काठमाडौँमा ट्रकको ठक्करले ट्राफिक प्रहरी इन्स्पेक्टरको ज्यान गयो
काठमाडौँ — राजधानी काठमाडौँमा ट्रकको ठक्करबाट ३३ वर्षीय ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको ज्यान गएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए लामा चैत २९ गते राति ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा तारकेश्वर नगरपालिका अन्तर्गत डाँडागाउँ क्षेत्रमा दुर्घटनामा परेका थिए। नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दिएको थियो। उनी गम्भीर घाइते भएका थिए।
अचेत अवस्थामा पुगेका उनलाई तत्काल उद्धार गरी महाराजगञ्जस्थित टिचिङ अस्पताल पु¥याइएको थियो। प्रारम्भिक उपचारपछि थप जटिल अवस्था देखिएपछि उनलाई ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा सारिएको थियो, जहाँ चिकित्सकहरूको निरन्तर प्रयासका बावजुद अन्ततः उनको ज्यान गएको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार लामाको उपचारका क्रममा आज निधन भएको पुष्टि गरिएको हो। उनले लामालाई कर्तव्यनिष्ठ र सक्रिय प्रहरी अधिकृतका रूपमा स्मरण गर्दै दुर्घटनाले प्रहरी संगठनलाई ठूलो क्षति पुगेको बताएका छन्।
