मन्त्रीकै सचिवालयमा अपराधको छायाँः एसपीसँगको विवादपछि चर्चामा आएका मुस्तकिम मियाँ अपहरण आरोपमा पक्राउ

राजविराज— सुशासनको चर्को नारा लगाएर सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको स्वकीय सचिवालयसँग प्रत्यक्ष जोडिएका व्यक्ति मुस्तकिम मियाँ अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारजस्ता गम्भीर आरोपमा पक्राउ परेका छन्।

यो घट्नाले सत्ताको वरिपरि रहेका व्यक्तिहरूको आचरण र पृष्ठभूमिमाथि समेत कडा प्रश्न उठेको छ। महदेवा गाउँपालिका–१ का २७ वर्षीय मियाँलाई राजविराज नगरपालिका–८ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ। केही दिनअघि मुस्तकिमले सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीसँग अशिष्ट र असभ्य भाषामा विवाद गरेको अडियो सार्वजनिक भएको थियो।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बर बहादुर पुरीका अनुसार मियाँमाथि एक व्यक्तिलाई जबर्जस्ती नियन्त्रणमा लिएर एकान्त स्थानमा पु¥याउने, शरीर बन्धक बनाउने, कुटपिट गर्ने र मानसिक त्रास सिर्जना गर्ने आरोप लागेको छ। अझ चर्को र गम्भीर आरोप भनेको पीडितलाई नग्न बनाएर भिडियो खिचिएको दाबी हो, जसले यो घटनालाई सामान्य अपराधको सीमाभन्दा धेरै माथि उठाएर योजनाबद्ध अमानवीय क्रियाकलापको तहमा पु¥याएको देखिन्छ।

पीडितको पहिचान गोप्य राखिएको छ र अनुसन्धान संवेदनशील ढंगले अघि बढाइएको प्रहरीले जनाएको छ। मियाँलाई मन्त्री यादवले गत चैत २७ गते हलुका सवारी चालकका रूपमा नियुक्त गरेका थिए। यो तथ्यले अहिले एउटा गम्भीर बहस जन्माएको छ—यस्तो पृष्ठभूमि र व्यवहार देखिएको व्यक्ति कसरी मन्त्रीको नजिकको संरचनामा पुग्यो? छनोट प्रक्रियामा कस्तो जाँचबुझ भयो? र यसमा राजनीतिक जिम्मेवारी कहाँ निर्धारण हुन्छ? यी प्रश्नहरू अहिले स्वाभाविक रूपमा उठिरहेका छन्।

मुस्तकिम मियाँको व्यवहारमाथि प्रश्न उठ्ने आधार भने यो पहिलो घटना मात्र होइन। केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको अडियो विवादले उनको सार्वजनिक छविमा पहिले नै दरार पैदा गरिसकेको थियो। सप्तरीका प्रहरी प्रमुख केसीसँग भएको भनिएको संवादमा उनले प्रस्तुत गरेको शैली, प्रयोग गरिएका शब्द र टकरावपूर्ण व्यवहारले उनी सामान्य प्रशासनिक कर्मचारीभन्दा फरक—अधिक आक्रामक र प्रभाव प्रदर्शन गर्न खोज्ने व्यक्तित्वका रूपमा चित्रित भएका थिए।

उक्त अडियोमा संवाद सामान्य अभिवादनबाट सुरु भएर क्रमशः तनावपूर्ण बन्दै ‘तिम्रो दिमाग सड्केको हो?’ जस्ता अभिव्यक्तिमा पुगेको सुनिन्छ, जसले दुवै पक्षको आचरणमाथि प्रश्न उठाए पनि मुस्तकिमको शैलीले विशेष ध्यान तानेको थियो।

यो घटनाहरूले उनी केवल ‘चालक’ पदमा सीमित व्यक्ति नभई प्रभाव र पहुँचको दाबी गर्दै व्यवहार गर्ने व्यक्तिका रूपमा देखिएको टिप्पणी व्यापक रूपमा गरिएको थियो। विवाद चर्किएपछि मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी कमल थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो, तर उक्त प्रतिवेदन अझै सार्वजनिक भएको छैन।

अडियो प्रकरणको निष्कर्ष नआउँदै अपहरणजस्तो गम्भीर आरोपमा उनी पक्राउ पर्नुले घटनाहरूबीचको सम्बन्ध र उनको भूमिकाबारे थप शंका पैदा गरेको छ। यही सन्दर्भमा मुस्तकिम मियाँको गिरफ्तारीले एउटा गहिरो संकेत दिएको छ—सत्ता नजिक रहने व्यक्तिहरूको व्यवहार यदि समयमै निगरानी र मूल्याङ्कन गरिएन भने त्यसले आपराधिक प्रवृत्तिलाई नै संरक्षण दिने वातावरण बन्न सक्छ।

मन्त्रीको सचिवालयजस्तो संवेदनशील संरचनामा रहेका व्यक्तिबाट यस्ता आरोप आउनु केवल व्यक्तिगत विफलता मात्र होइन, प्रणालीगत कमजोरीको संकेत पनि हो। यो घट्नामा अहिले अनुसन्धान जारी छ, र अदालत तथा प्रहरीको प्रक्रिया पूरा भएपछि मात्र अन्तिम सत्य बाहिर आउनेछ।

तर अहिलेको अवस्थाले स्पष्ट संकेत दिएको के हो भने—मुस्तकिम मियाँ केवल एक आरोपी होइनन्, उनी सत्ताको छायाँमा विकसित हुँदै गएको विवादास्पद चरित्रका प्रतिनिधि हुन्, जसको गतिविधिले राज्य संयन्त्रको विश्वसनीयतामाथि नै प्रश्न खडा गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट