केपी ओली र गगन थापासहित नेपाली नेताहरूको नाम र फोटो प्रयोग गरी ठगी धन्दा चलाउँदै आएका अमेरिकी नागरिक पक्राउ

काठमाडौँ— नेपाली राजनीतिका ठूला नाम र सार्वजनिक छविलाई ‘ढाल’ बनाएर एक जना अमेरिकी नागरिकले रकम संकलन गरेको सनसनीपूर्ण प्रकरण बाहिरिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि आरजु राणा देउवा, महेश बस्नेत, विनोद चौधरीसम्मका चर्चित अनुहारहरूको नाम र तस्बिर प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने जालो बुनिरहेका ति ब्यक्तिलाई अध्यागमन विभागले पक्राउ गरेको छ।

यो कुनै सामान्य ठगी होइन, बरु नेपाली राजनीति र संस्थागत विश्वसनीयतालाई नै व्यापारिक ‘ब्रान्ड’ बनाएर पैसा असुल्ने सुनियोजित प्रयास भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ती ब्यक्तिले कलेज सञ्चालनको नाममा तयार पारेको वेबसाइटमा ‘आवर डाइनामिक टिम’ शीर्षकमा राष्ट्रियस्तरका नेताहरूलाई आफ्नै टोलीका सदस्यझैं प्रस्तुत गरिएको छ। वेबसाइटमा राखिएका तस्बिर र नाम हेर्दा मानौँ ती सबै नेता उक्त संस्थासँग प्रत्यक्ष आवद्ध छन् भन्ने भ्रम सिर्जना हुन्थ्यो।

अध्यागमनका अनुसार केपी शर्मा ओली, गगन थापा, आरजु राणा देउवा, महेश बस्नेत, विनोद चौधरीसहित कम्तीमा १३ जना चर्चित नेपाली व्यक्तित्वको नाम प्रयोग गरिएको पाइएको छ। यति मात्रै होइन, ‘लाइब्रेरी’, ‘क्याम्पस सर्भिस’ र ‘एडमिनिस्ट्रेसन टिम’ जस्ता शीर्षकमा अन्य प्रतिष्ठित नेपालीहरूको नामसमेत राखेर संस्थालाई वैध र शक्तिशाली देखाउने प्रयास गरिएको थियो।

‘निकलेज इडीयू एनपी’ नामक वेबसाइटमार्फत कोरियन भाषा, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिजजस्ता आकर्षक कोर्स पढाइने दाबी गरिएको थियो। अझ चकित पार्ने कुरा के छ भने उक्त कलेजलाई त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको भनेर प्रचार गरिएको थियो। तर सम्बन्धनको कुनै आधिकारिक प्रमाणपत्र पेश गर्न नसक्दा त्यो दाबी झूटो सावित भएको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले जानकारी दिए।

अनुसन्धानका क्रममा पक्राउ परेका ती अमेरिकी नागरिक सन् २०१४ देखि नेपाल आवतजावत गर्दै आएको खुलेको छ। करिब १२ वर्षको अवधिमा ५० भन्दा बढी पटक नेपाल आएको अभिलेख भेटिएको छ। उनी कहिले पर्यटक, कहिले वर्किङ, त कहिले व्यवसायिक भिसामा नेपाल पसेको देखिन्छ। लामो समयसम्म यस्तो आवागमन हुँदा पनि सम्बन्धित निकायले गम्भीर निगरानी नगर्नु आफैंमा राज्य संयन्त्रको कमजोरीको संकेत हो।

व्यवसायिक भिसाको आधार बनाउन उनले नेपालमा ‘कमसिड नेपाल प्रालि’ नामक कम्पनी दर्ता गरेको तथ्य पनि खुलेको छ। त्यस कम्पनीको आवरणमा विभिन्न गतिविधि सञ्चालन गरिएको र ‘चर्च प्लान्टिङ’ लगायतका काममा संलग्न रहेको प्रमाणसमेत फेला परेको स्रोत बताउँछ। शिक्षा, धर्म र राजनीति— तीनै संवेदनशील क्षेत्रलाई मिसाएर वैदेशिक फण्ड उठाउने रणनीति बनाइएको आशंका छ, जसले यो प्रकरणलाई अझ गम्भीर बनाएको छ।

सबैभन्दा ठूलो प्रश्न भनेको ‘कसरी एक विदेशी नागरिकले नेपालको शीर्ष राजनीतिक नेतृत्वको नाम, फोटो र पहिचान खुला रूपमा प्रयोग गर्दै वर्षौंसम्म वेबसाइट चलायो, पैसा उठायो, र कसैको नजरमा परेन?’ भन्ने हो। यो केवल व्यक्तिगत ठगी मात्र होइन, राज्यको नियमन प्रणालीमाथिको ठाडो चुनौती पनि हो। राजनीतिक व्यक्तित्वको नाम बेचेर अन्तर्राष्ट्रिय बजारमा रकम संकलन हुनु भनेको राष्ट्रिय प्रतिष्ठामाथि सीधा प्रहार हो।

अध्यागमनले पक्राउपछि थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट