असह्य गर्मीमा विराटनगरको मसानघाटमा मध्यराति आगो बालेर ताप्ने नांगा युवा को हुन, के हो रहस्य ?
विराटनगर– सामान्यतया मृतकको अन्तिम बिदाइसँग जोडिने विराटनगरको परोपकार घाट सोमबार मध्यराति भने एउटा अनौठो र रहस्यमय घटनाको साक्षी बन्यो। राति करिब साढे १२ बजे दाहसंस्कारका लागि प्रयोग हुने चिता बनाउने स्थानमै दाउराको आगो दन्किरहेको थियो। आगो वरिपरि ६ जना युवा बसेका थिए। तीमध्ये केही निर्वस्त्र, केही अर्धनग्न र केही पूर्ण कपडामा थिए।
मसानघाटको सन्नाटाबीच देखिएको आगो, खरानी, अश्लील शब्द र आपसी धकेलाधकेलको दृश्यले स्थानीयलाई झस्काउनुका साथै घटनाको वास्तविक उद्देश्यबारे अनेक अड्कलबाजी सुरु गराएको छ।
स्थानीयले खिचेर सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा चिता बनाउने स्थानमा आगो बालेर बसेका युवामध्ये दुई जना आपसमा विवाद गरिरहेको देखिन्छ। एक जना पूर्ण रूपमा निर्वस्त्र छन् भने अर्काले कम्मरमुनिको भित्री वस्त्र मात्रै लगाएका छन्। उनीहरू एकअर्कालाई धकेलाधकेल गर्दै अश्लील शब्द प्रयोग गरिरहेका सुनिन्छ।
भिडियोमा निर्वस्त्र युवाले भुइँबाट खरानीजस्तो देखिने पदार्थ उठाएर अर्धनग्न युवाको शरीरमा पटक–पटक दलिरहेको देखिन्छ। वरिपरि बसेका अन्य चार जनाले भने उक्त गतिविधि हेरिरहेका देखिन्छन्। तीमध्ये एक जनाले भित्री वस्त्र मात्र लगाएका छन् भने अन्य तीन जना पूर्ण कपडामा छन्। एक जना कालो पोसाकमा उभिएको अवस्थासमेत भिडियोमा देखिन्छ।
घटनास्थलको वरपर माटोका घैला, पानीका बोतल, दाउरा तथा अन्य सामग्री छरिएका देखिन्छन्। चिता बनाउने स्थानमा आगो बलिरहेको छ र आगोमाथि माटोको भाँडो राखिएको जस्तो पनि देखिन्छ। अत्यधिक गर्मीको समयमा मध्यराति आगो वरिपरि युवाहरू बसेको दृश्यले घटनालाई झन् रहस्यमय बनाएको छ।
घटनाका प्रत्यक्षदर्शी स्थानीय समीर भुजेलका अनुसार राति अचानक होहल्ला सुनेपछि उनीसहित छरछिमेकका युवाहरू घाटतर्फ पुगेका थिए। ‘यस्तो गर्मीको समयमा घाटको चिता बनाउने ठाउँमा आगो बालेर ६ जना युवा बसिरहेका थिए। तीमध्ये केही नांगै थिए। केहीले मात्रै कपडा लगाएका थिए। उनीहरू मदिरा वा अन्य कुनै वस्तुको नसामा लट्ठ भएर अश्लील हर्कत गरिरहेको जस्तो देखिन्थ्यो,’ भुजेलले भने।
उनका अनुसार सुरुमा टाढाबाट हेर्दा कसैको शव जलाइरहेको जस्तो लागेको थियो। ‘हामी ८–९ जना युवा त्यहाँ पुग्यौं। परबाट हेर्दा त लास जलाएजस्तो लाग्यो। तर नजिक पुगेपछि नांगै बसेर अश्लील हर्कत गरिरहेको देख्यौं। त्यसपछि हामीले मोबाइलबाट भिडियो बनाउन थाल्यौं। सोधीखोजी गर्दा पनि कुनै जवाफ दिएनन्,’ उनले भने।
भुजेलका अनुसार स्थानीयले प्रश्न गर्दा ती युवाहरूले उल्टै गालीगलौज गरेका थिए। ‘उनीहरूले अश्लील शब्द प्रयोग गरेर गाली गरे। हामी जाइलागेनौं। गाउँठाउँमै यस्तो गतिविधि हुनु ठीक होइन भन्ने लाग्यो। त्यसैले प्रहरीलाई खबर गर्यौं। तर, प्रहरी घटनास्थलमा आएनन्,’ उनले बताए।
घटनाका अर्का प्रत्यक्षदर्शी रोहित मण्डलका अनुसार दृश्य हेर्दा कुनै धार्मिक अनुष्ठान, साधना वा तपस्याजस्तो अनुभूति भएको थिएन। ‘यदि कुनै धार्मिक वा आध्यात्मिक गतिविधि हुन्थ्यो भने सबैको व्यवहार समान देखिन्थ्यो। तर, यहाँ केही मात्रै नांगै थिए, केही पूर्ण कपडामा थिए। निर्वस्त्र व्यक्तिहरूको गतिविधि अपाच्य थियो,’ मण्डलले भने।
