पूर्वमिस नेपालको पूर्वपतिसँग लफडाः २० पटक उजुरी, अझै समाधान भएन समस्या
काठमाडौँ– पूर्वमिस नेपाल उषा खड्गी र उनका पूर्वपति जिपी तिमल्सिनाबीच लामो समयदेखि चलिरहेको पारिवारिक विवाद अन्ततः फेरी प्रहरीको ढोकामा पुगेको छ। योसँगै बारम्बारको उजुरी र असफल मेलमिलाप प्रयासपछि कानुनी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने संकेत देखिएको छ।
खड्गीले सोमबार जिल्ला प्रहरी परिसर भक्तपुर पुगेर आफ्ना पूर्वपति विरुद्ध जाहेरी पेश गरेकी हुन्। यद्यपि, प्रहरी प्रशासनले तत्काल जाहेरी दर्ता नगरी दुवै पक्षबीच मिलापत्र गराउने प्रयासलाई प्राथमिकता दिएको छ। जाहेरी परेपछि प्रहरीले तिमल्सिनालाई बोलाएर छलफल गराएको थियो, तर वार्ता निष्कर्षमा नपुगेपछि दुवै पक्ष अलग्गिएका छन्।
यो विवाद पहिलो पटकको भने होइन। खड्गीका अनुसार उनी र उनका पूर्वपति एउटै घरमा दुई तल्ला छुट्याएर बस्दै आएका छन्। उनिहरुको दैनिकजसो तनाव र विवाद दोहोरिने गरेको छ। उनले यसअघि नै करिब २० पटकसम्म भक्तपुरस्थित महिला सेलमा उजुरी दिएको दाबी गरेकी छन्। तर ती सबै प्रयास समाधानविहीन बनेपछि अन्ततः कानुनी हस्तक्षेप खोज्न बाध्य भएको उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमार्फत पनि उनले आफ्नो पीडा सार्वजनिक गर्दै पूर्वपतिबाट आफूलाई घर छाड्न दबाब दिइएको आरोप लगाएकी थिइन्। यो विषय सार्वजनिक भएपछि समाजमा पनि चासो बढेको थियो, जसले पारिवारिक विवादको संवेदनशीलता र त्यसमा राज्य संयन्त्रको भूमिकाबारे बहस सिर्जना गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगुले जाहेरी प्राप्त भएको पुष्टि गर्दै आवश्यक अनुसन्धानपछि मात्र औपचारिक दर्ता र सम्भावित पक्राउ प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन्। उनका अनुसार प्रारम्भिक चरणमा मेलमिलापको प्रयास गरिए पनि त्यसले परिणाम नदिएपछि कानुनी प्रक्रिया अपरिहार्य बन्न सक्छ।
घटनाक्रमबीच खड्गीले प्रहरीको प्रारम्भिक सहयोगप्रति सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेकी छन्, जसले उनले कानुनी प्रक्रियामार्फत समाधान खोज्ने स्पष्ट संकेत दिएको छ।
