रौतहटको कर्फ्यु वीरगञ्जमा सर्यो, दुई समुदायबीच तनाव कायमै
जनकपुर — रौतहट जिल्लामा केही दिनयता जारी कर्फ्यु आज बिहानबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख भएअनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान १० बजेदेखि खारेज गरिएको छ।
गत फागुन ७ गते दुई समुदायबीचको झडपपछि सुरु भएको तनाव पछिल्ला दिनमा शान्त हुँदै गएको प्रशासनको मूल्यांकनमा देखिएकोले कर्फ्यु हटाइएको जनाएको छ। प्रशासनले स्थानीय सुरक्षा अवस्था निगरानीमा राख्ने तथा कुनै पनि आकस्मिक स्थिति उत्पन्न भएमा तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
तर, पर्सा जिल्लामा स्थिति अझै तनावपूर्ण छ। वीरगञ्ज महानगरपालिकाभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। पर्सा जिल्ला प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनका आधारमा सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु कायम रहने बताएको छ।
कर्फ्यु अवधिमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउमा पूर्ण रूपमा रोक लगाइएको छ। पर्सामा तनावको मूल कारण आइतबार राति श्रीपुर क्षेत्रमा सवारी साधन पार्किङको सामान्य विवाद थियो, जुन दुई समुदायबीचको झडपमा परिणत भयो।
उक्त घटनामा करिब आधा दर्जन व्यक्ति सामान्य घाइते भएका थिए भने प्रहरीले रातीनै एक जनालाई नियन्त्रणमा लिएको थियो। सुरक्षा बलले रातको समयमा स्थितिलाई नियन्त्रणमा ल्याए पनि सोमबार बिहान पुनः तनाव बढेपछि प्रशासनले कफ्र्यू लागू गर्न बाध्य भएको छ।
विश्लेषकहरूका अनुसार रौतहटमा सुरक्षा स्थिरता देखिए पनि पर्सा जस्ता संवेदनशील क्षेत्रहरूमा सामाजिक विवादले तत्काल नियन्त्रण आवश्यक देखिएको छ। स्थानीय प्रशासन र प्रहरी बलले सतर्कता अपनाएर आवत–जावत र सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिरहेका छन्।

