प्रेम प्रस्ताव अस्वीकृत भएपछि प्रतिशोधका लागि विषको सुई हानेर छात्राका बुवाको हत्या, सिरहाका युवक पक्राउ

दमक— एकतर्फी प्रेम अस्वीकृति भएपछि प्रतिसोध लिन सिरहाका एक युवकले झापामा एक ब्यक्तिको हत्या गरेका छन्। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत जुनियर छात्राले प्रेम प्रस्ताव अस्वीकार गरेपछि रिस र प्रतिशोधले अन्धो बनेका सिरहाका मेडिकल विद्यार्थीले २६ वर्षीय दिपेशकुमार सिंहले ती छात्राका बुवाको योजनाबद्ध हत्या गरेका हुन।

सिंहले भद्रपुर नगरपालिका–१० त्रिवेणी टोलका ६६ वर्षीय अवकाशप्राप्त शिक्षक खेमराज ढकालको हत्या गरेका हुन। एनेस्थेसियामा प्रयोग हुने ‘प्रोपोफोल’ नामक शक्तिशाली औषधि सिरिन्जमार्फत हानेर ढकालको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

शल्यक्रिया अघि बिरामीलाई बेहोस बनाउन प्रयोग हुने यो औषधि अत्यधिक मात्रामा प्रयोग हुँदा सिधै ज्यान जान सक्छ। त्यही घातक केमिकल नै हतियार बनाएर ढकालको ज्यान लिइएको हो। बिहीबार साँझ करिब ६ बजेर २० मिनेटतिर आफ्नै घरमा बसिरहेका ढकाललाई अभियुक्तले एक्कासी घाँटीमा सुई प्रहार गरेका थिए।

अवस्था गम्भीर बनेपछि परिवारले तत्काल अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। बाहिरबाट हेर्दा सामान्य सुईजस्तो देखिने तर भित्रैदेखि ज्यान सिध्याउने यो ‘शान्त हतियार’ प्रयोग भएको तथ्यले घटनालाई झनै रहस्यमय र क्रूर बनाएको छ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिंहलाई पक्राउ गरेको छ। सिंह प्रतिष्ठानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। चिकित्सक बन्ने बाटोमा रहेका व्यक्ति नै यस्तो जघन्य अपराधमा संलग्न हुनु विडम्बनापूर्ण मात्रै होइन, समाजका लागि डरलाग्दो संकेत पनि हो।

प्रहरीका अनुसार यो हत्या आकस्मिक नभई पूर्ण योजनाबद्ध थियो। सिंहले मृतककी छोरीलाई प्रेम प्रस्ताव राखेका थिए। प्रस्ताव अस्वीकार भएपछि उनी आक्रोशित बनेका थिए। त्यसपछि उनले ती छात्राको फोटो सम्पादन गरेर बदनाम गर्ने प्रयाससमेत गरेका थिए। यस विषयमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको थियो। तर त्यही रिस र प्रतिशोधले अन्ततः निर्दोष बुवाको ज्यान लिएको प्रहरीले जनाएको छ।

अनुसन्धान अनुसार सिंह बिहीबार बिहानैदेखि ढकालको घर वरपर घुमफिर गर्दै ‘रेकी’ गरिरहेका थिए। ‘शिक्षक चाहिएको’ बहाना बनाएर घरभित्र प्रवेश गरेका उनले अवसर पाउनेबित्तिकै सुई प्रहार गरेका थिए। मेडिकल ज्ञानलाई उपचार होइन, हत्या गर्न प्रयोग गरिएको यो घटनाले नैतिकता र पेशागत जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सिरिन्जमा प्रयोग गरिएको औषधिको प्रयोगशाला परीक्षण भइरहेको छ। पक्राउ परेका सिंहमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट