रङ नम्बरको विवाद उत्कर्षमा पुगेपछि मासु काट्ने दाउले हानेर झापाका तामाङ दाजुभाइको हत्या
काठमाडौँ— सामान्य देखिने एउटा रङ नम्बरको फोनबाट सुरु भएको विवादले ललितपुरको पाटन दरबार क्षेत्रमा झापाका तामाङ दाजुभाइको हत्या भएको छ। अपरिचित व्यक्तिबीचको फोन संवाद केही समयमै तनावपूर्ण बनेपछि ‘भेटेरै देखाई दिने’ तहमा पुगेको थियो। त्यसपछि दुवै पक्ष पाटनमा भेट भएको र धारिलो हतियार प्रहार गरी उनिहरुको हत्या गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाटनमै रहेका सञ्जिव नेपालीसँग विवाद भएपछि झापा घर भई ललितपुरमा बसोबास गर्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्वाङ बुधबार दिउँसो पाटन दरबार क्षेत्र पुगेका थिए। तर, भेटघाट संवादमा होइन, हिंसामा टुंगियो।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख होविन्द्र बोगटीका अनुसार नेम्वाङ दाजुभाइले गलत नम्बरमा फोन गर्दा सञ्जीव नेपालीसँग सम्पर्क भएको थियो। सामान्य कुराकानीबाट सुरु भएको संवाद चाँडै विवादमा परिणत भयो र दुवै पक्षबीच फोनमै चर्काचर्की भयो। त्यसपछि सञ्जीवले उनीहरूलाई पाटनमा भेट्न बोलाएका थिए।
इमाडोलबाट पाटन पुगेका दाजुभाइसँग भेट्ने क्रममा सञ्जीव नेपाली मासु पसलमा प्रयोग हुने धारिलो दाउ लिएर आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भेटघाटपछि विवाद झन् चर्किँदा उनले एक्कासी दाउ प्रहार गरेका थिए। सार्वजनिक स्थलमै भएको यो आक्रमण यति तीव्र थियो कि दुवै दाजुभाइ गम्भीर रूपमा घाइते भए।
स्थानीय र प्रहरीको सहयोगमा उनीहरूलाई तत्काल बिएन्डबी अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा दुवैको मृत्यु भएको पुष्टि भएको छ। घटनापछि प्रहरीले तत्काल संलग्न अभियुक्तलाई पक्राउ गरेको छ। घट्नाको थप अनुसन्धान अघि बढिरहेको छ।
