रौतहटमा सडकभन्दा ठूलो ‘सेटिङ’: आफ्नै काकालाई करोडौँको ठेक्का, इन्जिनियर विवादको घेरामा

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती टोलमा निर्माणाधीन सडक तथा नाली योजनामा व्यापक अनियमितता भएको आरोप लागेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। करोडौँ रुपैयाँको सरकारी बजेटबाट भइरहेको निर्माण कार्य सुरुदेखिनै गुणस्तरहीन रहेको भन्दै स्थानीयले विरोध जनाएका हुन्।

निर्माण प्रक्रियामा प्राविधिक मिलेमतो, आफन्तलाई ठेक्का दिलाउने चलखेल र स्थानीयमाथि दबाब सिर्जना गरिएको आरोपसमेत सार्वजनिक भएपछि घटनाले थप गम्भीर रुप लिएको छ। स्थानीयका अनुसार सडक डिभिजन कार्यालयसँग आबद्ध इञ्जिनियर सुरेन्द्र साहले आफन्तको नाममा निर्माण कम्पनी सञ्चालन गराएर सोही कम्पनीमार्फत् उक्त क्षेत्रमा सडक तथा नाली निर्माणको काम गराएको आरोप छ।

सरकारी पदमा बसेर आफ्नै नातेदारलाई ठेक्का व्यवस्थापन गराइएको आशंका स्थानीयले गरेका छन्। जसका कारण ठेक्का प्रकृया नै विवादको केन्द्रमा पुगेको छ। सडक डिभिजन कार्यालयले चन्द्रपुर नगरपालिका–७ मा निर्माणाधीन सडक तथा नाली योजनाका लागि एक करोड ८३ लाख ९९ हजार ३ सय ६६ रुपैयाँ ७८ पैसा बजेट विनियोजन गरेको छ।

उक्त योजना ‘गायत्री मा÷एस.के.एस.ए.जे.भी जनकपुर–१३ धनुषा’ नामक निर्माण कम्पनीले पाएको थियो। तर स्थानीयले कम्पनीका सञ्चालक जोगेन्द्र साह इञ्जिनियर सुरेन्द्र साहका सहोदर काका रहेको दाबी गरेका छन्। यही सम्बन्धका आधारमा योजनामा मिलेमतो र स्वार्थ बाझिने अवस्था सिर्जना भएको आरोप स्थानीयको छ।

गत मंसिर ८ गते सम्झौता भएको ‘आरडिसिएनपी÷३३८०११६९४÷०८२÷८३–१०’ नम्बरको उक्त ठेक्का आगामी असार २० गतेभित्र सम्पन्न गर्नुपर्नेछ। तर समयमै काम सक्ने दबाबमा गुणस्तरमा गम्भीर लापरबाही गरिएको स्थानीयको आरोप छ। स्थानीय देवेन्द्र यादवका अनुसार निर्माणको वर्तमान अवस्था हेर्दा सडक दीर्घकालीन नहुने स्पष्ट देखिन्छ। उनका अनुसार अहिलेको लापरबाहीले राज्यलाई आर्थिक नोक्सानी मात्र होइन, स्थानीयलाई तत्कालै सास्ती पनि दिने अवस्था सिर्जना गरेको छ।

स्थानीय उपेन्द्र यादवका अनुसार निर्माण कार्य सुरुदेखिनै मापदण्डविपरीत भइरहेको छ। उनका अनुसार सडक निर्माणअघि आवश्यक ग्रेडिङ नगरी हतार–हतार ढुंगा बिछ्याइएको छ भने नाली निर्माणमा समेत कमजोर र कमसल सामग्री प्रयोग गरिएको छ। स्थानीयले निर्माणको गुणस्तरमाथि प्रश्न उठाउँदै काम तत्काल रोक्न माग गरेका छन्। उनीहरूका अनुसार अहिले भइरहेको निर्माणले केही समयमै सडक भत्किने र राज्यको करोडौँ रकम बालुवामा पानीसरह खेर जाने अवस्था देखिएको छ।

स्थानीयको विरोध बढ्दै गएपछि प्राविधिक टोली दलबलसहित गाउँ पुगेको थियो। त्यसक्रममा स्थानीय र प्राविधिकबीच तनावको अवस्था सिर्जना भएको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक प्राविधिकले आफू इञ्जिनियर भएको परिचय दिँदै निर्माण कार्यमा अवरोध नगर्न चेतावनी दिएको दृश्य देखिन्छ। स्थानीयले भने सरकारी कर्मचारीकै हैसियतमा निर्माण प्रक्रियामा संलग्न व्यक्तिले प्रश्न उठाउने नागरिकमाथि दबाब सिर्जना गर्नु गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन्।

घटनापछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अन्य केही कर्मचारीको भूमिकामाथिसमेत स्थानीयले शंका व्यक्त गरेका छन्। निर्माण प्रक्रियामा प्राविधिक निगरानी कमजोर बनाइएको र मिलेमतोका आधारमा गुणस्तरहीन कामलाई संरक्षण गरिएको आशंका स्थानीयले गरेका छन्। स्थानीय बिगु सहनीले सरकारी निर्माण योजनामा पारदर्शिता र प्राविधिक अनुगमनको अभावले यस्ता विकृति मौलाउँदै गएको बताए।

उनका अनुसार यदि अहिले नै छानबिन गरेर निर्माण कार्य रोकिने अवस्था सिर्जना भएन भने भविष्यमा यस्ता योजनाहरू भ्रष्टाचारको माध्यम मात्र बन्ने खतरा बढ्नेछ। स्थानीयले घटनाको निष्पक्ष छानबिन, निर्माण सामग्रीको गुणस्तर परीक्षण र संलग्नमाथि कारबाहीको माग गरेका छन्। उनीहरूले सरकारी बजेटबाट हुने विकास निर्माणलाई व्यक्तिको कमाइ खाने माध्यम बनाउन नदिने चेतावनीसमेत दिएका छन्।

अहिले नयाँबस्ती टोलमा उठेको विरोधले एउटा सडक वा नालीको प्रश्न मात्र उठाएको छैन, यसले स्थानीय तहदेखि प्राविधिक संयन्त्रसम्म फैलिएको कथित मिलेमतो र सरकारी निर्माण प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट