श्रीमानको यातनापछि छोराछोरीसहित भेरीमा हामफालिन् मायाँ, भूपेन्द्रविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ मुद्दा

काठमाडौँ– पारिवारिक हिंसा र निरन्तर मानसिक तथा शारीरिक यातनापछि सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्ले गाउँकी ३८ वर्षीया माया कठायतले आफ्ना दुई सन्तानसहित भेरी नदीमा हामफालेको घटनाले सिंगो गाउँ स्तब्ध बनेको छ।

इलाका प्रहरी कार्यालय छिन्नुका इन्स्पेक्टर प्रकाश केसीका अनुसार पति भूपेन्द्र कठायतविरुद्ध लामो समयदेखि मदिरा सेवन गरी श्रीमती माया र छोराछोरीमाथि चरम यातना दिने गरेको आरोपमा बिहीबार आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता भएको छ।

मृतकका पिता बालुदेव गिरीले दिएको जाहेरीमा निरन्तर पीडा, कुटपिट र मानसिक दबाबकै कारण मायाले यस्तो चरम निर्णय लिन बाध्य भएको उल्लेख गरिएको छ। आइतबार ११ वर्षीय छोरी आशा र ५ वर्षीय छोरा दीपक कठायतसहित माया सम्पर्कविहीन भएकी थिइन्।

सोही दिन साँझ उनका श्रीमान् भूपेन्द्रले प्रहरी चौकी गुमीमा फोन गरी श्रीमती र छोराछोरी हराएको जानकारी दिएका थिए। त्यसपछि खोजी गर्दा घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला प¥यो, जसले उनीहरू नदीमा हामफालेको आशंका बलियो बनायो।

सोमबार साँझ लेकबेशी नगरपालिका–३ पटारोस्थित भेरी नदीमा मायाको शव फेला परेको थियो भने मंगलबार बिहान गुर्भाकोट नगरपालिका–१३ भम्कास्थित नदीमै छोरी आशाको शव भेटियो। तर ५ वर्षीय दीपक अझै बेपत्ता छन् र उनको खोजी जारी रहेको छ।

घटनाको पृष्ठभूमि झन् भयावह छ। घटना हुनुअघि शुक्रबार माया माइतीघर पुगेकी थिइन्, जहाँ उनले आफ्ना कान्छोबुबा अम्मरदेव गिरीलाई आफू उपचार गरेर फर्केको बताएकी थिइन्। बेलुका श्रीमान् भूपेन्द्रले फोन गरी माया र छोराछोरीलाई घर पठाइदिन आग्रह गरेका थिए। अम्मरदेवले खाना खुवाएर आधा बाटोसम्म पु¥याए पनि भूपेन्द्र राति करिब ९ बजे ससुरालीमै पुगे। जबकि माया र उनका सन्तानहरू त्यतिबेला बाटोमा थिए।

पछि खोज्दा माया छोराछोरीसहित जङ्गलमा लुकेर बसेको अवस्थामा भेटिएकी थिइन्। त्यही क्रममा उनले श्रीमानले कुटपिट गर्ने, यातना दिने र सम्बन्ध बिग्रिएको गुनासो सुनाएकी थिइन्। अम्मरदेवका अनुसार त्यही बेलामा उनकै अगाडि पनि भूपेन्द्रले मायामाथि कुटपिट गरेका थिए। त्यसपछि माया माइतीमै बसेकी थिइन्।

शनिबार छोरी आशा घर गएर बुबालाई खाना पकाएर खुवाएकी थिइन्। बेलुका भूपेन्द्र ससुराली पुगेर मायालाई फकाउने प्रयास गरे। माइतीपक्षबीच छलफल हुँदा विगतका गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएपछि आइतबार बिहानै उनीहरू घर फर्किएका थिए।

तर सोही दिन बिहानैदेखि माया र उनका सन्तान सम्पर्कविहीन भए, जसले अन्ततः यस्तो त्रासदीपूर्ण परिणाम ल्यायो। गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले पनि पारिवारिक कलहकै कारण घटना भएको प्रारम्भिक निष्कर्ष रहेको बताएकी छन्।

मायाले आफन्तहरूलाई बारम्बार ‘म दुःख पाउने भएँ, म मरेँ भने केटाकेटीले झन् दुःख पाउँछन्’ भन्दै पीडा पोख्ने गरेको खुलासा भएको छ। एक आफन्तका अनुसार लामो समयदेखि सहन नसक्ने ‘टर्चर’ पछि उनले अन्ततः सामूहिक आत्महत्याको बाटो रोज्न बाध्य भएको हुनसक्ने देखिन्छ। छोरी आशा कक्षा ५ मा अध्ययनरत थिइन् भने छोरा दीपक भर्खर विद्यालय जान थालेका थिए।

परिवारिक स्रोतका अनुसार भूपेन्द्र पछिल्लो पाँच महिनादेखि झन् आक्रामक बनेका थिए। पहिले रोजगारीका लागि भारत जाने गरेका उनी पछिल्लो समय अटो चलाउँदै आएका थिए र यसबीच अन्य महिलासँग सम्बन्ध रहेको आशंकाले घरमा दैनिक झगडा हुने गरेको बताइएको छ।

प्रहरीले आरोपित भूपेन्द्रलाई नियन्त्रणमा लिइसकेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। ‘हामीले भूपेन्द्रलाई पक्राउ गरिसकेका छौँ, अब कानुनी प्रक्रिया अगाडि बढ्छ र अन्तिम निर्णय अदालतले गर्छ,’ इन्स्पेक्टर केसीले बताएका छन्।

माया र छोरी आशाको शव मेहलकुना अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। प्रारम्भिक तथ्यहरूले यो घटना केवल आत्महत्या नभई दीर्घकालीन घरेलु हिंसा र मानसिक यातनाको चरम परिणति भएको संकेत गरेका छन्। अब न्यायिक प्रक्रियाले यस घटनाको सम्पूर्ण सत्य बाहिर ल्याउने अपेक्षा गरिएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट