्न मिल्छ भने बालेनको आठ करोडको गाडीबारे प्रश्न उठाउन किन नमिल्ने? अर्कोतर्फ बालेनको शैली, आचारण र तथ्यको पनि कुरा गरौं। उनी आफ्ना मतदाताप्रति कहिल्यै उत्तरदायी भएनन्। प्रश्नको जवाफ दिएनन्, मतदातासँग संवाद गरेनन्। नागरिकसँग जम्का भेट नहोस् भनेर कार्यालयमा छुट्टै लिफ्ट बनाए। ‘गरिबको चमेली बोल्दिने कोही छैन…’ भन्दै गीतमार्फत गरिबको भावनामा खेलेर मत लिएका उनले मेयर बनेपछि गरिब र निमुखामाथि नै लाठी बर्साए। करिब एक लाख मानिसलाई काठमाडौंबाट विस्थापित गराएको आरोप सामान्य होइन। सुकुम्बासीका झुप्रामा डोजर चल्दा पनि बालेनको अनुहारमा पीडा, दया वा करुणा देखिएन।

काठमाडौंमा पाँच वर्षको जिम्मेवारी लिएर साढे तीन वर्षमै छोड्दा ‘म यो कारणले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने भएँ’ भनेर मतदातासँग एक शब्द आभार व्यक्त गरेनन्। साढे तीन वर्षमा एक पटक पनि मिडिया फेस गरेनन्, मतदाता कहाँ फर्किएनन्, ज्ञापनपत्र लिएर आउनेलाई पनि भेटेनन्।

नि:सन्देह, उनले काठमाडौंमा केही सुधार गरे। तर उनले गर्न सक्ने र गर्नै पर्ने काम दर्जनौं थिए। गरेको काम तिलको गेडो जत्रो र नगरेको काम हात्ती जत्रो छ। तर यो सत्य बोल्ने आँट अहिले कसैसँग छैन। बोलेको खण्डमा ‘एमालेको झोले’ वा ‘मासुभाते’को ट्याग लाग्छ।

झापा–५ मा उम्मेदवारी दिँदा उनीभन्दा उमेरले पाका मानिस फोटो खिच्न आउँदा पनि उनी कुर्सीमा राजसी ठाँटमा बसे। जनता उभिएर फोटो खिचेर गए। सम्मानका लागि उठिदिँदा के उनको साइज घट्थ्यो? मत घट्थ्यो?

हामी नेपाली वर्षौंदेखि लि क्वान यु र मोहम्मद महाथिरको कथाबाट मोहित छौं। त्यसैले हामीलाई पनि कुनै चमत्कारी पुरुष चाहिएको छ, जसले एकै रात चमत्कार गरिदियोस्। तर यथार्थमा यस्तो चमत्कार हुँदैन। भोलि बालेन प्रधानमन्त्री बनेर इमानदार भए पनि उनको पार्टीका सांसदले साथ नदिए टिक्न सक्छन? लि क्वान यु र महाथिर सफल हुनुको कारण उनीहरूको बलियो टिम थियो। पर्दामा एउटा पात्र देखिए पनि पर्दापछाडि सामूहिक इच्छाशक्ति थियो।

त्यसैले एक व्यक्तिले सबै बदलिदिन्छ भन्ने कल्पना केवल हिन्दी फिल्म ‘नायक’मा मात्रै सम्भव हुन्छ। व्यक्तिलाई एकैछिनमा भगवान बनाउने र फेरि राक्षस बनाउने हाम्रो समाजको यही प्रवृत्ति सबैभन्दा घातक हो।

यति भन्दै गर्दा ‘के बालेनलाई छोडेर हत्यारा र अपुत्रो केपी ओलीलाई समर्थन गर्ने त ?’ भनेर प्रश्नको वर्षा हुन सक्छ। तर, यो प्रश्न धेरै पहिला नै गर्नु पर्ने थियो। किनकी महाकाली सन्धी राष्ट्रघाती भन्नेहरूले नै शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बनाए। नेकपा कालमै ओलीलाई हटाउनुपर्ने आवाज उठेपनि झापा–५ का जनताले फेरि जिताई दिए। महाकाली सन्धी जस्तै जनताको मनमा विझेको एमसीसी पनि हो। के एमसीसीका पक्षधर गगन थापा, स्वर्णिम वाग्ले र प्रचण्डलाई जनताले साँच्चै सजाय दिन्छन् त? विश्वास गर्न गाह्रो छ।

तसर्थ, कसैले नेतालाई भगवान बनाएर पूजा गरून्, त्यो उनीहरूको अधिकार हो। तर भगवान बनाइए पनि भगवान प्रश्नभन्दा माथि हुँदैनन्। त्यसमाथि सुशासन र रामराज्यको कुरा गर्नेहरूको अपारदर्शी जीवनशैली, स्रोत र आचरणमाथि प्रश्न उठिरहनेछ। प्रश्न रोकियो भने त्यही दिन लोकतन्त्र मर्छ—र भीड मात्र बाँकी रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट