एमाले नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ
काठमाडौँ— पूर्वप्रधानमन्त्री एवम् एमाले नेता केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणले देशको राजनीतिक तापक्रम चर्किँदै गएको बेला एमालेका अर्का नेता बलात्कार आरोपमा पक्राउ परेका छन्।
नेकपा (एमाले)का नेता तथा पूर्व सभासद कर्णबहादुर मल्ललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो। मुगुको सोरु गाउँपालिका–१० स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ मा बसोबास गर्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।
इलाका प्रहरी कार्यालय सातदोबाटोको टोलीले उनीमाथि परेको उजुरीका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार एक महिलाले मल्लविरुद्ध बलात्कार गरेको आरोपसहित उजुरी दर्ता गराएकी थिइन्। सोही उजुरीलाई आधार मानेर प्रारम्भिक अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो।
हाल मल्ललाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ, जहाँ घटनाको यथार्थता, प्रमाण संकलन र पीडितको बयानका आधारमा मुद्दा अगाडि बढाइने तयारी भइरहेको छ। गृहमन्त्री सुधन गुरुङले ललितपुरस्थित सुरक्षा निकायहरूको अनुगमन गर्दै ‘कानुनको कडाइका साथ कार्यान्वयन’ गर्न निर्देशन दिए लगत्तै मल्ल पक्राउ परेका हुन।
गृहमन्त्रीको उक्त निर्देशनपछि भएको यो पक्राउलाई कतिपयले संयोग मात्र नभई ‘सन्देशमूलक एक्सन’का रूपमा पनि व्याख्या गर्न थालेका छन्।
