मोरङमा मतदान केन्द्रमा ‘माछा र बियर’ माग्दै हंगामा गर्ने सहायक निर्वाचन अधिकृत पक्राउ

विराटनगर– मोरङको सुनवर्षी नगरपालिकामा ‘रक्सी र मासु’को अर्डर गर्दै हप्कीदप्की गर्ने सहायक मतदान अधिकृत पक्राउ परेका छन्। सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयमा खटिएका सहायक मतदान अधिकृत रञ्जित शिवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार शिवालाई बुधबार रातिदेखि नियन्त्रणमा राखिएको हो। मतदानको पूर्वतयारी भइरहेका बेला उनले केन्द्रमा उपस्थित निर्वाचन अधिकृतसँग विवाद गर्दै अभद्र व्यवहार गरेको आरोप लागेको छ।

मोरङका एसपी कोवित कटवालले घटनाबारे पुष्टि गर्दै निर्वाचन प्रक्रियालाई अवरोध पुग्ने देखिएपछि उनलाई नियन्त्रणमा लिनुपरेको बताएका छन्। उनका अनुसार शिवाले प्रत्यक्ष रूपमा कुटपिट वा भौतिक आक्रमण भने नगरे पनि असभ्य र अनुशासनहीन व्यवहार देखाएका थिए, जसले मतदान केन्द्रको वातावरण असामान्य बनाएको थियो।

पटियापाडा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत यदीबहादुर श्रेष्ठका अनुसार शिवा बुधबार दिउँसो मात्रै केन्द्रमा पुगेका थिए। तर, निर्वाचनको तयारीमा सहयोग गर्नुको सट्टा उनले सुरुदेखि नै असहज वातावरण सिर्जना गर्न थालेका थिए।

श्रेष्ठका अनुसार शिवाले आफूले विगतमा पनि चुनावमा काम गरिसकेको भन्दै केन्द्रमा व्यवस्था नभएको विषय उठाएर अभद्र शैलीमा बोल्न थालेका थिए। उनले ‘मैले पहिला पनि चुनाव गराएको हुँ, त्यतिबेला माछा र बियर खुवाइन्थ्यो, यहाँ के–के व्यवस्था छ?’ भन्दै निर्वाचन अधिकृतसँगै अन्य कर्मचारीलाई समेत असहज बनाउने ढंगले प्रश्न गरेका थिए।

राति समय बित्दै जाँदा उनको व्यवहार झनै आक्रामक बन्दै गएको बताइएको छ। स्रोतका अनुसार उनले निर्वाचन टोलीलाई आफूले बिहान ढिलोसम्म सुत्ने बानी भएको भन्दै बिहानको तयारी कार्यमा आफू संलग्न नहुने संकेत दिएका थिए। ‘मेरो बिहान ढिलोसम्म सुत्ने बानी छ, तिमीहरू आफैँ उठेर काम गर्दै गर्नु,’ भन्दै उनले कामको जिम्मेवारीबाट पन्छिन खोजेका थिए।

निर्वाचन अधिकृतहरूले पूर्वनिर्धारित कार्यतालिका अनुसार सबै तयारी समयमै पूरा गर्नुपर्ने भन्दै सम्झाउने प्रयास गरेपछि विवाद झन् चर्किएको थियो। पटियापाडा मावि परिसरमा तीनवटा मतदान केन्द्र सञ्चालनमा रहेकाले त्यहाँ खटिएका अन्य अधिकृतहरूले पनि स्थिति सामान्य बनाउन पहल गरेका थिए।

तर, शिवाले निरन्तर आक्रामक शैलीमा प्रतिक्रिया दिएपछि मतदान केन्द्रको वातावरण तनावपूर्ण बनेको थियो। यसपछि निर्वाचन प्रक्रियामा अवरोध हुन सक्ने जोखिम देखेर सुरक्षाकर्मीलाई खबर गरिएको थियो। प्रहरी प्रमुख कटवालका अनुसार मतदान केन्द्रमा शान्तिपूर्ण वातावरण कायम राख्न र निर्वाचन प्रक्रियालाई प्रभावित हुन नदिन उनलाई नियन्त्रणमा लिनु परेको हो।

उक्त मतदान केन्द्र मोरङ क्षेत्र नम्बर २ अन्तर्गत पर्छ, जहाँ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल र नेकपा एमालेका उम्मेदवार दिलीप बगडिया प्रमुख प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन्। पक्राउ परेका शिवा रंगेलीस्थित नेपाल विद्युत् प्राधिकरणका सहायक तहका कर्मचारी रहेको खुलेको छ। निर्वाचन अधिकारीहरूले उनको स्थानमा अर्को कर्मचारी खटाएर मतदान केन्द्रको कामलाई नियमित रूपमा अघि बढाइएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट