रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु
रौतहट — सोमबार साँझ आएको शक्तिशाली हावाहुरीले रौतहटमा एक महिलाको ज्यान लिएको छ। हुरीका कारण कच्ची घर भत्किँदा घरभित्रै थिचिएकी वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईका अनुसार हावाहुरीले फूलकुमारीको टायलको छानो र बाँसको बारले बनेको एकतले कच्ची घर अचानक भत्किएको थियो। घर भत्किँदा उनी गम्भीर घाइते भएकी थिइन्।
स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा सोमबार राति चिकित्सकले मृत घोषणा गरेका हुन्।
स्थानीयका अनुसार साँझ अचानक आएको हावाहुरीले गाउँका विभिन्न स्थानमा घर तथा संरचनामा क्षति पु¥याएको थियो। विशेषगरी कच्ची तथा कमजोर संरचनामा बनेका घरहरू बढी प्रभावित भएका छन्।
घटनापछि प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ। प्रारम्भिक रूपमा कमजोर संरचना र तीव्र हावाहुरीका कारण दुर्घटना भएको निष्कर्ष निकालिएको छ।

