शपथअघि नै सत्ता संघर्षः गृहमन्त्रालयमा बालेन–रवि टकराव, लम्साल कि डीपी— कसको हातमा ‘पावर’ ?

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको प्रधानमन्त्रीमा शपथको मिति तय भएको छ। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता साह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शपथ लिने मिति तय गरेको हो।

योसँगै बालेन्द्र नेतृत्वमा सरकार गठनको अन्तिम गृहकार्य तीव्र बनेको छ। जसमा सबैभन्दा पेचिलो, संवेदनशील र निर्णायक बहस गृहमन्त्रालयको जिम्मेवारीलाई लिएर सतहमा आएको छ। करिब दुईतिहाइ जनादेशको बलमा सत्ताको नेतृत्व सम्हाल्ने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र अहिले एउटै प्रश्नले सबै गणितलाई च्यालेन्ज गरिरहेको छ— गृह कसले सम्हाल्छ?

प्रधानमन्त्रीको दौडमा अग्रस्थानमा रहेका बालेन्द्रका लागि गृह मन्त्रालय केवल प्रशासनिक संयन्त्र होइन, सरकारको कार्यक्षमता, नियन्त्रण र प्रत्यक्ष प्रभाव देखाउने केन्द्रीय शक्ति केन्द्र हो। यही कारण क्याबिनेट गठनको हरेक छलफल अन्ततः यही मन्त्रालयमा आएर अड्किने गरेको छ। पार्टीभित्र अहिले दुई नाम सबैभन्दा बलियो रूपमा उभिएका छन— डोलप्रसाद अर्याल र सुनिल लम्साल। दुवैको दाबी आफ्नै आधारमा मजबुत छ, दुवैसँग फरक किसिमको शक्ति छ, र दुवैको चयनले पार्टीभित्रको शक्ति सन्तुलनलाई सीधै प्रभावित पार्ने निश्चित देखिन्छ।

बालेन्द्रको स्पष्ट झुकाव भने सुनिल लम्सालतर्फ देखिन्छ। निकट स्रोतहरूका अनुसार बालेन्द्र यस्तो व्यक्तिलाई गृह मन्त्रालय दिन चाहन्छन्, जसले ‘एक्सन ओरिएन्टेड’ ढंगले काम गर्न सकोस्। जसमा उनी आँखा चिम्लेर विश्वास गर्न सकून्, र जसले नतिजा दिन सक्ने क्षमता व्यवहारमै प्रमाणित गरिसकेको होस्। यही मापदण्डमा लम्साल उनको पहिलो रोजाइ बनेका छन्।

काठमाडौँ महानगरपालिकामा पूर्वाधार विज्ञको रूपमा सँगै काम गर्दा लम्सालले देखाएको कार्यक्षमता, निर्णय क्षमताको स्पष्टता र परिणाममुखी सोचले बालेनलाई गहिरो रूपमा प्रभावित पारेको बताइन्छ। राजनीतिक सम्बन्धभन्दा धेरै माथि उठेर व्यक्तिगत विश्वासमा आधारित सम्बन्ध निर्माण भएको तथ्यले पनि लम्सालको सम्भावना बलियो बनाएको छ।

बालेन्द्र र लम्सालबीचको सम्बन्ध केवल सहकर्मीको मात्र होइन, दीर्घकालीन विश्वासको हो। भारतस्थित मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनका क्रममा उनीहरू सहपाठी थिए, जसले उनीहरूबीचको बुझाइलाई अझ मजबुत बनाएको छ। रुपन्देही–१ बाट फराकिलो मतान्तरसहित निर्वाचित लम्साल युवा, प्राविधिक दक्षता बोकेको र ‘डेलिभरी ड्रिभन गभर्नेन्स’ मा विश्वास गर्ने अनुहारका रूपमा उभिएका छन्।

बालेनको शासनशैलीमा परिणाममुखी कामलाई प्राथमिकता दिइने भएकाले लम्साल त्यही मोडलसँग स्वाभाविक रूपमा मेल खाने पात्रका रूपमा देखिएका छन्। यससँगै उनलाई पार्टीको महामन्त्रीका रूपमा अघि सारिएको तथ्यले पनि उनको राजनीतिक हैसियत केवल प्राविधिक तहमा सीमित नरहेको संकेत दिन्छ।

तर, गृहमन्त्रालयको दौड एकतर्फी छैन। डोलप्रसाद अर्याल समानान्तर रूपमा बलियो दाबीका साथ उभिएका छन्। पार्टीभित्र उनको छवि केवल नेताको होइन, अभिभावकको रूपमा स्थापित छ। दैनिक रूपमा कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने, संगठनलाई जोगाएर राख्ने र संकटका बेला नेतृत्व सम्हाल्ने क्षमताले उनलाई विशेष स्थान दिएको छ। विशेषगरी रवि लामिछाने सहकारी प्रकरणमा कानुनी झमेलामा पर्दा अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै पार्टीलाई स्थिर राख्नु उनको सबैभन्दा ठूलो राजनीतिक पूँजी बनेको छ।

अर्यालको पक्षमा अनुभव, वरिष्ठता र संगठनभित्रको विश्वास निर्णायक आधारका रूपमा देखिन्छ। यसअघि श्रम मन्त्रालय सम्हालिसकेको अनुभवले पनि उनलाई प्रशासनिक दृष्टिले परिपक्व बनाएको छ। यही कारण लामिछाने स्वयं पनि अर्याललाई गृहमन्त्री बनाउन इच्छुक रहेको बुझाइ पार्टीभित्र बलियो छ। उनका लागि गृह मन्त्रालय केवल व्यक्ति चयन होइन, पार्टीभित्रको सन्तुलन जोगाउने रणनीतिक निर्णय पनि हो।

गृह मन्त्रालयको यो बहसले बालेन्द्र र रवि लामिछानेबीचको सम्बन्धलाई नयाँ कोणबाट उजागर गरेको छ। एकातिर बालेन आफ्नो विश्वासमा आधारित, छिटो निर्णय लिन सक्ने र प्रत्यक्ष नतिजा दिन सक्ने टिम निर्माण गर्न चाहन्छन् भने अर्कोतिर लामिछाने संगठन, अनुभव र शक्ति सन्तुलनलाई समान रूपमा महत्व दिन चाहन्छन्। जसले दुई जनाविच द्वन्द्व जन्माउने खतरा पनि छ।

यहीबीच पार्टीभित्र अर्को रोचक विकल्प पनि बहसमा आएको छ— भारतको ‘मोदी–साह मोडल’। नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा अमित साह गृहमन्त्री बनेको जस्तै संरचना अपनाउने सम्भावना पनि अस्वीकार गरिएको छैन। यदि रवि लामिछानेमाथिका कानुनी विवादहरू अन्ततः टुंगिएर उनलाई क्लिनचिट मिल्ने अवस्था बन्यो भने उनी स्वयं गृहमन्त्री बन्न सक्ने सम्भावना पनि खुला रहेको बताइन्छ। यस्तो अवस्थामा सरकारको शक्ति संरचना अझ केन्द्रीकृत हुने र नेतृत्व मोडल स्पष्ट रूपमा परिभाषित हुने संकेत मिल्नेछ।

अहिलेको वास्तविकता भनेको केवल ‘को गृहमन्त्री बन्छ?’ भन्ने प्रश्न होइन, ‘सरकारको चरित्र कस्तो हुनेछ?’ भन्ने ठूलो प्रश्न हो। यदि सुनिल लम्साल चयन भए विश्वास, कार्यक्षमता र नतिजामुखी नेतृत्व हाबी भएको सन्देश जानेछ। यदि डोलप्रसाद अर्याल अघि बढे अनुभव, संगठन र सन्तुलनलाई प्राथमिकता दिइएको ठहरिनेछ।

यतिखेर बालेन्द्र, रवि र डीपीबीच निरन्तर संवाद चलिरहेको छ। अन्तिम निर्णय जे भए पनि गृहमन्त्रालयको चयन नै नयाँ सरकारको पहिलो ठूलो परीक्षा बन्नेछ, जसले आगामी शासनको दिशा, गति र शैली तीनै कुरा निर्धारण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट