सप्तकोशी नगरपालिकाको लापरबाहीले फत्तेपुरमा जोखिमः बजारमै चल्दैछ रोगको कारखाना
राजविराज— सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा देखिएको एउटा सामान्य जस्तो देखिने व्यवस्थापनले अहिले गम्भीर सार्वजनिक स्वास्थ्य संकटको संकेत दिइरहेको छ। चन्द्रनहरको पुलदेखि गाईघाट जाने मुख्य सडक वर्षौँदेखि जीर्ण अवस्थामा छ—पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे।
यही बाटो बजार क्षेत्रको मुटु हो, बसपार्क पनि यही सडकमै पर्छ, दैनिक सयौँ मानिसको आवतजावत हुने स्थान। तर, सडक सुधार गर्नुपर्ने जिम्मेवारीबाट पन्छिएर नगरपालिकाले अपनाएको उपाय भने भयावह छ।
नगरपालिकाले धुलो नियन्त्रणका नाममा सडकमा पानी हाल्ने व्यवस्था गरेको छ। तर त्यो पानी हाल्ने सवारी साधन के हो भन्ने कुरा सार्वजनिक भएपछि भने स्थानीयस्तरमै गम्भीर प्रश्न उठ्नुपर्ने अवस्था छ। नगरपालिकाले सेप्टिक ट्याङ्क सफा गर्न प्रयोग गरिने ‘सक्शन ट्यांकर’ नै सडक भिजाउन प्रयोग गरिरहेको छ।
अर्थात्, जुन गाडी शौचालय र सेप्टिक ट्याङ्कको फोहोरसँग प्रत्यक्ष जोडिएको हुन्छ, त्यही गाडीबाट बजारको मुख्य सडकमा पानी छर्किने काम पनि भइरहेको छ। यो केवल व्यवस्थापनको कमजोरी मात्र होइन, यो सीधै जनस्वास्थ्यसँग गरिएको खेलवाड हो।
सेप्टिक ट्याङ्क सफा गर्ने गाडीमा रोगजन्य जीवाणु, भाइरस र विभिन्न हानिकारक सूक्ष्मजीवको उच्च जोखिम हुन्छ। यस्ता गाडीलाई उचित सरसफाइ र डिसइन्फेक्सन बिना सार्वजनिक स्थानमा प्रयोग गर्नु संक्रमणका लागि निम्तो दिनु हो। धुलो नियन्त्रण गर्ने नाममा यदि रोगको जोखिम बढाइन्छ भने त्यो व्यवस्थापन होइन, लापरबाहीको पराकाष्ठा हो।
अझ चिन्ताजनक पक्ष के छ भने, यो विषयमा स्थानीयस्तरमा आवाज उठेको देखिँदैन। इरान अमेरिकामा लडाई भएको विषयमा सामाजिक सञ्जालमा बहस गर्ने स्थानीयहरु यस्तो गम्भिर विषयमा पनि चुपचाप छन्। बरु, सक्शन ट्यांकरका चालकले सडकमा पानी हालिरहेको दृश्य खिच्न खोज्ने सर्वसाधारणलाई रोक्ने, अपमानजनक व्यवहार गर्ने र फोटो–भीडियो हटाउन दबाब दिने गरेको पाईएको छ।
यसले अझ गम्भिर प्रश्न उठाउँछ—यदि यो कार्य सही छ भने किन यति लुकाउने प्रयास भईरहेको छ? गलत कामको ढाकछोप गर्न मेयर र प्रमुख प्रशासकीय अधिकृतकै निर्देशनमा त चालकले यस्तो ब्यवहार गरिरहेका छैनन्?
नगरपालिकाको जिम्मेवारी केवल धुलो कम गर्नु होइन, नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्नु पनि हो। तर यहाँ उल्टै नागरिकलाई जोखिममा पार्ने अभ्यासलाई निरन्तरता दिइँदैछ। बजार क्षेत्र, बसपार्क जस्तो अत्यधिक भीडभाड हुने स्थानमा यस्तो गैरजिम्मेवार कार्य हुनु झनै गम्भीर विषय हो।
यसले बालबालिका, वृद्ध र दैनिक मजदुरी गर्ने सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ। फत्तेपुरको यो दृश्यले नगरपालिका लागत बचतको नाममा जनस्वास्थ्य नै दाउमा लगाउन पनि तयार रहेको स्पष्ट संकेत दिएको छ। यदि एउटै गाडीले सेप्टिक ट्याङ्क सफा गर्ने र सडक भिजाउने काम गर्छ भने त्यो केवल व्यवस्थापनको अभाव होइन, नियमन र अनुगमन प्रणालीको पूर्ण असफलता हो।
अब यो विषयलाई सामान्य रूपमा लिने अवस्था छैन। सम्बन्धित निकायले तत्काल छानबिन गरी यस्ता अभ्यास रोक्नुपर्ने आवश्यकता छ। अन्यथा, आज धुलो नियन्त्रणको नाममा गरिएको लापरबाही भोलि रोगको महामारीका रूपमा फर्किन सक्छ। जनस्वास्थ्यसँग सम्झौता गर्ने अधिकार कुनै पनि स्थानीय तहलाई छैन।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुसोत्तम ढकालले भने पानी पटाउने मेसिन विग्रिएका कारण यस्तो गर्नु परेको लाचारी सुनाएका छन्। उनी भन्छन्– ‘मेसिन विग्रिएका कारण त्यस्तो गर्नु पर्यो। अव मेसिन बनेर आईसकेको छ, भोलीदेखि सक्सन मेसिनको प्रयोग हुँदैन।’
