होमवर्क नगरेको भन्दै कक्षा ५ का दुई विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यालयले माग्यो माफी

रौतहट– रौतहटको गौरस्थित एक निजी विद्यालयमा होमवर्क नगरेको आरोपमा कक्षा ५ मा अध्ययनरत दुई विद्यार्थीमाथि निर्घात कुटपिट गरिएको छ। घटनापछि विद्यालय प्रशासनले अभिभावकसँग माफी मागेको छ भने स्थानीय शिक्षा प्रशासनले घटनाबारे छानबिन गर्ने जनाएको छ।

गौर–बरहवा पुलको उत्तरतर्फ रहेको बालनिकेतन बोर्डिङ स्कुलमा अध्ययनरत दुई विद्यार्थीमाथि विद्यालयका प्रिन्सिपलकी छोरीले पाइप प्रयोग गरी कुटपिट गरेको आरोप अभिभावकहरूले लगाएका छन्। अभिभावकका अनुसार कुटपिटमा संलग्न भनिएकी महिला विद्यालयकी नियमित शिक्षिका समेत होइनन्।

परिवारका अनुसार कुटपिटका कारण दुवै विद्यार्थीको खुट्टामा चोट लागेको छ भने शरीरमा रातो डाम देखिएको छ। घटनापछि बालबालिका मानसिक रूपमा समेत त्रसित बनेको अभिभावकहरूको भनाइ छ।

घटनाप्रति असन्तुष्टि जनाउँदै अभिभावकहरूले विद्यालयमा यसअघि पनि विद्यार्थीमाथि दुर्व्यवहार हुने गरेको आरोप लगाएका छन्। उनीहरूले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

घटनापछि आक्रोशित अभिभावक र स्थानीयवासीसँग विद्यालय प्रशासनले भेट गरी माफी मागेको बताइएको छ। विद्यालय प्रशासनले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको विवरण भने प्राप्त भएको छैन।

स्थानीयवासी तथा अभिभावकहरूले विद्यालयभित्र हुने शारीरिक दण्ड बालअधिकारविरुद्धको गम्भीर कार्य भएको भन्दै यस्ता घटनामा कडा कानुनी हस्तक्षेप आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार विद्यार्थीलाई अनुशासनको नाममा शारीरिक सजाय दिनु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।

गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम भट्टराईले घटनाबारे सोमबार जानकारी प्राप्त भएको पुष्टि गर्दै विद्यालयमा अनुगमन तथा तथ्यगत छानबिन गरिने बताएका छन्। उनका अनुसार घटनाको वास्तविकता बुझ्न सम्बन्धित पक्षसँग आवश्यक विवरण संकलन गरिनेछ।

‘घटनामा संलग्न व्यक्ति दोषी देखिए कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ,’ भट्टराईले भने। घटनाले विद्यालयमा बालबालिकाको सुरक्षा, अनुशासनका नाममा दिइने शारीरिक सजाय तथा निजी विद्यालयहरूको निगरानी प्रणालीबारे पुनः प्रश्न उठाएको छ। छानबिनको निष्कर्षपछि थप कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट