सूचना चुहिएको आशंकापछि अख्तियारको प्रहरी टोलीमा व्यापक हेरफेरः डीआईजीदेखि इन्स्पेक्टरसम्म एकैपटक फिर्ता

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीको अनुसन्धान संरचनामा व्यापक फेरबदल गरिएको छ। गृह मन्त्रालयले आयोगमा खटिएका डीआईजी, एसपी, डीएसपी र इन्स्पेक्टर तहका एक दर्जनभन्दा बढी प्रहरी अधिकृतलाई फिर्ता बोलाउँदै नयाँ टोली खटाएको हो।

गृह मन्त्रालयको निर्णयअनुसार अख्तियारमा कार्यरत डीआईजी शेखर खनाललाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ। कार्य विभागमा रहेका डीआईजी अरुण पौडेललाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। नेतृत्व तहको यो परिवर्तनसँगै आयोगको अनुसन्धान संयन्त्रमा कार्यरत अन्य प्रहरी अधिकृतहरूको पनि व्यापक हेरफेर गरिएको छ।

आयोगमा काजमा रहेका एसपी मोहन थापालाई फिर्ता बोलाइएको छ। उनको स्थानमा संयुक्त राष्ट्रसंघ (यूएन) शाखामा कार्यरत एसपी सुधिरराज शाहीलाई खटाइएको छ। त्यस्तै, अख्तियारमा कार्यरत डीएसपी उमेश लम्साल, मदनजित महरा, गौतम थापा, दीपककुमार कार्की र भीम खड्कालाई पनि आयोगबाट फिर्ता गरिएको छ।

इन्स्पेक्टर तहमा ज्ञानमञ्जरी शर्मा, हिमबहादुर केसी, किशोर केसी, सुजन पाठक, रामजी देवकोटा, फुलमाया घिसिङ, साकारराज पन्त, श्यामसुन्दर पाठक र उमेश श्रेष्ठलगायतलाई समेत आयोगबाट हटाइएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यो नियमित सरुवा प्रक्रिया नभई अख्तियारमा कार्यरत प्रहरी संरचनाको पुनर्गठन गर्ने उद्देश्यले गरिएको व्यापक फेरबदल हो। स्रोतका अनुसार नेतृत्वदेखि अनुसन्धान अधिकृतसम्मको टोलीलाई एकैपटक परिवर्तन गरिएको छ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयबीचको समन्वयमा उक्त निर्णय कार्यान्वयन गरिएको बताइएको छ। भ्रष्टाचार, आर्थिक अनियमितता तथा सार्वजनिक पदको दुरुपयोगसम्बन्धी अनुसन्धानको कार्यसम्पादन र प्रभावकारितामाथि विभिन्न तहबाट प्रश्न उठिरहेका बेला अनुसन्धान टोलीमा व्यापक हेरफेर गरिएको हो।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अख्तियारको अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले लामो समयदेखि एउटै स्थानमा कार्यरत प्रहरी अधिकृतहरूको स्थानान्तरण गरिएको बताएका छन्। उनका अनुसार आयोगमा रहेका केही संवेदनशील अनुसन्धानसम्बन्धी सूचनाहरू बाहिरिन थालेको आशंकापछि पनि संरचनागत पुनर्गठन आवश्यक ठानिएको थियो।

‘अख्तियारमा कार्यरत प्रहरी संरचनाको यस प्रकारको सामूहिक हेरफेर सामान्य प्रक्रिया होइन,’ ती अधिकृतले भने, ‘अनुसन्धानको गोपनीयता र कार्यसम्पादनको प्रभावकारिता सुनिश्चित गर्न टोली पुनर्गठन गरिएको हो।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल प्रहरीका अधिकृतहरू अनुसन्धान, पक्राउ, प्रमाण संकलन तथा भ्रष्टाचारसम्बन्धी मुद्दाको प्रारम्भिक अनुसन्धानमा प्रत्यक्ष रूपमा संलग्न रहने गर्छन्। त्यसैले आयोगमा खटिने प्रहरी टोलीको नेतृत्व र संरचनामा गरिएको परिवर्तनलाई प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

हालसम्म गृह मन्त्रालय, नेपाल प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। तर आयोगको अनुसन्धान संरचनामा एकैपटक गरिएको यो व्यापक हेरफेरले आगामी दिनमा भ्रष्टाचारसम्बन्धी अनुसन्धानको दिशा, प्राथमिकता र कार्यशैलीमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट