सप्तरीमा ‘रकेट’ जस्तो वस्तु विस्फोट, वनभोज गएका ४ बालक घाइतेः अभ्यासस्थलमै छोडिएको सैन्य सामग्री त होइन?
राजविराज — सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार भेटिएको ‘रकेट जस्तो’ शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। बालकहरूले खेलौना ठानेर चुल्हो नजिक राखेको उक्त वस्तु केहीबेरमै ठूलो आवाजसहित पड्किएपछि घटनास्थल त्रासदीमा परिणत भएको हो।
स्थानीयका अनुसार वनभोज खान पुगेका बालकहरूले खोलामा भेटिएको धातुजन्य वस्तुलाई खेलौना सम्झिएर दाउरासँगै जम्मा गरेर राखेका थिए। तर चुल्होको ताप बढेसँगै उक्त वस्तु अचानक विस्फोट हुँदा छर्रा चारैतिर उडेको थियो। विस्फोटको असरले बालकहरू जमिनमै लडेका थिए भने वरपर रहेका अन्य मानिसहरू आतंकित भएर भागेका थिए।
विस्फोटमा परी सोही क्षेत्रका साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका छन्। उनीहरूको खुट्टा, हात र शरीरका विभिन्न भागमा छर्रा लागेको छ।
प्रारम्भिक उपचारपछि उनीहरूलाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीबाट थप उपचारका लागि राजविराज सारिएको छ। घटना सामान्य ‘खेलौना विस्फोट’ मात्र हो कि त्यसपछाडि गम्भीर लापरवाही लुकेको छ भन्ने प्रश्न अहिले स्थानीयस्तरमा तीव्र रूपमा उठ्न थालेको छ।
दुधैला खोला आसपासको क्षेत्र नेपाली सेनाको अभ्यासस्थलका रूपमा प्रयोग हुने गरेको भन्दै स्थानीयले आशंका व्यक्त गरेका छ। ‘सेनाले अभ्यासका क्रममा प्रयोग गरेको वा असफल भएर छोडिएको विस्फोटक सामग्री नै खोलामा बाँकी रहेको त होइन?’ भन्ने स्थानीयको आशंका छ।
यदि त्यस्तो हो भने यो केवल दुर्घटना मात्र नभई घोर लापरवाहीको परिणाम हुनसक्ने स्थानीयको तर्क छ। बालबालिका घुम्न जाने सार्वजनिक स्थानमै विस्फोटक सामग्री भेटिनु सुरक्षा निकायका लागि गम्भीर प्रश्न बनेको छ। ‘खेलौना’ जस्तो देखिए पनि त्यसले वास्तविक बमसरह क्षति पु¥याएको तथ्यले जोखिम कति गम्भीर थियो भन्ने स्पष्ट देखाउँछ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बालकहरूले भेटाएको रकेट जस्तो वस्तु नै विस्फोट भएको प्रारम्भिक बुझाइ रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्। उनले घाइते बालकहरूको अवस्था सामान्य रहेको जानकारी दिए पनि वस्तुको प्रकृति र स्रोतबारे स्पष्ट जवाफ अझै आउन सकेको छैन।
