बालेन र रविको शक्ति संघर्षको सिकार बन्यो रास्वपा उदयपुर अधिवेशनः कच्पल्टियो निर्वाचन तालिका

गाईघाट– वैकल्पिक राजनीति, पारदर्शिता र विधिको शासनको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको पहिलो जिल्ला अधिवेशन नै प्रतिनिधि विवाद, गुटगत आरोप–प्रत्यारोप र चर्को नाराजुलुसबीच अवरुद्ध भएको छ।

‘हाम्रो पैसा फिर्ता गर’, ‘तेरो पार्टी चाहिँदैन’, ‘दलाल माननीय मुर्दावाद’ र ‘पार्टी हस्तक्षेप बन्द गर’ जस्ता नाराले अधिवेशनस्थल गुन्जिएपछि नयाँ नेतृत्व चयनका लागि तय गरिएको सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गर्न निर्वाचन समिति बाध्य भयो। पार्टीभित्र लोकतान्त्रिक अभ्यासको उत्सव बन्नुपर्ने अधिवेशन अन्ततः प्रतिनिधि छनोटमै प्रश्न उठेपछि अविश्वास, असन्तुष्टि र शक्ति संघर्षको अखडा बनेको छ।

रास्वपा उदयपुरको प्रथम जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आइतबार तय गरिएको निर्वाचन कार्यतालिका अन्तिम समयमा रद्द गरिएको हो। प्रतिनिधिको वैधता, मतदान अधिकार र उम्मेदवार चयन प्रक्रियामा गम्भीर विवाद उत्पन्न भएपछि अधिवेशनस्थलमा नाराबाजी र विरोध प्रदर्शन चर्किएको थियो।

शनिबार नै जिल्ला सभापति पदका लागि चित्रकुमार कार्की र जनक बस्नेतले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए। आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि बन्दसत्रमार्फत निर्वाचन प्रक्रियामा प्रवेश गर्ने तयारी भइरहेका बेला प्रतिनिधि छनोटसम्बन्धी विवाद सतहमा आएको थियो।

उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएसँगै असन्तुष्ट पक्षले निर्वाचन प्रक्रिया नै प्रभावित पार्ने गरी प्रतिनिधि मनोनयन गरिएको आरोप लगाए। उनीहरूले लेबीबापत बुझाएको रकम फिर्ता गर्न माग गर्दै चर्को विरोध जनाए। प्रतिनिधिहरूले पार्टी विधान मान्ने तर विधानविपरीत गरिएको चलखेल स्वीकार नगर्ने भन्दै नेतृत्वमाथि प्रश्न उठाएका थिए।

अधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूले ‘दलाल माननीय मुर्दावाद’, ‘पार्टी हस्तक्षेप बन्द गर’, ‘हाम्रो पैसा फिर्ता गर’ लगायतका नाराहरू लगाउँदै नेतृत्व चयन प्रक्रियामा बाह्य हस्तक्षेप भएको आरोप लगाए। उनीहरूले निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचनको मागसमेत गरेका छन्।

पार्टीभित्रको विवाद अझ गहिरिँदै जाँदा सभापतिका उम्मेदवार चित्रकुमार कार्कीलाई प्रधानमन्त्री बालेन साह पक्षको समर्थन रहेको र जनक बस्नेतलाई रवि पक्षको उम्मेदवारका रूपमा अघि सारिएको दाबी गरिएको छ। असन्तुष्ट पक्षले प्रधानमन्त्री निकट मानिएका रोहन कार्कीको निर्देशनमा विधानविपरीत प्रतिनिधि चयन गरी चित्रकुमार कार्कीलाई जिताउने वातावरण बनाइएको आरोप लगाएका छन्।

विरोध प्रदर्शनका क्रममा रोहन कार्कीविरुद्धसमेत नाराबाजी भएको थियो। प्रतिनिधिहरूले पार्टीभित्र नेतृत्व चयन प्रक्रिया प्रभावित पार्न खोजिएको र अधिवेशनलाई पूर्वनियोजित रूपमा नियन्त्रण गर्ने प्रयास गरिएको आरोप लगाएका छन्।

मुख्य निर्वाचन अधिकृत नारायण घिमिरेका अनुसार प्रतिनिधिको वैधतासम्बन्धी गम्भीर प्रश्न उठेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको हो। उनले रास्वपा जिल्ला अधिवेशन कार्यविधि २०८३ तथा केन्द्रीय निर्वाचन आयोगको २३ जेठ २०८३ को पत्रअनुसार १५ वैशाख २०८३ भन्दा अघि नियुक्त भएका आधिकारिक प्रतिनिधि सदस्यले मात्र उम्मेदवार बन्न र मतदान गर्न पाउने व्यवस्था रहेको बताए।

यही व्यवस्थाको व्याख्या र कार्यान्वयनलाई लिएर विवाद उत्पन्न भएपछि निर्वाचन रोक्नुपरेको उनको भनाइ छ। लामो छलफलपछि निर्वाचन समितिले आइतबारको सम्पूर्ण कार्यतालिका रद्द गर्दै सोमबारदेखि पुनः प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। नयाँ कार्यतालिकाअनुसार सोमबार दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया पुनः सुरु हुनेछ। निर्वाचन समितिले यसअघि दर्ता भएका सम्पूर्ण उम्मेदवारी स्वतः खारेज हुने जनाएको छ। त्यसैले सबै उम्मेदवारहरूले पुनः मनोनयन दर्ता गराउनुपर्नेछ।

सभापति पदका लागि चित्रकुमार कार्की र जनक बस्नेत प्रतिस्पर्धामा छन्। उपसभापतिमा कर्णकुमारी घिमिरे श्रेष्ठ र किरण राउत, सचिवमा भूवन खतिवडा र जनार्दन कार्की तथा सहसचिवमा हुकुममणि पाण्डे र सूर्यकुमार राईबीच प्रतिस्पर्धा हुने तयारी छ।

उदयपुरमा पहिलो पटक जिल्ला अधिवेशनमार्फत निर्वाचित नेतृत्व चयन गर्न लागेको रास्वपाका लागि यो अधिवेशन संगठन विस्तार र आन्तरिक लोकतन्त्रको अभ्यास प्रदर्शन गर्ने अवसर मानिएको थियो। तर प्रतिनिधि छनोटमै विवाद उत्पन्न भएर निर्वाचन प्रक्रिया अवरुद्ध भएपछि पार्टीको आन्तरिक व्यवस्थापन, संगठनात्मक पारदर्शिता र नेतृत्व चयन प्रणालीमाथि नै प्रश्न उठ्न थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट