भारतबाट भीषण मौसम प्रणाली नेपाल प्रवेश, मधेससहित देशभर साँझदेखि विनाशकारी हावाहुरीको खतरा

काठमाडौँ — भारततर्फ विकसित भएको शक्तिशाली हावाहुरीसहितको वर्षा प्रणाली नेपालतर्फ प्रवेश गर्न थालेपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बुधबार अपराह्नदेखि बिहीबार बिहानसम्म देशका विभिन्न भूभागमा तीव्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ, असिना र भारी वर्षाको जोखिम रहेको जनाएको हो।

विभागका अनुसार पश्चिमी नेपाल हुँदै प्रवेश गरिरहेको बादल प्रणाली र पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली एकआपसमा जुध्न लागेकाले मौसम असामान्य रूपमा सक्रिय बन्ने सम्भावना देखिएको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार भारतमा विकसित भएको शक्तिशाली बादल प्रणाली अहिले कञ्चनपुर आसपास आइपुगेको छ र क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दैछ।

उनका अनुसार देशको पूर्वी भूभाग नजिक अर्को न्यूनचापीय प्रणाली सक्रिय रहेकाले यी दुई प्रणालीबीचको अन्तक्र्रियाले हावाहुरीलाई अझ तीव्र बनाउने अनुमान गरिएको छ। उनले कहिलेकाहीँ यस्ता दुई मौसम प्रणाली जुध्दा अचानक विनाशकारी प्रकृतिको हावाहुरी, चट्याङ र असिना देखिने भएकाले विभागले विशेष बुलेटिन जारी गर्नुपरेको स्पष्ट पारे।

विभागले बुधबार बिहान अध्यावधिक गरेको विशेष सूचनाअनुसार तीव्र गतिको हावाहुरी आज अपराह्न ४ बजेदेखि सुरु हुने र बिहीबार बिहान ६ बजेर ४५ मिनेटसम्म प्रभाव कायम रहने अनुमान गरिएको छ। यसअघि साँझ ५ः४५ बजेदेखि सुरु हुने अनुमान गरिए पनि मौसम प्रणाली अपेक्षाभन्दा छिटो नेपालतर्फ सरेकाले समय संशोधन गरिएको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार हावाहुरीको गति २० देखि २५ मिटर प्रतिसेकेन्डसम्म पुग्नसक्ने अनुमान छ। यद्यपि यसको तीव्रता भूगोल र स्थानअनुसार फरक–फरक हुनसक्ने बताइएको छ। विशेषगरी खुला तराई क्षेत्र, नदी आसपासका भूभाग तथा कमजोर संरचना भएका स्थानमा बढी जोखिम रहने चेतावनी दिइएको छ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी आसपासका जिल्लामा उच्च जोखिम देखाएको छ। यस्तै लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको छ। गण्डकी प्रदेशको नवलपुर तथा बागमती प्रदेशको चितवन क्षेत्र पनि प्रभावित हुने सूचीमा परेका छन्।

मधेस प्रदेशका बारा, पर्सा र धनुषा आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव रहने विभागले जनाएको छ। कोशी प्रदेशका झापा र मोरङ आसपासका क्षेत्रमा समेत मौसम अत्यन्त खराब बन्न सक्ने चेतावनी दिइएको छ। विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहित वर्षा प्रणाली पश्चिमबाट पूर्वतर्फ फैलिने सम्भावना छ।

बुधबार दिउँसोदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको जोखिमसमेत औँल्याइएको छ।

बुधबार राति पनि मौसम थप सक्रिय रहने अनुमान गरिएको छ। विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा रातभर मेघगर्जनसहित वर्षा जारी रहनसक्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा असिना पानीको सम्भावना रहेको छ भने पहाडी र हिमाली भूभागमा वर्षा र हिमपात हुनसक्ने अनुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षति कम गर्न सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणले हावाहुरीको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा जस्तापाताले बनेका कमजोर छाना भए थप कसिलो बनाउन आग्रह गरेको छ। घरबाहिर आगो नबाल्न र घरभित्र पनि अत्यन्त सावधानी अपनाउन भनिएको छ।

त्यस्तै, अग्ला रूख, बिजुलीका पोल, तारमुनि वा कमजोर संरचनाको आसपास नबस्न चेतावनी दिइएको छ। लत्रिएका बिजुलीका तार नछुन र हावाहुरीले उडाएर ल्याउनसक्ने वस्तुबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्राधिकरणले विशेषगरी बालबालिका, वृद्धवृद्धा र कमजोर संरचनामा बसोबास गर्ने समुदायलाई बढी सावधानी अपनाउन अनुरोध गरेको छ।

विभागका अनुसार अहिलेको मौसम प्रणाली सामान्य प्रि–मनसुन गतिविधिभन्दा बढी सक्रिय र जोखिमयुक्त देखिएकाले देशका धेरै भूभागमा आकस्मिक क्षतिको सम्भावना छ। त्यसैले नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट