ममता काफ्ले हत्या प्रकरणमा नयाँ प्रमाणः विद्युतीय हाते आरामा भेटियो कपाल, ममताकै भएको आशंका

काठमाडौँ– अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट रहस्यमय ढंगले बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ। यो प्रमाणसँगै श्रीमतीको हत्या गरेर शव लुकाएको आरोपमा हिरासतमा रहेका उनका श्रीमान् नरेश भट्टविरुद्ध अनुसन्धान अझ बलियो बन्न सक्ने संकेत देखिएको छ।

अदालतमा पेश गरिएको पछिल्लो फरेन्सिक प्रतिवेदनअनुसार घटनासँग जोडिएको भनिएको एक विद्युतीय आरामा मानव कपाल र कपालका टुक्राहरू फेला परेका छन्। अनुसन्धान अधिकारीहरूले उक्त उपकरण घरभित्रबाट बरामद गरेका थिए। प्रारम्भिक अनुसन्धानमै प्रहरीको आशंका थियो— ममताको हत्या गरेपछि शव टुक्र्क्याएर प्रमाण मेटाउने प्रयास गरिएको हुनसक्छ। अहिले भेटिएको नयाँ प्रमाणले त्यही आशंकालाई थप गम्भीर बनाएको छ।

भर्जिनिया डिपार्टमेन्ट अफ फरेन्सिक साइन्सले तयार पारेको परीक्षण प्रतिवेदन अप्रिल २९ मा प्रहरीलाई बुझाइएको थियो भने मे १९ मा सार्वजनिक गरिएको हो। प्रतिवेदनमा ‘आइटम ३१६’ भनेर उल्लेख गरिएको प्रमाणलाई ‘आरामा टाँसिएका कपालजस्ता रेशा’ भनिएको छ। अनुसन्धान टोलीले घरभित्र रहेको विद्युतीय आराबाट ती सामग्री संकलन गरेको जनाएको छ।

उक्त विद्युतीय आरा सामान्यतया काठ, फलाम वा कंक्रिट काट्न प्रयोग हुने हाते उपकरण हो। फरेन्सिक परीक्षणका क्रममा त्यहाँबाट तीन वटा मानव कपाल, १३ वटा कपालका टुक्रा, केही फाइबर र अन्य फोहोर पदार्थ फेला परेको उल्लेख गरिएको छ। तीमध्ये तीन वटा कपाल डीएनए परीक्षणका लागि उपयुक्त देखिएकाले थप विश्लेषणका लागि फरेन्सिक बायोलोजी शाखामा पठाइएको जनाइएको छ।

यदि ती कपाल ममता काफ्लेकै भएको पुष्टि भयो भने यो प्रमाणले अभियोजन पक्षको दाबीलाई अत्यन्त बलियो बनाउने कानुनी विश्लेषकहरूको भनाइ छ। यसअघि सन् २०२४ डिसेम्बरमा पनि अभियोजन पक्षले ममताको डीएनएसँग मिल्ने रगत घरको शयनकक्ष र बाथरुममा फेला परेको जानकारी अदालतलाई दिएको थियो।

त्यतिबेला पनि उक्त विद्युतीय आरामा ममताकै रगत लागेको हुनसक्ने आशंका गरिएको थियो। अहिले कपालसम्बन्धी प्रमाण सार्वजनिक भएपछि घटनाको क्रुरता झन् भयावह देखिन थालेको छ।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले यसअघि नै डीएनए प्रमाणका आधारमा नरेश भट्टविरुद्ध ग्रान्ड ज्यूरीमार्फत हत्या अभियोग दर्ता गरिएको बताएका थिए। प्रारम्भमा उनीमाथि शव लुकाएको आरोप मात्र लगाइएको थियो। तर अनुसन्धान अघि बढ्दै जाँदा हत्या अभियोगसमेत थपिएको हो।
यद्यपि हिरासतमा रहेका नरेश भट्टले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। उनले श्रीमतीको हत्या नगरेको बताउँदै आएका भए पनि फरेन्सिक प्रमाणहरू क्रमशः उनीविरुद्ध केन्द्रित हुन थालेका छन्।

हत्या तथा बेपत्ता व्यक्तिका मुद्दामा अनुभव भएका बचाउ पक्षका वकिल फ्य्रांक साल्भाटोले नयाँ प्रमाणले मुद्दाको दिशा नै बदल्न सक्ने बताएका छन्। उनका अनुसार यदि थप डीएनए परीक्षणले ती कपाल ममताकै भएको प्रमाणित गरिदियो भने बचाउ पक्षका लागि त्यो अत्यन्त गम्भीर कानुनी झट्का हुनेछ।

यो बहुचर्चित मुद्दाको आगामी सुनुवाइ जुन २५, अगष्ट १३ र सेप्टेम्बर २५ का लागि तय गरिएको छ । नयाँ फरेन्सिक प्रमाण सार्वजनिक भएसँगै आगामी अदालत प्रक्रिया झन् चासोपूर्ण बन्ने देखिएको छ।

ममता काफ्ले नेपालबाट नर्सिङ पेशामा संलग्न भई अमेरिका पुगेकी थिइन्। २०७३ सालमा अमेरिका गएका नरेश भट्टसँग उनले २०७७ सालमा विवाह गरेकी थिइन्। दम्पतीकी अहिले तीन वर्षकी एउटी छोरी छन्। घटना सार्वजनिक हुँदा ती बालिका एक वर्षकी मात्र थिइन्। हाल उनको हेरचाह ममताकी आमासहित परिवारका सदस्यहरूले अमेरिकामै गरिरहेका छन्।

ममता काफ्ले प्रकरण अहिले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायभित्र मात्र होइन, नेपालमै पनि अत्यन्त चासोका साथ हेरिएको मुद्दा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट