‘गेटमा स्वागत गर्न नआएको’ भन्दै सांसद पोखरेलले हेडसरलाई सार्वजनिक रुपमै हप्काएपछि…
राजविराज— ‘गेटमा स्वागत गर्न नआएको’ भन्दै एक विद्यालयका प्रधानाध्यापकलाई सार्वजनिक रूपमा हप्काएको घटनाले ओखलढुङ्गाका प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलमाथि चौतर्फी आलोचना भईरहेको छ। यो घट्नाले नयाँ राजनीतिक शक्ति भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्रकै मूल्य–मान्यतामाथि गम्भीर बहस जन्माएको छ।
चुनावी अभियानमा ‘जनताको सेवक’को छवि निर्माण गर्दै उभिएको नेतृत्व तहबाट आएको यो व्यवहारले सार्वजनिक विश्वासमै दरार ल्याएको संकेत देखिएको छ। घटना खिजीदेम्बा–२ रगनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको हो। जहाँ धन्यवाद कार्यक्रमका लागि पुगेका सांसद पोखरेलले आफूलाई स्वागत गर्न गेटसम्म नआएको भन्दै प्रधानाध्यापक सन्तोष मगरमाथि आक्रोश पोखेका थिए।
प्रत्यक्षदर्शीका अनुसार उनले विद्यालय परिसरमै ठुलो–ठुलो स्वरमा असन्तुष्टि जनाउँदै ‘प्रोटोकल’ र ‘मर्यादा’को पाठ पढाएका थिए। आफू २९ वर्षसम्म नेपाल सरकारको विशिष्ट श्रेणीमा काम गरेको र अझै राज्यबाट सुविधा लिइरहेको उल्लेख गर्दै उनले सम्मान नपाएको गुनासो गरेका थिए।
घटनाले थप विवाद त्यसबेला जन्मायो जब विद्यालयले भौतिक पूर्वाधार निर्माणको माग राख्दै तयार गरेको ज्ञापनपत्रसमेत उनले तत्काल लिन अस्वीकार गरे। विद्यालयले औपचारिक रूपमा ‘खेद प्रस्ताव’ पारित गरेपछि मात्रै ज्ञापनपत्र बुझ्ने अडान लिएपछि स्थिति झन् असहज बनेको थियो। अन्ततः प्रधानाध्यापक मगरले माफी मागेपछि मात्र सांसदले ज्ञापनपत्र ग्रहण गरेको विवरण बाहिर आएको छ।
प्रधानाध्यापक मगरले भने आफू ज्ञापनपत्र तयार पार्ने क्रममा व्यस्त रहेकाले स्वागत गर्न गेटसम्म पुग्न नसकेको स्पष्ट पारेका छन्। उनका अनुसार यो जानाजान गरिएको बेवास्ता नभई परिस्थिति जन्य असहजता मात्र थियो। तर सांसदको प्रतिक्रिया भने अत्यधिक कडा र असन्तुलित भएको भन्दै स्थानीयस्तरमै असन्तोष बढेको छ।
यस घटनाले राजनीतिक वृत्तमा समेत तरंग ल्याएको छ। आफ्नै पार्टीका सांसदहरूले समेत अप्रत्यक्ष रूपमा असहमति जनाएका छन्। केही नेताहरूले सार्वजनिक रूपमा नै विनम्रता नछोड्न र पदको घमण्ड नगर्न सुझाव दिएका छन्। जनतासँग मत माग्दा देखाएको नम्रता सत्तामा पुगेपछि हराउनु खतरनाक संकेत भएको उनीहरूको टिप्पणी छ।
सामाजिक सञ्जालमा भने यो घटना व्यापक रूपमा भाइरल बनेको छ, जहाँ आम नागरिकदेखि बुद्धिजीवीसम्मले सांसद पोखरेलको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। धेरैले उनलाई ‘पदको दम्भमा चढेको प्रतिनिधि’को संज्ञा दिएका छन् भने कतिपयले ‘जनताले जिताएको व्यक्ति जनतामाथि नै हप्किने?’ भन्दै प्रश्न उठाएका छन्। केही प्रतिक्रियामा उनको विगतको प्रशासनिक पृष्ठभूमि र प्रहरी सेवाको संस्कारलाई समेत जोडेर आलोचना गरिएको छ, जहाँ ‘हाकिम मानसिकता अझै नछुटेको’ आरोप लगाइएको छ।
समाजमा शिक्षकको सम्मान र भूमिकालाई केन्द्रमा राख्दै धेरैले प्रधानाध्यापकप्रति गरिएको व्यवहारलाई ‘अस्वीकार्य’ र ‘अपमानजनक’ भनेका छन्। शिक्षा क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित व्यक्तिलाई सार्वजनिक रूपमा हप्काउनु लोकतान्त्रिक संस्कार विपरीत भएको धारणा व्यापक रूपमा देखिएको छ। कतिपयले यो घटनालाई केवल व्यक्तिगत गल्ती नभई नयाँ पुस्ताको राजनीति भन्दै आएको शक्तिको चरित्र परीक्षणका रूपमा पनि हेरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटना सानो देखिए पनि यसको प्रभाव गहिरो हुनसक्छ। जनमतबाट स्थापित नयाँ नेतृत्वले यदि पुरानै शैलीको अहंकार देखाउन थाल्यो भने त्यसले वैकल्पिक राजनीति भन्ने अवधारणालाई नै कमजोर बनाउने जोखिम रहन्छ। थोरै मतान्तरले चुनाव जितेका प्रतिनिधिका लागि जनविश्वास कायम राख्नु नै सबैभन्दा ठूलो चुनौती हुने अवस्थामा यस्ता घटनाले विश्वास झन् कमजोर बनाउने खतरा देखिन्छ।
समग्रमा, ओखलढुङ्गाको यो घटना केवल एउटा विवाद होइन, जनप्रतिनिधिको व्यवहार, राजनीतिक संस्कार र सार्वजनिक उत्तरदायित्वबीचको गहिरो सम्बन्ध उजागर गर्ने संकेत हो। अब यो प्रकरणले कस्तो मोड लिन्छ, सांसद पोखरेलले आत्मालोचना गर्छन् वा राजनीतिक दलले आन्तरिक अनुशासन कडाइ गर्छ, त्यसले नै आगामी दिनमा जनताको विश्वास कता मोडिन्छ भन्ने निर्धारण गर्नेछ।

