सामाजिक सञ्जालमा बलात्कार र हत्याको धम्कीपछि साइबर ब्यूरोमा अमिशा पराजुली
काठमाडौँ— पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै भएको प्रदर्शनमा सहभागी अमिशा पराजुली सामाजिक सञ्जालमा भएको यौन धम्की र चरित्रहत्या विरुद्ध उजुरी दर्ता गर्न साइबर ब्यूरो पुगेकी छिन्।
आफ्ना आमा, दिदी र परिवारका अन्य सदस्यसँगै उजुरी दर्ता गर्न पुगेकी पराजुलीले फेसबुक, एक्स, रेडिट लगायतका प्लेटफर्ममा आफ्नो तस्बिर र भिडिओ दुरुपयोग हुँदै आएको विषयमा कानुनी कारबाहीको माग गरेकी छिन्।
सर्वसाधारणका लागि भाइरल भएका उनका तस्बिर र भिडिओमा यौन हिंसाको धम्की, द्विअर्थी कमेन्ट र घरेलु हिंसालाई प्रोत्साहित गर्ने अभिव्यक्तिहरू फैलिइरहेका छन्। फेसबुक प्रयोगकर्ता ‘पदम दोङ तामाङ’ र ‘लक्ष्मी श्रेष्ठ मगर’ जस्ता व्यक्तिहरूले अमिशालाई अश्लील र घृणित शब्दहरू प्रयोग गर्दै किशोरी निर्मला पन्तसँग तुलना गरी मार्नुपर्ने अभिव्यक्ति दिएका थिए।
त्यस्तै, ‘साईको नेपाल’ पेज र अन्य फेसबुक पेजहरूले उनका तस्बिरलाई मिम र द्विअर्थी कमेन्टसहित सार्वजनिक गर्दै चरित्रहत्या गरेको देखिन्छ। सोमबार आफ्नो टिकटक अकाउन्ट प्राइभेट गर्न बाध्य भएकी पराजुलीले उजुरीमार्फत यस्ता अपराधी प्रवृत्तिविरुद्ध कानुनी कदम चाल्न स्वास्थ्य, मानसिक र सामाजिक सुरक्षाको दृष्टिले आवश्यक ठानेकी छन्।
जेन–जी आन्दोलनको समयमा सक्रिय अभियन्ता तनुजा पाण्डेले पनि भनेकी छिन्, ‘विवेकशील लोकतान्त्रिक समाजमा एउटी महिलाले आफ्नो विचार राख्दा कसरी बलात्कार गर्ने र कहाँ बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, यो पूर्ण रूपमा अस्वीकार्य छ।’
मनोचिकित्सक प्रज्वल आचार्यका अनुसार यस्ता घृणास्पद र द्विअर्थी सामग्री सामाजिक सञ्जालमा फैलिनु ‘कन्फर्मेसन बायस’, फेक अकाउन्ट र बेरोजगारीको प्रभाव हो। ‘मानसिक रूपमा स्वस्थ र काममा व्यस्त व्यक्तिले यस्ता कमेन्ट गर्दैनन्। केवल ध्यान आकर्षित गर्न र अस्तित्व महसुस गर्न यस्ता कार्य गरिन्छ। साइबर अपराधमा कानुनी कारबाही भए मात्र यस्तो प्रवृत्ति रोकिन सक्छ,’ उनले भनेका छन्।
यस घटनाले सामाजिक सञ्जालमा महिलाको स्वतन्त्र अभिव्यक्ति र सम्मानको आवश्यकता, साइबर सुरक्षा, र कानुनी कडाइको महत्व उजागर गरेको छ। युवा महिलाहरूले आफ्ना विचार सार्वजनिक गर्दा उत्पन्न हुने धम्की र यौन दुव्र्यवहारले समाजमा सुधारका लागि कडा कानुनी कदम र जनचेतना अभिवृद्धि गर्नुपर्ने देखाएको छ।
यो पनि,
