मृतकको घरमा आशिकाको ‘शोअफ’: गाउँपालिका अध्यक्षलाई ‘समातेर राख्न’ भिडलाई निर्देशन दिएपछि चर्कियो विवाद
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ फेरि एकपटक विवादको केन्द्रमा तानिएकी छन्। सामाजिक सञ्जालदेखि सडकसम्म आक्रामक शैली, प्रत्यक्ष हस्तक्षेप र उत्तेजित अभिव्यक्तिका कारण निरन्तर चर्चामा रहँदै आएकी तामाङ यसपटक धादिङमा एक मृतक चालकको घरमै गाउँपालिका अध्यक्षसँग चर्काचर्की गरेपछि विवादमा परेकी हुन्।
हुन त आशिका तामाङका लागि विवाद अब नयाँ विषय जस्तो देखिँदैन। पुलमुनि सार्वजनिक रूपमा पिसाब गर्ने व्यक्तिलाई लखेटेर भिडिओ बनाएको घटनादेखि जेब्राक्रस नाप्दै ट्राफिक व्यवस्थामाथि प्रश्न उठाएको प्रसंगसम्म उनी बारम्बार सार्वजनिक विवादमा आइरहेकी छन्। कहिले सरकारी कर्मचारीलाई सार्वजनिक रूपमै हप्काएर, कहिले सडकमा प्रत्यक्ष हस्तक्षेप गर्दै ‘एक्सन’ शैली प्रस्तुत गरेर, त कहिले सामाजिक सञ्जाल लाइभमार्फत राज्य संयन्त्रमाथि आक्रोश पोखेर उनी निरन्तर चर्चामा रहिन्। आलोचकहरू भन्छन— आशिका तामाङले ‘विवादलाई नै राजनीतिक ब्रान्ड’ बनाएकी छन्।
यही आक्रामक सार्वजनिक छविकै बलमा उनी वैकल्पिक राजनीतिको अनुहारका रूपमा उदाइन् र प्रतिनिधिसभासम्म पुग्न सफल भइन्। तर सांसद बनेपछि पनि उनको शैली फेरिएको छैन। बरु उनी हरेक घटनामा प्रत्यक्ष हस्तक्षेप गर्ने, कडा भाषा प्रयोग गर्ने र सार्वजनिक भिडन्तमा उत्रिने शैलीका कारण बारम्बार विवादमा तानिँदै आएकी छन्।
यसपटकको विवाद धादिङको थाक्रे गाउँपालिका–७ राम्चेस्थित बज्रकाली ढुंगा रोडा उद्योगमा भएको दुर्घटनापछि सुरु भएको हो। ढुंगा लोड गर्न गएको बा ५ ख ८५८० नम्बरको ट्रिपरमाथि ढुंगा खस्दा चालक २७ वर्षीय दीपेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएपछि सांसद तामाङ मृतकको परिवार भेट्न पुगेकी थिइन्। त्यही क्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसँग उनको चर्को विवाद भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भिडिओमा सांसद तामाङ अत्यन्त आक्रोशित मुद्रामा गाउँपालिका अध्यक्ष आचार्यलाई हप्काउँदै देखिन्छिन्। उनले ढुंगाखानी बन्द नगरिएकै कारण यस्तो घटना भएको आरोप लगाउँदै स्थानीय सरकारमाथि प्रत्यक्ष जिम्मेवारी थोपरिन्। औँला ठड्याउँदै उनले भनिन्, ‘तपाईँहरूकै कारण दीपेन्द्रको मृत्यु भएको हो। मैले त अस्ति नै क्रसर र ढुंगाखानी बन्द गर्न निर्देशन दिएको थिएँ। सीडीओलाई भनेर कति पटक भनेँ मैले। सानो मान्छे देखेर हेपेको हो ? के कुराले हेपेको ?’
उनको भाषाशैली र प्रस्तुतिलाई लिएर अहिले दुईथरी प्रतिक्रिया देखिएको छ। समर्थकहरूले पीडित परिवारको पक्षमा खुलेर बोल्ने ‘निर्भीक सांसद’ का रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले भने घटनास्थललाई नै राजनीतिक प्रदर्शनस्थल बनाइएको आरोप लगाएका छन्।
विवादकै क्रममा गाउँपालिका अध्यक्ष आचार्यले भने आफूहरूको कुनै गल्ती नरहेको दाबी गरे। उनले ढुंगाखानी सञ्चालनका लागि गाउँपालिकाले स्वीकृति नदिएको स्पष्ट पार्दै घटनाको सम्पूर्ण जिम्मा स्थानीय सरकारमाथि थोपर्न नमिल्ने बताए। तर, तामाङ लगातार आक्रामक रूपमा प्रस्तुत भएपछि वातावरण थप तनावपूर्ण बनेको थियो।
भिडिओमा तामाङले अध्यक्ष आचार्य बाहिरिन खोज्दा स्थानीयलाई ‘समातेर राख्नुस् है’ भन्दै भनेको दृश्यसमेत देखिन्छ। यही अभिव्यक्तिले अहिले थप विवाद जन्माएको छ। आलोचकहरू प्रश्न गरिरहेका छन— कुनै निर्वाचित सांसदले सार्वजनिक रूपमा अर्को जनप्रतिनिधिलाई यसरी घेर्न स्थानीयलाई आग्रह गर्नु राजनीतिक मर्यादाभित्र पर्छ ?
राजनीतिक विश्लेषकहरूका अनुसार आशिका तामाङको शैली ‘संस्थागत राजनीति’ भन्दा ‘सडक शैलीको प्रत्यक्ष आक्रोश’ मा आधारित देखिन्छ। उनी परम्परागत नेताजस्तो संयमित भाषाभन्दा तत्काल प्रतिक्रिया, भिडन्त र सार्वजनिक दबाबको शैलीमा बढी सक्रिय देखिन्छिन्। यही कारण उनी एकातिर युवामाझ लोकप्रिय छवि बनाउन सफल भए पनि अर्कोतर्फ लगातार विवादको घेरामा पर्न थालेकी छिन्।
रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक संस्कारको वाहक दाबी गर्दै आएको छ। तर पछिल्लो समय सोही दलका नेताहरू निरन्तर विवाद, सार्वजनिक भिडन्त र उत्तेजित अभिव्यक्तिका कारण आलोचनामा पर्न थालेका छन्। आशिका तामाङको पछिल्लो घटनाले पनि प्रश्न उठाएको छ— के वैकल्पिक राजनीति भनेको संस्थागत प्रक्रियाभन्दा सार्वजनिक आक्रोश र भिडन्तको शैली हो ?
धादिङको घटनाले अहिले अर्को गम्भीर बहस पनि जन्माएको छ। दुर्घटनाजस्तो संवेदनशील घटनामा जनप्रतिनिधिको भूमिका पीडितलाई न्याय दिलाउने हो कि घटनास्थललाई राजनीतिक आक्रोश प्रदर्शनको मञ्च बनाउने ? यही प्रश्न अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र रूपमा उठिरहेको छ।

