‘प्रहरीको असई हुँ’ भन्दै १५ लाख ५० हजार ठगी गर्ने महिला पक्राउ
काठमाडौँ— आफूलाई नेपाल प्रहरीको असई (प्रहरी सहायक निरीक्षक) भन्दै बर्दीसमेत प्रयोग गरेर विभिन्न आश्वासनका आधारमा १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक महिला काठमाडौँबाट पक्राउ परेकी छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ)लाई पक्राउ गरेको हो। उनलाई काठमाडौंको गोंगबु क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बोहोराले आफू नेपाल प्रहरीमा कार्यरत असई भएको दाबी गर्दै असईको बर्दी लगाएको तस्बिरसमेत विभिन्न व्यक्तिलाई देखाउने गरेकी थिइन्। त्यसक्रममा उनले विभिन्न प्रलोभन र आश्वासन दिँदै पीडितलाई ई–सेवा तथा मोबाइल बैंकिङमार्फत पटक–पटक रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीका अनुसार आरोपित महिलाले आफू प्रहरी अधिकृत भएको विश्वास दिलाएर विभिन्न बहानामा जम्मा १५ लाख ५० हजार रुपैयाँ असुलेको देखिएको छ।
अनुसन्धानका क्रममा उनले प्रहरीको परिचय दुरुपयोग गरी आर्थिक लाभ लिने उद्देश्यले नक्कली हैसियत प्रस्तुत गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण र पीडितको संख्या यकिन गर्ने काम भइरहेको प्रहरी स्रोतले बताएको छ।
पक्राउ परेकी बोहोरालाई आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
प्रहरीले सार्वजनिक पद, सुरक्षा निकाय वा सरकारी कर्मचारीको नाम र हैसियत प्रयोग गरेर विभिन्न प्रलोभन दिने व्यक्तिहरूप्रति सचेत रहन तथा शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

