मदिरा सेवनका क्रममा विवाद हुँदा महोत्तरीका युवकको हत्याः उदयपुर र झापाकासहित तीन जना पक्राउ
काठमाडौँ— भक्तपुरमा मदिरा सेवनका क्रममा भएको विवादमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मृत्यु हुनेमा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल भक्तपुर नगरपालिका–१ नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइली छन्। गम्भीर घाइते भएका रसाइलीको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई भक्तपुरको सल्लाघारी बस्दै आएका ३१ वर्षीय आयुष कार्की, झापाको दमक नगरपालिका घर भई सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मीको तम्घास घर भई सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवर छन्।
प्रहरीका अनुसार असार ८ गते राति भक्तपुर नगरपालिका–१ स्थित एक होटलमा मदिरा सेवनका क्रममा दुई पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा होटलबाहिर झगडा भएको र सोही क्रममा दोर्जे शेर्पाले रसाइलीमाथि चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा मंगलबार बिहान सवा ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
घटनापछि फरार भएका तीनै जनालाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरी प्रभाग दुधपाटीबाट खटिएको टोलीले घटनालगत्तै खोजी अभियान सञ्चालन गरी आरोपीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूलाई अदालतमा उपस्थित गराई म्याद थपको प्रक्रिया अघि बढाइएको छ।