उनका अनुसार दाहसंस्कार स्थलनजिक आगो बालेर केही युवा निर्वस्त्र वा अर्धनग्न अवस्थामा बसेको, उभिएको र आपसमा अश्लील शब्द प्रयोग गर्दै विवाद गरिरहेको देखिन्थ्यो। ‘उनीहरू को हुन्, किन त्यहाँ पुगेका थिए र के उद्देश्यले त्यस्तो गतिविधि गरिरहेका थिए भन्ने कुरा खुल्न सकेको छैन,’ उनले भने।
मण्डलका अनुसार स्थानीयले सोधीखोजी गर्दा पनि ती युवाहरूले स्पष्ट जवाफ दिएका थिएनन्। बरु दुव्र्यवहारपूर्ण व्यवहार गरेका थिए। घटनापछि स्थानीयस्तरमा विभिन्न अड्कलबाजी सुरु भएको छ। केहीले यसलाई मसानघाटसँग जोडिएको कुनै अघोरी साधना वा रहस्यमय कर्मकाण्ड हुनसक्ने अनुमान गरेका छन्। तर, त्यसको पुष्टि हुन सकेको छैन।
स्थानीय भरत कट्टेलका अनुसार सुरुमा दृश्य हेर्दा मसानघाटमा अघोरी उतारेको वा मसान खेलाएको जस्तो लागेको थियो। ‘मसानघाटमा मध्यराति अघोरी उतारिन्छ भन्ने सुनेका थियौं। राति मसान खेलाइन्छ भन्ने चर्चा पनि हुन्थ्यो। सुरुमा हेर्दा त्यस्तै हो कि जस्तो लाग्यो। तर, मातेको जस्तो देखिने युवाहरू नांगै भएर अश्लील हर्कत गरिरहेको दृश्यले सबैलाई आश्चर्यमा पार्यो,’ उनले भने।
कट्टेलका अनुसार घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायले गम्भीर चासो दिन आवश्यक छ। ‘आजसम्म नदेखेको दृश्य थियो। यसमा संलग्न व्यक्तिहरू को हुन्, किन त्यस्तो गतिविधि गरियो र उद्देश्य के थियो भन्ने स्पष्ट हुनुपर्छ,’ उनले भने।
घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान थालेको छ। मोरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रले घटना असामान्य प्रकृतिको भएको बताए। ‘नयाँ र अनौठो घटनाको भिडियो प्राप्त भएको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ,’ उनले भने।
उनका अनुसार घटनामा संलग्न युवाहरूको पहिचान गर्न विशेष टोली परिचालन गरिएको छ। अनुसन्धान पूरा भएपछि घटनाको वास्तविकता सार्वजनिक गरिने प्रहरीको भनाइ छ। विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले परोपकार घाटमा पछिल्लो समय रातिको समयमा शंकास्पद गतिविधि हुने गरेको जानकारी आफूहरूसँग रहेको बताए। ‘केही समयदेखि घाट क्षेत्रमा गलत गतिविधि भइरहेको जानकारी आएको थियो। त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूले अपराधसमेत गर्न सक्छन् भन्ने चिन्ता थियो,’ बस्नेतले भने।
उनका अनुसार यसअघि नै प्रहरीलाई जानकारी गराइसकिएको छ। ‘घाटको सुरक्षा व्यवस्था अझ कडा बनाउनुपर्ने आवश्यकता देखिएको छ। सार्वजनिक तथा धार्मिक संवेदनशीलता जोडिएको स्थानमा यस्ता गतिविधि दोहोरिन दिनु हुँदैन,’ उनले भने।
भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान हालसम्म खुल्न सकेको छैन। उनीहरूले कुनै आपराधिक वा गैरकानुनी गतिविधि गरेको भन्ने कुरा पनि भिडियोका आधारमा मात्रै निष्कर्ष निकाल्न सकिने अवस्था छैन। तर, विराटनगरकै प्रमुख दाहसंस्कार स्थल मानिने परोपकार घाटमा मध्यराति आगो बालेर निर्वस्त्र तथा अर्धनग्न अवस्थामा देखिएको समूहको गतिविधिले स्थानीय समुदायमा कौतुहलता, आशंका र चासो एकैसाथ जन्माएको छ। अहिले सबैको प्रतीक्षा एउटै छ—मसानघाटको सन्नाटाबीच देखिएको त्यो रहस्यमय दृश्यको वास्तविक कथा आखिर के थियो ?


