जितेन्द्र नारायण देवको निरन्तर युटर्नले उठायो विश्वसनीयताको प्रश्नः ‘घर फिर्ता’को श्रृंखला कहिलेसम्म ?

राजविराज– नेपाली राजनीतिक वृत्तमा फेरि एकपटक ‘घर फिर्ता’को भाषणले सवैलाई चकित पारेको छ। घर फिर्ताका घोषणा गर्दै पार्टी परिवर्तन गर्ने पात्र हुन— संविधानसभा सदस्य, पूर्वमन्त्री र लामो समयदेखि वाम राजनीतिका बौद्धिक अनुहारका रूपमा चिनिएका जितेन्द्र नारायण देव।

केही दिनअघि मात्र नेकपा एमाले परित्याग गरेका उनले अब भने नेपाली कांग्रेसमै फर्किएको औपचारिक घोषणा गरेका छन्। तर प्रश्न उठिरहेको छ— आखिर ‘घर’ कति वटा हुन्छन् ? र घर फिर्ता कति पटक सम्भव छ ?

देवले सार्वजनिक विज्ञप्तिमार्फत विशेष राष्ट्रिय महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता जनाएका छन्। उनले नवीन नीति, अग्रामी सोच र सामाजिक–राजनीतिक रूपान्तरणको प्रतिबद्धतामा आफू जोडिएको दाबी गरेका छन्। तर यो प्रतिबद्धता कति दीर्घकालीन हुन्छ भन्ने प्रश्न उनको विगतले नै उठाइदिएको छ।

देवको राजनीतिक यात्रा हेर्दा स्पष्ट देखिन्छ— उनी स्थायित्वभन्दा परिवर्तनका पात्र बढी बनेका छन्। एमालेबाट उदाएका, संघीयता र पहिचानको मुद्दामा असन्तुष्टि जनाउँदै मधेशकेन्द्रित राजनीतिमा लागेका, त्यहाँबाट फोरम लोकतान्त्रिक हुँदै कांग्रेस पुगेका, कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका, त्यसपछि फेरि १७ वर्षपछि एमाले फर्किएका र केही महिनामै पुनः एमाले त्यागेका। यो क्रम सामान्य दल परिवर्तन मात्र होइन, निरन्तर युटर्नको श्रृंखला जस्तो देखिन्छ।

२०८१ असारमा च्यासल पुगेर एमाले प्रवेश गर्दा देव भावुक देखिएका थिए। उनले आफूलाई नेता नभई कार्यकर्ता बनाउन आग्रह गर्दै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको प्रशंसा गरेका थिए। पार्टीलाई आत्मविश्वासी र शक्तिशाली संगठन भन्दै ‘नयाँ ऊर्जा’का साथ फर्किएको दाबी गरेका थिए। तर केही महिनामै उनले त्यही पार्टीलाई व्यक्तिवादी, देवत्वकरणतर्फ उन्मुख र स्वेच्छाचारी कार्यशैली अपनाएको आरोप लगाउँदै परित्याग गरे। प्रश्न उठ्छ— यति छोटो अवधिमा पार्टीको चरित्र बदलियो कि देवको धारणा ?

राजविराजमा आयोजित कार्यक्रममा कांग्रेस प्रवेश गर्दा उनलाई फूलमाला र अबिर लगाएर स्वागत गरियो। जिल्ला नेतृत्वदेखि राष्ट्रिय तहका नेताहरू उपस्थित थिए। उनले फेरि एकपटक नयाँ सुरुवातको सन्देश दिए। तर राजनीतिक वृत्तमा चर्चा भने स्वागतभन्दा बढी शंकाको छ। पटक–पटकको दल परिवर्तनले उनी वैचारिक राजनीतिका प्रतिनिधि हुन् कि परिस्थितिजन्य अवसरवादका, भन्ने बहसलाई बल दिएको छ।

देवका समर्थकहरू भन्छन— एमालेभित्र असहमत आवाज दबाउने प्रवृत्ति बढेको छ र उनले त्यसविरुद्ध आवाज उठाएका हुन्। आलोचकहरू भने उल्टै प्रश्न गर्छन— यदि पार्टीभित्र लोकतन्त्रको अभाव थियो भने केही महिनाअघि फर्किंदा त्यो देखिएन? वा त्यतिबेला वैचारिकभन्दा भावनात्मक निर्णय भयो ?

देवको बहिर्गमन र पुनः प्रवेशले एमालेभित्रको आन्तरिक लोकतन्त्रबारे पुराना प्रश्न फेरि सतहमा ल्याएको छ। साथै कांग्रेसभित्र पनि उनी कति स्थिर रहन्छन् भन्ने चासो बढेको छ। गगन थापा नेतृत्वको कार्यसमितिमा प्रतिबद्धता जनाए पनि देवको अघिल्लो राजनीतिक ट्रयाक रेकर्डले दीर्घकालीन निष्ठामाथि संशय उब्जाएको छ।

नेपाली राजनीतिमा दल परिवर्तन नयाँ कुरा होइन। तर एउटै नेताले छोटो–छोटो अन्तरालमा ‘घर फिर्ता’ र ‘घर त्याग’ दोहोर्याइरहँदा त्यो केवल व्यक्तिगत यात्रा मात्र रहँदैन, त्यसले समग्र राजनीतिक संस्कृतिमाथि प्रश्न उठाउँछ। विचार स्थिर नहुने कि सत्ता समीकरणअनुसार निर्णय बदलिने ?

जितेन्द्र नारायण देवको पछिल्लो कदमले दुई सन्देश दिएको छ। पहिलो— एमालेभित्र असन्तोष र केन्द्रीकरणको बहस जीवित छ। दोस्रो— देव स्वयंको राजनीतिक विश्वसनीयता निरन्तर परीक्षणमा छ। अबको चुनौती केवल पार्टी परिवर्तन होइन, स्थायित्व र स्पष्ट वैचारिक रेखा देखाउनु हो। नत्र ‘घर फिर्ता’को कथा फेरि अर्को मोडमा दोहोरिन कति समय लाग्छ भन्ने प्रश्न खुलै रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट