भाषणभन्दा व्यवहारको खोजीः राजविराजका सञ्जिव उपाध्यायको स्ट्याटस र श्यामसुन्दर यादवको अनुभवले मोडियो चुनावी बहस
राजविराज– मुलुक यतिवेला चुनावी सरगर्मीमा डुबेको छ। गाउँ–सहरदेखि बजारसम्म उम्मेदवारहरू आफ्ना वाचा बेचिरहेका छन्, भाषण र प्रचारका स्वरहरू बढ्दै गएका छन्, र मतदाताहरू पनि आ–आफ्नै पक्षको ढोल पिटिरहेका छन्। तर यही भीडभाड र प्रचारको बीचमा केही यस्ता मतदाता पनि छन्, जो नेताका चर्का भाषण, क्षणिक लाभ, बिहान–बेलुकाको जुगाड र गाना–बजाना भन्दा अलि टाढा बसेर हिजो र आजको अवस्थालाई नापतौल गर्दै भोलिको चिन्ता गरिरहेका छन्। भोलिका लागि सोचिरहेका छन्।
यस्तै सोच र अनुभव बोकेर बसेका व्यक्तिमध्ये एक हुन—सप्तरीको राजविराजलाई कर्मथलो बनाएर लामो समयदेखि संघर्षरत सञ्जिव उपाध्याय, जसलाई धेरैले ‘नेपाली बन्धु’ भनेर चिन्छन्। सञ्जिव उपाध्याय कुनै ठूलो राजनीतिक पद वा चम्किलो परिचयका कारण चर्चित व्यक्तित्व नहुन सक्छन्, तर संघर्षको मैदानमा उभिएको एउटा जिउँदो इतिहासका रूपमा उनलाई चिन्नेहरू कम छैनन्। उनले सप्तरीको हरेक हावा–पानी छिचोलेका छन्।
राजविराजमा कुनै समय पहाडे समुदायको बलियो उपस्थिति थियो, तर समयसँगै त्यस समुदायको लगभग पलायनसम्मको अवस्था कसरी आयो भन्ने कुरा उनले आफ्नै आँखाले देखेका छन्। मधेश आन्दोलनका विभिन्न चरणदेखि माओवादी जनयुद्धसम्मका उथलपुथल, जयकृष्ण गोइत वा ज्वाला सिंहका सशस्त्र गतिविधि, नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा भएको मलेठ काण्ड, वा सीके राउत पृथक्तावादी आन्दोलन। यी सबै आरोह–अवरोह उनले राजविराजमै बसेर देखेका, भोगेका र पचाएका छन्।
समयसँगै राजविराजको सामाजिक संरचना र जनसांख्यिक स्वरूप पनि धेरै बदलिएको छ। पहाडे समुदायका मानिसहरू अहिले गिनेचुनेका मात्र बाँकी छन्। बचेखुचेका ब्यक्तिहरुका लागि कहिलेकाहीँ त समय यस्तो आउँछ, जहाँ बोलेको प्रत्येक शब्द तौलिनुपर्छ। मुलुकमा प्रजातन्त्र र लोकतन्त्र आएको दशकौँ बितिसक्यो, तर सञ्जिव उपाध्यायलाई लागेका सबै कुरा खुलेर बोल्ने अवसर उनले सधैं पाए कि पाएनन् भन्ने प्रश्न अझै बाँकी छ। वाक स्वतन्त्रता र मानवअधिकारका कुरा उनलाई थाहा त छन्, तर ती अधिकारको पूर्ण उपभोग गर्न पाएका छन–छैनन उनैलाई थाहा छ।
यद्यपि, यति सबै उतारचढावका बीच पनि उनी राजविराज छोडेर हिँडेका छैनन्। उनी त्यहीँ छन—संघर्षरत। व्यवसायी, समाजसेवी वा पूर्व पत्रकार—जे भनेर चिनिए पनि सञ्जिव उपाध्याय राजविराजमा एउटा मिसालको रूपमा उभिएका पात्र हुन।
यिनै उपाध्यायले हालै चुनावी माहोलबीच आफ्नो फेसबुक प्रोफाइलमा एक स्ट्याटस लेखे, जसले धेरैको ध्यान खिच्यो। उनले लेखेका थिए— ‘जे राइत १२ बजे अहाँके दुखमे साथ भ सकैय भोट हुनका देवै। हमर लेल राइत १२ बजे … (सप्तरी–२ का कुनै एक उम्मेदवार), अहाँके लेल?’ यस स्ट्याटसमा उनले आफ्ना विचार व्यक्त गर्दै मतदाताको सोच बुझ्न खोजेका छन्।
त्यसैमा उनि थप्छन्–‘संघिय निर्वाचन र हाम्रो अपेक्षा यहि रहन्छ कि उम्मेदवारले हाम्रो माटोको मर्म बोलोस, अनि त्यो बोली राज्यले सुनोस। सुन्दैन भने हाम्रो प्रतिनिधि लड्न सकोस र त्यो ओज’नि उनैसँग छ। हामिले महसुस गर्ने त आफ्नै माटो, आफ्नै भावना होइन र?’
उनको स्ट्याटसमा कसलाई संकेत गरिएको छ र के भन्न खोजिएको छ भन्ने छुट्टै वहसको विषय होला। तर, उक्त स्ट्याटसमा आएको एउटा टिप्पणी भने अहिले धेरैको ध्यानको केन्द्र बनेको छ। त्यो टिप्पणी लेख्ने व्यक्ति हुन— पत्रकार तथा मधेश प्रदेश अन्तर्गतको आम सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव। उनको टिप्पणीले राजनीतिक व्यवहार, सम्बन्ध र कठिन समयमा देखिने मानवीय पक्षलाई उजागर गरेको प्रसंगका रूपमा चर्चा पाएको छ।
श्यामसुन्दर यादवले आफ्नो टिप्पणीमा विस्तृत अनुभव साझा गर्दै लेखेका छन— आदरणीय दाइ (सञ्जिव उपाध्याय), यहाँले उठाउनुभएको कुरा सही हो। २०७२ सालतिरको कुरा हो, मधेश आन्दोलनका क्रममा दिनरात रिपोर्टिङमा खटिएको थिएँ। राती ११ बजेतिर अचानक म स्ट्रोक अट्याक भएर समाचार कक्षमै ढल्न पुगेँ। हातखुट्टा ताकत विहिन भए, मुख पनि अलि बाङ्गो जस्तो भयो। मेरो अवस्था खराब हुँदै थियो। मैले काम गर्ने सञ्चारगृहका सञ्चालक सुरज दाइ (शिवनारायाण साह) ले बोकेर बिराटनगर उपचारका लागी लग्नुभयो।
मेरो उपचार भइरहँदा उहाँ (माथि उल्लेख गरिएका सप्तरी दुईका उम्मेदवार) ले थाहा पाउनुभयो। त्यतिबेला उहाँ सिंचाइमन्त्री हुनुहुन्थ्यो। मन्त्री बन्नु अघि मैले उहाँसँग पटक–पटक झगडा गरेको थिएँ। त्यतिबेला म डा. सीके राउतको दिवाना थिएँ, म र मेरो कलम पनि। तर, वहाँ (पूर्वमन्त्री) देश बिखण्डन गलत हो, आफ्नै देशभित्रै अधिकार र पहिचानका लागि लड्नुपर्छ भनी सम्झाउने प्रयास गर्नुहुन्थ्यो। तर मैले मानिनँ ।
विरामी पर्दा एउटा कलम र स्पाइरलवाला नोटबुक मात्र थियो मसँग। उहाँसँग एक हिसाबले बोलचाल बन्द जस्तै थियो। तर, जब सुरज दाइमार्फत वहाँले मेरो बारेमा थाहा पाउनुभयो तत्कालै फोन गर्नुभो। सुरज दाइले आफ्नो फोन मेरो कानमा सटाइदिनुभयो। मैले जिब्रो लरबराउँदै ‘हेलो’ भनेँ। वहाँले भावुक शब्दमा भन्नु भयो–‘कि भेलौ बाबु गौ ? तोरा नइँ कुछो हेतौ, ठिक भ्या जेबही, हम चियौ न, तुँ टेन्सन नइँ ले, जे करए परतै, करबै।’ यति भन्दै गर्दा उहाँ आफैं रुन थाल्नु भो। म पनि भक्कानिएँ। उहाँले भूमिका निभाउनु पनि भयो। पछि सप्तरी आउँदा उहाँका पिएसओले सोध्नुभो–‘तपाइँ नै विरामी पर्नु भा’थ्यो, मन्त्रीज्यू फोनमै रुँदै हुनुहुन्थ्यो।’
हो, सकी नसकी आफैलाई सिद्याएर पनि जसका लागि म समर्पित थिएँ, उसले एक कल फोनसम्म गरेन। त्यतिबेला मेरा भ्रमका पर्दाहरु बल्ल उघ्रिए। संजिव दाइको कुरामा म सहमत छु, जो व्यक्तिसँग मैले बोलचाल पनि बन्द बरेँ। उसको साधारण पत्रकारप्रति देखाएको आत्मियता अमूल्य थियो। हो, हामीले चुन्ने प्रतिनिधि अधिकार, पहिचान र विकासका लागि सङ्घर्ष गर्ने भिजनवाला व्यक्ति होस्। आम जनताका सुख दुःखमा साथ दिने, हामी रुँदा सँगै रोइदिने, हाम्रो पीडामा मलम लगाइदिने सच्चा जनसेवक होस्। नो तामझाम। देशी स्टाइलवाला।’
यस टिप्पणीले चुनावी माहोलबीच एउटा फरक बहस जन्माएको छ। नेता र प्रतिनिधिको मूल्यांकन केवल भाषण र घोषणापत्रले मात्र होइन, कठिन समयमा देखिएको व्यवहार र मानवीयता र कृतघ्नाता पनि मतदाताको स्मृतिमा बलियो रूपमा बस्ने तथ्यलाई यसले उजागर गरेको छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा सामाजिक सञ्जालमा यस्ता अनुभव र अभिव्यक्तिहरूले मतदाताको मनोविज्ञान र राजनीतिक संस्कारबारे गम्भीर प्रश्न पनि उठाइरहेका छन्।

