गौरमा साम्प्रदायिक दंगा भड्काउने मुख्य योजनाकार खोज्दै प्रहरी, सीके राउतका नेता शेख जमशेद सुरक्षा रडारमा

जनकपुर– रौतहटको गौर नगरपालिका–६ सबगढामा साम्प्रदायिक तनाव बढाउन जनमत पार्टीका जिल्ला संयोजक तथा पूर्व वडाध्यक्ष शेख जमशेदको भूमिकालाई सुरक्षा निकायले अनुशन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा जमशेदको भुमिकाका संकेतहरु देखिएको जनाईएको छ।

सुरक्षा स्रोतका अनुसार शान्त भइसकेको वातावरण पुनः तनावग्रस्त बन्नुको पछाडि योजनाबद्ध उक्साहट रहेको र यसको केन्द्रमा जमशेदको भूमिका रहेको आशंका गरिएको छ। शेख जमशेद पूर्व वडाध्यक्ष थिए र यसअघि रौतहट निर्वाचन क्षेत्र–२ (क) बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार थिए। उनले ५ हजार ४ सय ७४ मत प्राप्त गरेका थिए।

त्यसपछि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरी जिल्ला संयोजक बनेका हुन्। सुरक्षा निकायले उनका सामाजिक सञ्जाल गतिविधि, स्थानीय भेटघाट तथा घटनापूर्व र घटनापछि सम्पर्कलाई विश्लेषण गर्दै स्थिति नियन्त्रणमा राख्न खोजिरहेको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटमा दुवै समुदायबीच सहमति कायम भइसकेको थियो। तर शनिबार बिहानैदेखि अचानक अवस्था तनावपूर्ण बनेको छ। प्रारम्भिक स्रोतका अनुसार विवाद पुनः भड्किनुको पछाडि ‘पछाडिबाट चलाइएको उक्साहट’ रहेको देखिन्छ। हालसम्म कसैविरुद्ध आधिकारिक मुद्दा दर्ता भएको छैन, तर प्रमाण संकलन प्रक्रिया तीव्र रुपमा अघि बढिरहेको प्रहरी स्रोतले जनाएको छ।

विवाद बिहेको बाजा र सांस्कृतिक गतिविधिसँग सम्बन्धित रहेको थियो। तनाव बढ्दै गएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गरी नियन्त्रणमा ल्याउने प्रयास गरेको थियो। शनिबार बिहानदेखि भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल व्यापक परिचालनमा छन्। गौर नगरपालिका–४ मचकुटिया टोलमा स्कुटरमा आगजनी र आधा दर्जन सवारी साधनमा क्षति पुगेको छ। प्रशासनले पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालय क्षेत्रभित्र कफ्र्यु जारी गरेको छ।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले दुवै समुदायलाई संयमता अपनाउन अपिल गरेका छन्। उनले हिन्दु र मुस्लिम दुवै समुदायको जीवन र सुरक्षा जोखिममा नपर्ने गरी आपसी सम्मान र संवादबाट मात्र समस्या समाधान सम्भव हुने बताएका छन्। नेपालले आफू र गृहमन्त्री, डीआईजी तथा प्रमुख जिल्ला अधिकारीसँग निरन्तर समन्वय गर्दै सशस्त्र सुरक्षा परिचालन सुनिश्चित गरेको जानकारी पनि दिएका छन्।

सुरक्षा निकायले घटनास्थलको निगरानी कडा पार्दै अनुसन्धान जारी राखेको छ। आवश्यक प्रमाण संकलनपछि कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको बताइएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न र सामाजिक सद्भाव कायम राख्न चेतावनी जारी गरेको छ।

गौरमा फेरि उक्साहट र राजनीतिक चलखेलले समुदायबीच तनाव बढाएको यो घटना स्थानीय राजनीतिक दांवपेंच र चुनावी प्रतिस्पर्धासँग गहिरो सम्बन्धित देखिन्छ। शेख जमशेदको सम्भावित संलग्नता र पार्टीगत प्रभावकारिताले यो मामिला अझ जटिल र संवेदनशील बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट