भारतको वेतियादेखि काठमाडौंसम्म अपहरणकारीको ‘फ्री रुट’, प्रहरीले थाहा पायो चिर्कटो फेला परेपछि मात्रै !
राजविराज– भारतको बिहारमा अपहरणको योजना बन्यो। भारतीय नम्बर प्लेटको गाडी तयार भयो। सीमापार गर्न भन्सार पास निकालियो। करिव आधा दर्जन युवा नेपाल प्रवेश गरे। चितवनमा दुई दिन बसे। चिनेजानेकै किशोरलाई इन्स्टाग्राममार्फत बोलाएर अपहरण गरे। भारतीय गाडीमै काठमाडौँ पुर्याए। नयाँ बसपार्कको होटलमा बन्धक बनाइयो। २२ लाख रुपैयाँ फिरौती मागियो।
यता, अपराधीले यति धेरै गतिविधि गर्दासम्म राज्यको सुरक्षा संयन्त्रले कुनै संकेत पाएन। बरु सम्पूर्ण घटनाको पर्दाफास तब भयो, जब अपहरणमा परेका १६ वर्षीय किशोरले नै ‘हेल्प, प्लिज कल पुलिस’ लेखिएको सानो चिर्कटो होटलबाहिर फ्याँके।
यो घटनाले अपहरणकारीहरूको योजनाभन्दा पनि नेपालको सुरक्षा प्रणाली, सीमा निगरानी, राजमार्ग चेकजाँच र अपराध पूर्वको रोकथाम क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीको अनुसन्धानअनुसार अपहरणको योजना ०८३ जेठ २९ गते भारतको बिहारस्थित बेतियामा बनेको थियो। मुख्य योजनाकार मानिएका १८ वर्षीय सुजित कुमारसहितका युवाहरूले नेपाल आएर चिनेजानेका एक किशोरलाई अपहरण गर्ने, परिवारसँग फिरौती माग्ने र रकम असुलेर भारत फर्किने योजना बनाएका थिए।
भोलिपल्ट उनीहरू बीआर–२२ बीए–६१३७ नम्बरको भारतीय स्कर्पियोमा वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरे। गाडीका लागि छ दिनको भन्सार पाससमेत बनाइएको थियो। उनीहरू सीधै चितवन पुगे। त्यहाँ होटलमा बसे। स्थानीय सम्पर्क प्रयोग गरे। लक्ष्य पहिचान गरे। अनि असार १ गते साँझ चितवनको नारायणगढबाट १६ वर्षीय किशोरलाई अपहरण गरे।
अनुसन्धानले देखाएको अर्को रोचक पक्ष के हो भने अपहरणकारीहरू प्रविधिको प्रयोगमा पनि निकै सचेत थिए। उनीहरूले नेपाली सिमकार्ड निकाले, तर सामान्य फोन सम्पर्कभन्दा बढी वाट्सएप र इन्स्टाग्राम प्रयोग गरे। सामाजिक सञ्जालमार्फत लक्षित किशोरसँग सम्पर्क राखे। काम सकिएपछि सिमकार्ड फालिदिए। प्रहरीलाई ट्रयाक गर्न कठिन बनाउने प्रयास गरे। यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ—१८ वर्षका युवाहरू यति योजनाबद्ध, संगठित र प्रविधिमैत्री अपराधमा कसरी संलग्न भए ?
तर त्योभन्दा ठूलो प्रश्न नेपालको सुरक्षा प्रणालीतर्फ सोझिन्छ। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरू नाकामा रोकिएनन्। चितवन पुग्दा कुनै सुरक्षा निकायको निगरानीमा परेनन्। दुई दिनसम्म होटलमा वस्दा कसैले सोधखोज गरेनन्। अपहरण गरेपछि भारतीय नम्बर प्लेटकै गाडीमा मुग्लिन हुँदै काठमाडौँ पुगे। राजमार्गका विभिन्न चेकपोस्ट पार गरे। नयाँ बसपार्कको होटलमा कोठा लिए। किशोरलाई त्यहीँ बन्धक बनाएर फिरौती माग्न थाले।
यदि अपहरणमा परेका किशोरले साहस र बुद्धिमानी नदेखाएका भए के हुन्थ्यो ? सुरक्षा विज्ञहरूका अनुसार यो प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण छ। किनभने प्रहरीको सफलताभन्दा पहिले यो घट्नामा प्रहरीको असफलता ठुलो देखिन्छ। अपराधीहरूले सीमापार योजना बनाएर नेपालमा अपराध कार्यान्वयन गर्न सफल भए। उनीहरूले लक्ष्य छनोट गरे, अपहरण गरे, लोकेसन परिवर्तन गरे र फिरौती माग्ने चरणसम्म पुगे। त्यसबेलासम्म सुरक्षा संयन्त्र पूर्ण रूपमा अनभिज्ञ देखियो।
घटनाको मोड तब बदलियो जब अपहरणमा परेका किशोरले होटलको बाथरुममा पुगेपछि एउटा कागजमा आफ्नो नाम, बुबाको नाम, फोन नम्बर र ‘हेल्प, प्लिज कल पुलिस’ लेखे। त्यो चिर्कटो होटलबाहिर फ्याँकियो। एक व्यक्तिले फेला पारे। फोन गरे। परिवारसम्म सूचना पुग्यो। अनि मात्रै प्रहरी सक्रिय भयो।
त्यसपछि भने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले तीव्र रूपमा काम ग¥यो। चिर्कटो फेला परेको क्षेत्र वरपरका होटलहरूमा खोजी गरियो। नयाँ बसपार्कस्थित फेमिली होटलको कोठा नम्बर २०३ मा पुगेर बालकको उद्धार गरियो। ६ भारतीय नागरिक पक्राउ परे। दुई थान चक्कुसमेत बरामद गरियो।
प्रहरीको उद्धार अभियान सफल रह्यो। तर घटनाले फेरि पनि पुरानै प्रश्न उठाएको छ—नेपालको सुरक्षा प्रणाली अपराध भएपछि मात्र सक्रिय हुने संयन्त्रमा सीमित हुँदै गएको त होइन ? नेपाल–भारत खुला सीमाको चुनौती नयाँ होइन। तर पछिल्ला वर्षहरूमा सीमापार अपराध, मानव बेचबिखन, लागूऔषध कारोबार, तस्करी र अपहरणका घटनाले नयाँ रूप लिन थालेका छन्।
अपराधीहरू अब केवल हतियार वा बल प्रयोगमा निर्भर छैनन्। उनीहरू डिजिटल माध्यम, सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गर्दै योजनाबद्ध रूपमा अपराध गरिरहेका छन्। यो घटनामा पनि अपहरणकारीहरूले फेसबुक वा सडकबाट लक्ष्य खोजेनन्। इन्स्टाग्राम प्रयोग गरे। फोन कलभन्दा वाट्सएप रोजे। स्थानीय चिनजानको फाइदा उठाए। होटल र यातायातको व्यवस्थापन गरे। यसले अपराधको स्वरूप परिवर्तन हुँदै गएको संकेत गर्छ।
अर्कोतर्फ, पक्राउ परेका सबै युवा १८ वर्षका छन्। यो तथ्य आफैंमा चिन्ताजनक छ। भर्खर वयस्कताको उमेरमा पुगेका युवाहरू सीमापार अपहरण र फिरौतीजस्तो गम्भीर अपराधमा संलग्न हुनु सामाजिक, पारिवारिक र सुरक्षा दृष्टिले गम्भीर बहसको विषय हो। अन्ततः यो घटनाले दुई फरक चित्र देखाएको छ। पहिलो, प्रविधि र योजनाबद्ध अपराधको नयाँ पुस्ता। दोस्रो, पीडितकै बुद्धि र साहसको अद्भुत उदाहरण।
आधा दर्जनभन्दा बढी व्यक्तिले भारतमा बसेर बनाएको अपहरण र फिरौतीको ‘मास्टर प्लान’ अन्ततः एउटा नेपाली किशोरले लेखेको सानो चिर्कटोले ध्वस्त पारिदियो। तर त्यो चिर्कटो फेला नपरेको भए आज यो कथा कस्तो हुन्थ्यो भन्ने प्रश्नको उत्तर अझै असहज छ। र, त्यही प्रश्नले नेपालको सुरक्षा संयन्त्रतर्फ औंला सोझ्याइरहेको छ।

यो पनि,

