पासोमा परेको बाँदरलाई कुकुर लगाएर तड्पाइ–तड्पाइ मार्ने युवक पक्राउ
ताप्लेजुङ — खेतबाली जोगाउने बहानामा पासोमा परेको बाँदरलाई कुकुर लगाएर अमानवीय तरिकाले यातना दिएर मारेको आरोपमा ताप्लेजुङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा अत्यन्त क्रूर दृश्यसहितको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई हाल ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा बस्दै आएका २१ वर्षीय संगम भनिने छुप्पु हेम्वयालाई पक्राउ गरिएको छ।
इन्स्पेक्टर जटाशंकर यादवका अनुसार हेम्वयाले खेतको बालीनाली जोगाउन बनाइएको पासोमा परेको बाँदरलाई बाँधेर कुकुर लगाई क्रूर आक्रमण गराएको भिडियो आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
भिडियोमा पासोमा परेको बाँदरलाई कुकुरले आक्रमण गर्दै चिथोर्दै गरेको तथा बाँदर तड्पिँदै छट्पटाइरहेको दृश्य देखिन्छ। भिडियोमा वरिपरि अन्य बाँदरहरू समेत देखिन्छन्, जसमा केही बाँदरहरू डराएर टाढा हटिरहेको अवस्था स्पष्ट देखिन्छ।
उक्त दृश्यले सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्तब्ध बनाएको थियो भने पशु अधिकारका पक्षमा काम गर्ने विभिन्न संघसंस्थाले घटनाको कडा विरोध जनाउँदै कारबाहीको माग गरेका थिए।
घटनापछि विभिन्न पशु अधिकारकर्मी र सरोकारवाला निकायबाट गुनासो तथा दबाब आएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा भिडियो पोस्ट गर्ने व्यक्ति पहिचान गरी प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त घटना प्रतिनिधिसभा निर्वाचन हुनुअघि भएको खुलेको छ। डीएसपी वेदप्रसाद गौतमका अनुसार पशुमा क्रूरता देखाउने र अमानवीय व्यवहार गर्ने घटनालाई गम्भीर रूपमा लिँदै कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनासँग सम्बन्धित थप तथ्य र प्रमाण संकलन गर्ने काम भइरहेको उनले बताए।
