निर्दयी छोराको क्रूरताः ७९ वर्षीया आमामाथि निर्घात कुटपिट, भीडीओ भाइरल भएपछि पक्राउ
दमक— झापाको भद्रपुर नगरपालिका–८, क्याम्पस मोडमा एक वृद्ध आमामाथि आफ्नै छोराले निर्घात कुटपिट गरेका छन्। घट्नामा संलग्न ३७ वर्षीय यशिस घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार घिमिरेले आफ्नी ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेमाथि घरमै निर्मम कुटपिट गरेका थिए। जसको भीडीओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
भिडिओमा वृद्ध आमामाथि भएको हिंसात्मक व्यवहारले समाजमा गम्भीर आक्रोश र चिन्ता उत्पन्न गराएको छ। मानवता नै लज्जित हुने गरी गरिएको उक्त कुटपिटले पारिवारिक सम्बन्धको संवेदनशीलता र वृद्ध सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको र आरोपितलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका घिमिरेमाथि प्रचलित कानुनअनुसार कडा कारबाही अगाडि बढाइने तयारी भइरहेको प्रहरीले स्पष्ट पारेको छ।
घाइते चन्द्रमायालाई उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना गरिएको छ। चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
