चट्याङका कारण झापाको बीवाईडी सर्भिस सेन्टरमा आगो लाग्यो, १ करोड बढिको क्षती

दमक– वर्षासँगै परेको चट्याङले झापाको बिर्तामोडमा रहेको विद्युतीय सवारीसाधन कम्पनी बीवाईडीको सर्भिस सेन्टरमा आगलागी हुँदा करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। बिहानै परेको चट्याङले संरचनामा आगो सल्किएपछि केही मिनेटमै सर्भिस सेन्टरभित्र रहेका सामग्री जलेर नष्ट भएका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार बिहान करिब पौने ५ बजे बिर्तामोड नगरपालिका–१ पश्चिम स्टेण्डस्थित विकास बस्नेतले सञ्चालन गरेको बीवाईडी गाडीको आधिकारिक सर्भिस सेन्टरमा आगलागी भएको हो।

प्रहरीका अनुसार ट्रसले बनेको र टिनले बेरिएको संरचनामा चट्याङ परेपछि आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागी भएपछि सर्भिस सेन्टरभित्र भण्डारण गरेर राखिएका सवारीसाधनका पार्टपुर्जा तथा अन्य सामग्री जलेर नष्ट भएका छन्।

सर्भिस सेन्टरका सञ्चालक विकास बस्नेतका अनुसार घटनाबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बस्नेतले बिर्तामोड–३ मा बीवाईडीको शोरुम सञ्चालन गर्दै आएका छन् भने बिर्तामोड–१ मा सर्भिस सेन्टर स्थापना गरी विभिन्न गाडीका पार्टपुर्जा तथा उपकरणहरू स्टक गरेर राखेका छन्।

आगलागीको जानकारी प्राप्त हुनासाथ बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी तथा स्थानीयवासी घटनास्थल पुगेका थिए। संयुक्त प्रयासपछि बिहान सवा ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट संरचना र भित्र रहेका सामग्रीमा ठूलो क्षति पुगे पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट